पाँचथर ।
लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङले शासन सत्ता सञ्चालन गरेको स्थान हिलिहाङ गाउँपालिका-४ हस्तपुरमा प्यागोडा शैलीको दरबार निर्माण भएपछि पर्यटकको आकर्षण बढेसँगै आन्तरिक पर्यटन प्रवर्द्धन हुन थालेको छ। धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा पूर्वाधार विस्तार गरिएपछि पर्यटन प्रवर्द्धनको माध्यम बनेको हो।
दरबार क्षेत्रमा प्यागोडा शैलीको तीनतले दरबार निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु दुई करोड ५१ लाख ६८ हजारको लागतमा दरबार निर्माण भएको गाउँपालिका कार्यालयले जनाएको छ । मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा निर्माण भएको दरबारका संरचना भगवती बौद्ध जेभी इलामले निर्माण गरेको हो।
दरबारमा अवलोकनका अन्य सामग्री नभए पनि यसको आकर्षक बनोट, यहाँको भूगोल र इतिहासप्रतिको चासोले पर्यटकलाई आकर्षण गर्ने गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए। उनका अनुसार यहाँ पुग्ने पर्यटकले राजा हिलिहाङको समयका बैठकस्थल, राजसभास्थल, पर्खाल, दरबारमा प्रयोग भएका इँटा, खड्पललगायत संरचनाको अवलोकन गर्न पाउँछन्। त्यस्तै राजा हिलिहाङले शक्ति प्राप्त गरेको विश्वास गरिने युमा साम्माङ माङयुक्ना हिम (महारानी शक्तिपीठ) को दर्शन गर्ने प्रचलन रहिआएको उनले जानकारी दिए।
नेपालको संविधानबमोजिम स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई जोडेर हिलिहाङ गाउँपालिका बनेपछि राजा हिलिहाङ तथा उहाँको दरबारबारे खोजी सुरु भएको थियो । हिलिहाङ फाउन्डेसनले मेची राजमार्गको याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै हिलिहाङ दरबार अगाडि सालिक निर्माण गरेको छ।
“नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ । तर विसं १८३१ साउनमा राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुम (जिल्ला)लाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिनुभएको इतिहास छ । विसं १८४२ मा हिलिहाङको अकस्मात मृत्यु भएपछि याङवरक थुम पूर्णतः नेपाल मातहतमा गाभियो । यही आधारमा हिलिहाङलाई लिम्बूवानका अन्तिम राजा भन्ने गरिन्छ”, अध्यक्ष अधिकारीले भने।
पराक्रमी मानिने राजा हिलिहाङको निधनपछि उहाँसँग रुष्ट पक्षले दरबार र राज्यसत्तामा दखल दिएकाले दरबारको संरक्षण हुन नसक्दा भत्किएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । अध्यक्ष अधिकारीका अनुसार उक्त दरबारमा प्रयोग भएका इँटा र सो समयमा लगाइएका पर्खालहरू अझैपनि दरबार परिसरमा छन्।









प्रतिक्रिया दिनुहोस्