यस मिसन टुडे दैनिकले छ महिनाअघि यही समस्यालाई उजागर गरेर समाचार प्रकाशित गरेपछि कम्पनीले केही दिनलाई उत्पादनमा रोक लगाएको थियो । तर, स्थानीयहरूका अनुसार अहिले दिनमाभन्दा राति प्लान्ट चलिरहने गरेको स्थानीयहरूको आरोप रहेको छ । त्यसबेला स्थानीयहरूले केही राहत महसुस गरेका थिए । तर पछिल्लो समय पुनः सञ्चालनमा आएको प्लान्टले समस्या झन् बढाएको उनीहरूको आरोप छ ।
शेरबहादुर ऐर । कैलाली ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ भगवती टोलका बासिन्दालाई फोहोर व्यवस्थापन र ऊर्जा उत्पादनको उद्देश्यले स्थापना गरिएको बायोग्याँस प्लान्टनै दुःखको कारण बनिरहेको छ । विकासको नाममा सुरु गरिएको परियोजनाले अपेक्षित लाभ दिन नसक्दा स्थानीयहरू दुर्गन्ध, स्वास्थ्य समस्या र मानसिक तनावको मार खेप्न बाध्य भएका छन् ।
दुई वर्षअघि ठूलो आशा र अपेक्षासहित सञ्चालनमा ल्याइएको उक्त प्लान्टले सुरुवातमा स्थानीयलाई सकारात्मक सन्देश दिएको थियो । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुने, घरघरमा ग्याँस उपलब्ध हुने र वातावरण सफा रहने विश्वास दिलाइएको थियो । तर समयसँगै ती सबै आशा निराशामा परिणत हुँदै गएको स्थानीयहरूको गुनासो छ ।
यस मिसन टुडे दैनिकले छ महिनाअघि यही समस्यालाई उजागर गरेर समाचार प्रकाशित गरेपछि कम्पनीले केही दिनलाई उत्पादनमा रोक लगाएको थियो । तर, स्थानीयहरूका अनुसार अहिले दिनमाभन्दा राति प्लान्ट चलिरहने गरेको स्थानीयहरूको आरोप रहेको छ । त्यसबेला स्थानीयहरूले केही राहत महसुस गरेका थिए । तर पछिल्लो समय पुनः सञ्चालनमा आएको प्लान्टले समस्या झन् बढाएको उनीहरूको आरोप छ ।
स्थानीय बासिन्दा दिप चौधरीका अनुसार प्लान्ट सञ्चालनमा आएदेखि नै बस्तीमा असहज वातावरण सिर्जना भएको छ । ‘हामीले विकास आउँछ भनेर खुसी मनाएका थियौँ,’ उनले भने, ‘तर अहिले अवस्था यस्तो छ कि सास फेर्नै गाह्रो हुन्छ । दिनहुँ दुर्गन्ध सहनुपर्छ ।’ उनका अनुसार विशेषगरी रातको समयमा प्लान्टबाट निस्कने गन्ध अझ तीव्र हुने गर्दछ, जसका कारण निद्रा समेत प्रभावित भएको छ ।
‘अहिले त झनै लुकीछिपी रातमा सञ्चालन हुन्छ,’ चौधरीले भने, ‘हामीले रोक्न खोज्दा पनि हाम्रो कुरा कसैले सुन्दैन ।’ स्थानीय कैदेह चौधरी पनि यही समस्या दोहो¥याउँछन् । उनका अनुसार दुर्गन्धका कारण दैनिक जीवन नै अस्तव्यस्त भएको छ । ‘खाना खान बस्दा गन्धले गर्दा खान मन लाग्दैन,’ उनले भने, ‘बच्चाहरूले त गन्ध कम भएको बेला मात्रै खाना खान्छन्, नत्र भोकै बस्छन् ।’ यस्तो अवस्था लामो समयसम्म रहँदा बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने चिन्ता अभिभावकहरूमा बढ्दो छ ।
अर्का स्थानीय लालसिंह कठरिया भन्छन्, ‘हामीलाई त घरभित्र बस्नै मुस्किल छ । गन्धले लुगामा बस्छ, छालामा टाँसिन्छ । मास्क लगाएर बस्नुपर्ने अवस्था आएको छ ।’ उनका अनुसार भगवती टोलका अधिकांश घरहरू यस समस्याबाट प्रभावित भएका छन् । स्थानीयहरूले बारम्बार धनगढी उपमहानगरपालिका र प्लान्ट सञ्चालकलाई गुनासो गरे पनि अहिलेसम्म ठोस समाधान नआएको उनीहरूको आरोप छ ।
उनीहरूका अनुसार समस्या समाधानतर्फ सम्बन्धित निकायले चासो नदेखाउँदा निराशा बढ्दै गएको छ । यता प्लान्ट सञ्चालक रविन पन्त भने समस्या अस्थायी भएको दाबी गर्छन् । उनका अनुसार फोहोर व्यवस्थापनका लागि पर्याप्त ठाउँ नहुँदा यस्तो अवस्था सिर्जना भएको हो । ‘धनगढी–७ मा नयाँ फोहोर व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ,’ उनले भने, ‘त्यो सम्पन्न भएपछि अहिले देखिएको समस्या स्वतः समाधान हुनेछ ।’ उनका अनुसार उक्त केन्द्रको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
पन्तका अनुसार हाल अस्थायी रूपमा फोहोर संकलन र भण्डारण गर्दा दुर्गन्ध फैलिएको हो । ‘हामीले नगरपालिकालाई बारम्बार जानकारी दिएका छौँ,’ उनले भने, ‘तर अपेक्षित सहयोग पाएका छैनौँ ।’ उनले स्थानीयको समस्याप्रति आफूहरू पनि संवेदनशील रहेको दाबी गरे ।
धनगढीमा निर्माणाधीन एकीकृत फोहोर व्यवस्थापन केन्द्रप्रति धेरैको आशा जोडिएको छ ।
करिब २२ हेक्टर क्षेत्रफलमा फैलिएको यो परियोजना एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो । करिब एक अर्ब २४ करोड रूपैयाँँ लागत अनुमान गरिएको यस परियोजनाले भविष्यमा फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
उक्त केन्द्रमा मानव मलमूत्रदेखि घरायसी फोहोरसम्म प्रशोधन गरिनेछ । आधुनिक प्रविधिको प्रयोगबाट ग्याँस र मल उत्पादन गरिने योजना छ । यसले वातावरणीय प्रदूषण घटाउनुका साथै आर्थिक अवसर पनि सिर्जना गर्ने विश्वास गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख ईन्जिनियर अशोक अवस्थीका अनुसार परियोजनाको अधिकांश भौतिक निर्माण सम्पन्न भइसकेको छ । ‘बाँकी काम तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘निर्धारित समयभित्रै सञ्चालनमा ल्याउने लक्ष्य छ ।’ उनका अनुसार परियोजना सम्पन्न भएपछि तीन वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नेछ र त्यसपछि उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
तर स्थानीय बासिन्दाहरू भने अहिलेको पीडाबाट छिटो मुक्ति चाहन्छन् । उनीहरूका लागि भविष्यका योजनाभन्दा वर्तमान समस्या ठूलो बनेको छ । ‘हामीलाई अहिले नै समाधान चाहिएको छ,’ एक स्थानीयले भने, ‘दुई वर्ष पर्खियौँ, अब अझै कति पर्खिने ?’ फोहोर व्यवस्थापन जस्तो संवेदनशील क्षेत्रमा योजना बनाउँदा स्थानीय समुदायको सहभागिता र प्रभाव मूल्यांकन अत्यन्त आवश्यक हुन्छ । प्रारम्भिक चरणमै प्रभावकारी व्यवस्थापन गरिएको भए अहिलेको अवस्था नआउने उनीहरूको भनाइ छ ।
धनगढी पछिल्ला वर्षहरूमा तीव्र सहरीकरणको चपेटामा परेको छ । जनसङ्ख्या वृद्धि र अव्यवस्थित बसोबासले फोहोर व्यवस्थापनलाई ठूलो चुनौती बनाएको छ । यस्तो अवस्थामा दीर्घकालीन समाधानका लागि ठूला परियोजनाहरू आवश्यक भए पनि तिनको कार्यान्वयनमा ढिलासुस्ती र समन्वय अभावले समस्या झन् जटिल बनाएको देखिन्छ ।
विकास परियोजनाहरू केवल कागजमा राम्रो देखिनु पर्याप्त हुँदैन, त्यसको प्रभाव प्रत्यक्ष रूपमा जनजीवनमा सकारात्मक देखिनु आवश्यक हुन्छ । अन्यथा यस्ता योजनाहरूले लाभभन्दा बढी हानि पु¥याउने खतरा रहन्छ । अहिले धनगढीको भगवती टोल एउटा उदाहरण बनेको छ, जहाँ ‘फोहोर व्यवस्थापन’को नाममा बस्ती नै समस्याग्रस्त बनेको छ । स्थानीयहरूको धैर्य क्रमशः सकिँदै गएको छ र उनीहरू अब ठोस कदमको अपेक्षामा छन् ।
सम्बन्धित निकायहरूले समयमै समस्या समाधान गर्न सकेनन् भने यसले दीर्घकालीन सामाजिक र स्वास्थ्य संकट निम्त्याउन सक्ने देखिन्छ । ढिलाइ नगरी तत्काल कदम चाल्नु आवश्यक देखिन्छ । नत्र ‘सफा धनगढी’को सपना केवल नारामै सीमित रहनेछ ।









प्रतिक्रिया दिनुहोस्