सडकमा देखिएन होलीको रौनक



बाँकेसहित देशभरका मधेशी समुदायले आज बुधबार एकअर्कालाई रङ लगाएर खुसियाली साटासाट गर्ने र होली मिलन गर्नेछन् । तर, अघिल्ला वर्षहरूको जस्तो गीत बजाएर सडकमै सागीतिक कार्यक्रम हुने र ठूलो भेला भने हुनेछैनन् । यसपटक मदिराको बेचबिखन पनि बन्द रहेकोले शान्तिपूर्ण रूपमैै होली सम्पन्न हुनेछ ।

वीरेन्द्र जैशी । नेपालगन्ज ।

होलीको दिन नेपालगन्जको त्रिभुवन चोक रङमा डुबेको जस्तै भान हुन्थ्यो । होलीलाई उत्साहप्रदरूपले मनाइने नेपालगन्जका सदरलाइन, त्रिवेणीमोड, न्युरोड र घरबारीटोलको सडकमै होली खेल्नेहरूको भिड हुन्थ्यो । होलीका स्थानीय गीतभन्दा हिन्दी गीतहरूमा नृत्यमग्न त्यस्ता समूहहरूलाई कतिपय अवस्थामा नियन्त्रण गरिराख्न सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे पथ्र्याे । तर यसपटक नेपालगन्जमा होलिको त्यस्तो कुनै रौनक देखिएन ।

त्रिभुवन चोक, सदरलाइन, त्रिवेणीमोड, न्युरोड र घरबारी टोलमा मानिसहरूको भिड देखिएन । अघिल्ला वर्षहरूको तुलनामा यसवर्षको होलीमा निकै कम मानिसहरू सडकमा उत्रिएर एक अर्कालाई रङ लगाइरहेका देखिए । यस्तो हुनुमा पूर्णिमाको दिन लागेको चन्द्रग्रहणको सुतक र निर्वाचनका कारण प्रशासनले आह्वान गरेको शान्तिपूर्ण होली मनाउने आग्रहलाई नागरिकहरूले स्वीकार्नु कारण देखिएको छ ।

विशेषगरी मधेशी समुदाय र अवधि समुदायले होलीलाई तिथि तथा धार्मिक विधि पु¥याएर पूजापाठसहित मनाउने हुँदा उनीहरूले मंगलबार होली नमनाएको पाइएको छ । चन्द्रग्रहणको सुतक बिहान ६ बजेदेखि नै सुरु भएको र सुतककालमा कुनैै पनि शुभकार्य नगर्ने र पूजापाठ पनि नगर्ने धार्मिक मान्यता रहेकोले मंगलबार होलीको उमंग देख्न नपाइएको नेपालगन्जका सामाजिक अगुवा नन्दलाल वैश्यले बताए ।

उनका अनुसार सोमबार राति होलिका दहन लगायतका विधिहरू भने पूरा भएका छन् । होलिका दहनपछि केहीले बिहान सबेरै रङ लगाएर होली मिलन गरे पनि एकाबिहानै सुतक सुरु भएकोले अधिकांशले होली नमनाएका वैश्यले बताए । वैश्यका अनुसार मधेशी समुदायले बुधबार एकअर्कालाई रङ लगाएर खुसियाली साटासाट गर्ने र होली मिलन गर्ने बताए । तर, अघिल्ला वर्षहरूको जस्तो गीत बजाएर सडकमै सागीतिक कार्यक्रम हुने र ठूलो भेला भने नहुने उनको भनाइ छ ।

यसपटक मदिराको बेचबिखन पनि बन्द रहेकोले शान्तिपूर्ण रूपमैै होली सम्पन्न हुने उनको बुझाइ छ । अर्काेतिर, बाँके प्रशासनले फागुन २१ गते हुने निवर्नाचनको मौनअवधिलाई मध्यनजर गर्दै यसपटक होली मनाउँदा परिवार तथा आफन्तबीच मात्रै मनाएर सहयोग गर्न अपिल गरेको थियो । प्रशासनमा भएको सर्वपक्षीय बैठकले पनि होलीलाई शान्तिपूर्ण बनाउन अपिल गर्ने निर्णय गरेको थियो ।

त्यसलाई पनि पालना गर्दै भेला तथा कार्यक्रमभन्दा साथिभाईहरूबीच सीमित रहेर होली मनाइएको स्थानीयहरू बताउँछन् । यता बाँके प्रहरीले पनि मंगलबार फाट्टफुट्ट रूपमा मात्रै मानिसहरू सडकमा आएका बताएको छ । बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले मंगलबार निकै कम सङ्ख्यामा मात्रै होली मनाउनेहरू सडकमा देखिएका बताए ।

उनले पनि सुतकका कारण केही समुदायले बुधबार मात्रै होली मनाउने जानकारी पाएको र त्यसका आधारमा सुरक्षा प्रबन्ध मिलाइने बताए । मंगलबार नेपाली सेनासमेतका सुरक्षाकर्मीहरू सडकमै खटिएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि सुतकका कारण बुधबार पनि केही समुदायले होली मनाउने जानकारी आएको बताए ।

उनले चाडबाड शान्तिपूर्ण वातावरणमा मनाउन प्रशासनले आवश्यक सावधानी अपनाएको पनि बताए । नेपालगन्जमा मात्रै नभई काठमाडौँ लगायतका पहाडी क्षेत्रमा पनि होली मनाउँदा ठूलो जमघट भएन । काठामाडौँको बसन्तपुर दरबार क्षेत्रमा ठूलो सहभागिता र सांगीतिक कार्यक्रमसहित होली मनाइने गरेकोमा यस वर्ष तुलनात्मक रूपमा कम सहभागिता रह्यो ।

अधिकांश मानिसहरू चुनावमा मतदान गर्न आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका कारण मानिसहरूको भेला कम भएको बताइएको छ । पछिल्लो एक हप्तामा मात्रै तीन लाखभन्दा बढी मानिसहरूले काठमाडौँ छोडेको बताइएको छ । यसका साथै भेला तथा कार्यक्रम नगर्न सरकारले गरेको अनुरोधलाई पनि स्वीकार गरिएकोले यस वर्षको होलीमा सडक तथा सार्वजनिक स्थानमा देखिने होलीको उत्साह देख्न नपाइएको बताइएको छ।

पश्चिम तराईका थारू समुदायले मनाए होली

पश्चिम तराईका थारू समुदायले पनि सांस्कृतिक उत्सव र एकताको प्रतिकको रूपमा होली मनाएका छन् । थारू समुदायले होलीको अघिल्लो रात होलिका दहन गर्छन् । घर–घरबाट गुइँठा, काठ र पराल जम्मा गरेर होलिकाको प्रतिक बनाइ जलाइन्छ । होलिका दहनपछि त्यसको खरानीलाई टीकाको रूपमा लगाउने गरिन्छ । जसले शरीरको रोगव्याधि निको पार्ने विश्वास गरिन्छ ।

होलीको मुख्य दिन बिहानैदेखि एक–अर्कालाई अबिर र रङ लगाएर खुसी साटासाट गरिन्छ । विशेषगरी देवर–भाउजू, जेठानी–देवरानी र साथीभाइहरूबीच रङ खेल्ने छुट्टै रमाइलो हुन्छ । रङ खेलिसकेपछि थारू समुदायले ‘झुम्रा’ र ‘मघौटा’ नाचगान गर्दै नजिकको नदी तथा तलाउमा गई स्नान गर्ने प्रचलन छ ।

थारू समुदायले होलीमा पनि चामलको पिठोबाट बनाइएको परिकार सुँगुर वा कुखुराको मासु र स्थानीय रूपमा बनाइने पेय पदार्थ खानपिन गर्नेे गर्दछन् । थारू समुदायले होलीमा ठट्टा–मजाकसमेत गर्ने गर्दछन् । त्यसक्रममा पानी छ्याप्ने, हिलो दल्ने र जिस्कने काम हुन्छ । यसले वर्षभरिको रिसराग मेटेर सम्बन्धमा मिठास ल्याउने विश्वास गरिन्छ ।

अवध क्षेत्रको लोकसंस्कृति होली 

‘होलीमा दुश्मनलाई पनि अंकमाल गरिन्छ’ भन्ने भनाइले अवध क्षेत्रको होलीको महत्वलाई झल्काउँछ । नेपालको बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासीमा अवधी समुदायको बसोबास छ । भारतको उत्तरप्रदेश समेत पर्ने अवध क्षेत्रमा होलीमा लोकसंस्कृतिको गहिरो छाप पाइन्छ । अवध क्षेत्रमा होलीमा ‘फगुआ’ गाउने गरिन्छ ।

गाउँका मानिसहरू जम्मा भएर होलिका दहन गरिएको, ठाउँलाई परिक्रमा गर्दै ढोलक, मन्जिरा र झाँझको तालमा गीत गाउने गर्दछन् । यी गीतहरूमा प्रायः अयोध्याका राम र मथुराका कृष्णले खेलेको होलीको वर्णन हुन्छ । होलीको अघिल्लो रातलाई ‘सम्मत जलाउने’ भनिन्छ । गाउँको चोकमा ठूलो दाउरा र गुइँठाको थुप्रो बनाइन्छ । विधिपूर्वक पूजा गरेर आगो बाल्ने गरिन्छ । आगोमा गहुँको बाला र चनाको बोट पोलेर प्रसादको रूपमा खाने गरिन्छ, जसलाई ‘होल्हा’ भनिन्छ ।

भोलिपल्ट बिहानैदेखि रङको खेल सुरु हुन्छ । होलिका दहन गरिएको खरानी छ्यापेर रमाइलो गर्ने गरिन्छ । दिउँसो प्रायः सेतो कुर्ता पाइजामा लगाएर एक–अर्कालाई अबिर लगाइन्छ र ‘होली मिलन’ गर्ने गरिन्छ । अवध क्षेत्रमा होलीको दिन विशेषगरी मैदाभित्र खुवा र चिनी भरेर बनाइएको मिठाई (गुजिया), चामल वा गहुँको पिठोबाट बनाइने गुलियो परिकार (ठकुआ र पुवा) दही वडा र पकौडा लगायतका परिकारहरू खाने गरिन्छ । अवधमा होलीको दिन टाढाका आफन्तहरूलाई घरमा निम्तो दिने चलन पनि छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार