सुदूरपश्चिम ।
२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० वर्षसम्मका ६१ जना युवा सांसद विजयी भएका छन् । ६१ मध्ये चार जना सुदूरपश्चिमका छन् । कैलाली २ बाट २६ वर्षकै उमेरमा केपी खनालले संसदीय राजनीतिक यात्रा आरम्भ गरेका छन् । लुम्कीचुहा नगरपालिकाका खनाल १९ हजार ५७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार पतिराम चौधरीलाई उनले हराएका हुन् । चौधरीले ११ हजार ९ सय ४९ मत पाए । खनाल सामाजिक अभियन्तामा रूपमा काठमाडौँमा सक्रिय थिए । उनी रास्वपा नेता बालेन्द्र शाह निकट मानिन्छन् । उनले क्लिन काष्ठमण्डप अभियान सञ्चालन गरेका थिए ।
यस्तै कञ्चनपुर ३ बाट ४० वर्षीय रास्वपा उम्मेदवार ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् । उनी २७ हजार १ सय १८ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका हरिप्रसाद बोहराले ९ हजार ४ सय ४३ मत पाएका थिए । महता पूर्वपत्रकार हुन् । कैलाली ३ बाट ३९ वर्षीय रास्वपा उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भए । उनले २० हजार ३ सय ५९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत पाए । घोडाघोडी नगरपालिकाका जोशीले एमएसम्मको अध्ययन गरेका छन् । जनमोर्चाको राजनीति गरेका उनी रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका थिए । कञ्चनपुर २ बाट ३८ वर्षीय दीपकराज बोहरा निर्वाचित भएका छन् ।
उनी रास्वपाको स्थापनाकालदेखि नै सभापति रवि लामिछाने निकट थिए । बोहराले ३३ हजार ९ सय ५२ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका एनपी साउद १० हजार ८ सय २७ मत प्राप्त गरेर पराजित भए । डडेलधुराका बोहराले कक्षा १० सम्मको अध्ययन गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्