बैजनाथ (बाँके) ।
बाँकेको बैजनाथ गाउँपालिकामा तीनदिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना र बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि तीनदिने डिजिटल पत्रकारिता तालिम सुरु भएको हो । एक कार्यक्रमकाबीच तालिमको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले सत्यता र प्रमाणको आधारमा निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।
तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय पत्रकारिताले मात्रै सही दिशानिर्देश गर्न सक्ने भन्दै उनले डिजिटल माध्यमको प्रयोगमा गम्भीर र संवेदनशील बन्न सक्नुपर्ने बताए । अध्यक्ष शाहीले पत्रकारिता सिक्दै गरेका नवयुवालाई गाउँपालिकाको दृष्टि पुग्न नसकेको ठाउँमा सही तथ्य बाहिर ल्याउन भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।
उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतारे मात्र तालिम लिनुको सार्थकता रहने स्पष्ट पारेका थिए । डिजिटल युगमा डिजिटल पत्रकारिताको महत्व बुझेर गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँकेसँग सहकार्य गरेर तालिम सञ्चालन गरेको बताए । नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष तिलक गाउँलेको अध्यक्षतामा भएको उद्घाटनसत्रमा शाखाका सहसचिव भगतराम थारूले स्वागत मतव्य राखेका थिए ।
तालिममा पहिलो दिन पत्रकार शंकर प्रसाद खनालले सहजीकरण गरेको नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले जानकारी दिए । तालिममा पालिकाका आठै वडाबाट युवायुवतीको सहभागिता रहेको छ । तीनदिने तालिम बुधबार समापन हुनेछ ।








प्रतिक्रिया दिनुहोस्