वेस्टर्न स्कुलद्वारा अभिभावक–विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न



कोहलपुर ।

कोहलपुर नगरपालिका -५ स्थित रहेको वेस्टर्न ई.मी. स्कुलले नयाँ शैक्षिक सत्र २०८३ लाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ विद्यार्थी तथा अभिभावकको सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार विद्यालयले एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका तथा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको सहभागिता कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयले आगामी शैक्षिक सत्रका योजना, शैक्षिक नीति, विद्यालयका नियम तथा अनुशासन, पठन–पाठन प्रणाली, मूल्याङ्कन प्रक्रिया, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधि, प्रविधिमैत्री शिक्षण विधि, विद्यार्थीको व्यक्तिगत विकास र अभिभावकको भूमिकाबारे विस्तृत जानकारी गराएको विद्यालयका प्रिन्सिपल उमेश कुमार श्रेष्ठले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो ।

बालबालिकाको सिकाइ केवल कक्षाकोठाभित्र सीमित नहुने भएकाले घर र विद्यालयबीच नियमित संवाद तथा सहकार्य हुनुपर्नेमा जोड दिइएको थियो।अभिमुखीकरणका क्रममा विद्यार्थीमा सकारात्मक सोच, अनुशासन, समयको सदुपयोग, नैतिक शिक्षा, नेतृत्व क्षमता, सिर्जनशीलता तथा सामाजिक उत्तरदायित्वको विकास गर्न विद्यालयले सञ्चालन गर्ने विभिन्न कार्यक्रमबारे जानकारी दिइएको थियो। साथै, डिजिटल शिक्षण प्रणाली, नियमित गृहकार्य, निरन्तर मूल्याङ्कन, अतिरिक्त कक्षाहरू, खेलकुद, सांस्कृतिक कार्यक्रम, विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी पनि विद्यालयले दिएको छ।

अभिभावकहरूले विद्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले विद्यालयले अपनाएको शैक्षिक योजना, विद्यार्थीको सिकाइप्रतिको दृष्टिकोण तथा अभिभावकसँगको समन्वयलाई सकारात्मक कदमका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, सिकाइका अवसर, अनुशासन, विद्यालयको दैनिक कार्यतालिका, परीक्षा प्रणाली तथा विभिन्न क्लब र अतिरिक्त क्रियाकलापबारे समेत जानकारी गराइएको थियो। यसले नयाँ विद्यार्थीलाई विद्यालयको वातावरणसँग सहज रूपमा घुलमिल हुन सहयोग पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार