काठमाडौँ ।
चोरेर अमेरिका पुर्याएको मूर्ति आसनमै फर्काइएको छ। काठमाडौँ महानगरपालिका-२३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको बुद्धको मूर्तिलाई आसनमा फर्काइएको हो।
शुक्रबार बुद्ध जयन्तीको अवसर पारेर मूर्तिलाई आसनमा फर्काइएको काठमाडौं महानगरले जनाएको छ। मूर्ति २०७८ फागुन १८ गते नै नेपाल फिर्ता ल्याइएको थियो। त्यतिबेला चोरी भएपछि यो मूर्ति अमेरिकाको न्यूयोर्कस्थित टिबेट हाउस कलेक्सनमा पुगेको थियो।
पुरातत्व विभाग, नेपाल सम्पदा अभियानीहरूको सक्रियतामा मूर्ति फिर्ता गरी राष्ट्रिय संग्रहालयमा राखिएको थियो। मूर्तिलाई पहिलेकै स्थानमा फिर्ता ल्याउनका लागि महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पहल गरेकी थिइन्।
डंगोलसहित वडा-२३ का वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, पुरातत्व विभागका प्रतिनिधि, न्हुछे बहाका गुठीयार अमर शाक्य, सम्पदा अभियानकर्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता तथा सम्पदा अभियन्ता सञ्जय अधिकारी वैशाख १७ गते संग्रहालय गएका थिए।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क) बमोजिम मूर्तिको सुरक्षा तथा संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कागजी प्रक्रिया पूरा गरी राष्ट्रिय संग्रहालयका प्रमुखअरुणा नकर्मीले वुद्ध मूर्ति हस्तान्तरण गरेका थिए। मूर्तिलाई त्यस दिन हनुमानढोका हेरचाह अड्डामा राखिएको थियो।
यसरी राखिएको मूर्ति वैशाख १८ गते वुद्ध जयन्तीको अवसर पारेर विहारको मूल आसनमा पुनःस्थापित गरिएको हो। बाजागाजासहित मूर्तिलाई हनुमानढोकाबाट बिहार पुर्याइएको थियो।









प्रतिक्रिया दिनुहोस्