गोरखा ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को मारेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको त्यस पालिकाले जनाएको छ । तीन वर्षअघि जम्मा रु ११ लाख १२ हजार राजस्व सङ्कलन गरेको उक्त पालिकाले अघिल्लो आवमा भने रु एक करोड ४९ लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो ।
मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकबाट भ्रमणबापतको शुल्क उठाउन थालेपछि पालिकाको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । पालिकाले गत आवबाट मनास्लु आउने पर्यटकबाट शुल्क लिन थालेको हो । प्रतिव्यक्ति रु एक हजारका दरले शुल्क उठाउने गरेको लामिछानेले जानकारी दिए । गाउँपालिकाले आव २०८०/८१ मा अन्तरिक राजस्वबापत जम्मा रु २७ लाख १४ हजार सङ्कलन गरेको थियो ।
“पर्यटन शुल्कसँगै पालिकाले नदीजन्य सामग्री उत्खननबापतको कर सङ्कलनलाई पनि व्यवस्थित बनाएको छ”, उनले भने, “पहिले चिट काटेर कर उठाइन्थ्यो, जसले राजस्व चुहावट हुने जोखिम बढी हुन्थ्यो । अहिले भने अनलाइनमार्फत नै कर सङ्कलन सुरु गरेका छौँ ।”यस्तै गत वर्षबाट मात्रै गाउँपालिकाले पालिकाको कार्यालयमै व्यवसाय दर्ता गर्ने तथा प्यान नम्बर उपलब्ध गराउन सुरु गरेको छ । यसले पनि राजस्व वृद्धिमा थप सहयोग पुर्याएको छ ।
पर्यटनबापतको कर सङ्कलन गर्न सुरु भएसँगै पालिकाको राजस्व उल्लेखनीय रूपमा वृद्धि भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । “आगामी वर्षमा तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ”, उनले भने, “जति धेरै राजस्व सङ्कलन गर्न सक्यो सङ्घबाट त्यति नै बजेट बढेर आउँछ । राजस्व बढ्दा पालिकाको आर्थिक विकासमा सहयोग पुग्छ ।”पर्यटन शुल्कबाट धेरै राजस्व सङ्कलन भएकाले सो राजस्व पनि पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा धेरै प्रयोग गर्ने अध्यक्ष लामाको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्