‘धनगढी घोषणापत्र २०८२’ सार्वजनिक



धनगढी ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले ७१औँ स्थापना दिवसको अवसरमा ‘धनगढी घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ । पत्रकारहरूको पेशागत अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षणमा केन्द्रित उक्त घोषणापत्रले वर्तमान परिवर्तित सञ्चार वातावरणमा पत्रकारिताको भूमिका, चुनौती र भविष्यका दिशाहरू स्पष्ट गर्ने प्रयास गरेको छ ।

कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्र सूचना प्रविधिको तीव्र विकाससँगै नयाँ मोडमा पुगेको उल्लेख गर्दै जिम्मेवार, तथ्यपरक र उत्तरदायी पत्रकारिताको आवश्यकता झन् बढेको बताएका थिए । महासंघका पदाधिकारीहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको रक्षा र प्रवद्र्धनमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

घोषणापत्रमा पत्रकारहरूको मर्यादा, पेशागत सुरक्षा र अधिकार सुनिश्चित गर्न राज्य तथा सम्बन्धित निकायलाई स्पष्ट आग्रह गरिएको छ । साथै, पत्रकारितालाई स्वच्छ, निष्पक्ष र जनउत्तरदायी बनाउन आचारसंहिता पालनामा जोड दिइएको छ । बदलिँदो प्रविधि र डिजिटल माध्यमको प्रभावका कारण पत्रकारितामा देखिएका नयाँ चुनौतीहरूलाई सामना गर्न आवश्यक सीप, क्षमता र संरचनात्मक सुधार आवश्यक रहेको पनि औँल्याइएको छ ।

महासंघले आफ्नो स्थापनाकालदेखि नै नेपाली पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रताको संरक्षण तथा नागरिक अधिकारको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको स्मरण गर्दै घोषणापत्रमा संस्थापक तथा दिवंगत पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, वर्तमान पुस्ताका पत्रकारहरूलाई जिम्मेवार र नैतिक पत्रकारिता गर्न आह्वान गरिएको छ ।

घोषणापत्रका मुख्य बुँदाहरूमा पत्रकार महासंघ कैलाली शाखाले सूचना पाउने नागरिकको अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहने र पत्रकारहरूको हकहितका लागि निरन्तर आवाज उठाउने उल्लेख गरिएको छ । त्यस्तै, पत्रकारितामा देखिने विकृति र विसंगतिहरू अन्त्य गर्न आन्तरिक शुद्धीकरण आवश्यक रहेको धारणा पनि अघि सारिएको छ ।

राजनीतिक परिवेशमा आएको परिवर्तनसँगै पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा स्वतन्त्र प्रेसको भूमिका अझ महत्वपूर्ण हुने भन्दै घोषणापत्रले राज्यलाई स्वतन्त्र पत्रकारिताअनुकूल वातावरण सिर्जना गर्न आग्रह गरेको छ । प्रेसमाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा आक्रमण अस्वीकार्य हुने स्पष्ट सन्देश दिइएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरूले वर्तमान समयमा सामाजिक सञ्जालको बढ्दो प्रभावले सूचना प्रवाहको स्वरूप परिवर्तन गरेको चर्चा गर्दै विश्वसनीयता कायम राख्न पत्रकारिता अझ जिम्मेवार बन्नुपर्ने बताएका थिए । उनीहरूले फेक न्यूज, अफवाह र भ्रामक सामग्री नियन्त्रणका लागि पत्रकारहरूको सक्रियता अपरिहार्य रहेको औँल्याए ।

महासंघ कैलाली शाखाले स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि सहकार्य जारी रहने विश्वास व्यक्त गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार