गुरुकुललाई डस्टबिन हस्तान्तरण



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर–१२, चप्परगौडीस्थित रामजानकी राधाकृष्ण संस्कृत गुरुकुललाई ६ थान डस्टबिन हस्तान्तरण गरिएको छ । नेपाल घरबहाल सरोकार महासंघ, बाँके शाखाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा फोहोर व्यवस्थापनका लागि गुरुकुललाई ६ थान डस्टबिन हस्तान्तरण गरेको हो । महासंघका केन्द्रीय सहकोषाध्यक्ष तिलक सिंह कार्कीको प्रमुख आतिथ्यतामा गुरुकुलमा कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको थियो ।

उक्त अवसरमा बोल्दै कार्कीले महासंघले स्थापनाकालदेखि नै घरबेटी र घरबहालबीच समन्वय, सहकार्य र सौहार्दपूर्ण सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले सरकारलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना भएको उल्लेख गर्दै यस्ता सामाजिक संस्थाप्रति राज्यको स्पष्ट, प्रभावकारी र प्रोत्साहनमुखी नीति आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

नेपाल घरबहाल उपभोक्ता मञ्च, बाँकेका अध्यक्ष ढकबहादुर थारूले घरबहाल करको दायरा विस्तार गर्दै करको दरलाई व्यावहारिक बनाउनुपर्ने बताए । करदातालाई सम्मान गर्ने परम्परा विकास गर्न सके कर तिर्ने संस्कृतिको विकास हुने र यसबाट सरकारको राजस्वसमेत सुदृढ बन्ने उनको भनाइ थियो । ‘दिवसको अवसरमा सामाजिक कार्य गरेका छौँ । गुरुकुल स्कुललाई सहयोग गरे हामीले दिवस मनाएका हौँ । त्यहाँ ६ थान डस्टबिन सहयोग गरिएको छ,’ थारूले भने ।

कार्यक्रममार्फत विद्यालयमा सरसफाइ तथा फोहर व्यवस्थापनप्रति विद्यार्थी र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा बाँकेका निवर्तमान अध्यक्ष राधा गौतम, सल्लाहकारहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव लम्साल, प्रधानाध्यापक तिलकप्रसाद दाहाल, विद्यार्थी तथा महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २० गते शनिबार