उमंग र सद्भावको पर्व होली



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालमा मनाइने प्रायः चाडहरु प्रकृतिको चक्रसँग मिल्दोजुल्दो शैलीमा आधारित छन् । त्यस्तै अर्काे चाड हो, फागु पूर्णिमा अर्थात् होली । शिशिर ऋतु सकिएर वसन्त ऋतुको आगमन हुने बेला मनाइने होली पर्वले उल्लास, भाइचारा र सत्यको विजयोत्सवलाई एकसाथ प्रतिविम्बित गर्दछ । होली पर्वको सबैभन्दा विशिष्ट पक्ष भनेको यो रङहरुको पर्व हो ।

अबिरलगायत विविध रङहरू लगाएर एक आपसमा आत्मियता तथा भाइचाराको साटासाट गर्ने यो पर्व नेपाल तथा भारतलगायत हिन्दुहरु जहाँ जहाँ छन् त्यहाँ हर्षाेल्लासपूर्वक मनाइन्छ । नेपालको भौगोलिक विविधता र सांस्कृतिक बहुलताले गर्दा होली मनाउने शैली क्षेत्रअनुसार फरक र मौलिक छन् । काठमाडौँ उपत्यकाको परम्परागत चीर उत्थान, तराईको रङ र पानीको एकसाथ उत्सवदेखि सुदुरपश्चिममा होरी गीत गाएर मनाइने यो पर्वले सबै नेपालीलाई सद्भावको मालामा उन्ने माध्यमको पनि काम गरिरहेको छ ।

पौराणिक धर्मशास्त्रअनुसार होली पर्व हिरण्यकश्यपूका पुुत्र प्रह्लादसँग सम्बन्धित छ । श्रीमद्भागवतको सातौँ स्कन्धमा रहेको हिरण्यकशिपु तथा प्रह्लादको प्रसंगअनुसार राक्षस कुलमा जन्मे पनि प्रह्लाद सानै उमेरमा इश्वरभक्त थिए । उनले ईश्वरलाई माने, उपासना गर्ने काममा लिप्त भए । जुन कुरा उनका पिता हिरण्यकश्यपु मन नपरेपछि उनले प्रह्लादलाई मार्न अनेक उपाय रचे तर सफल भएनन् ।

कश्यपुकी बहिनी होलिकालाई अग्निले नडढाउने वरदान प्राप्त थियो । अन्ततः होलिकाले प्रह्लादलाई काखमा राखी चितामा बसिन् । तर, होलिका जलेर भष्म भइन् तर प्रह्लादलाई केही भएन । त्यसरी सत्य, धर्म, भक्तको जित भएको दिनको सम्झनामा होली मनाउन थालियो भन्ने पौराणिक शास्त्रीय मान्यता छ । त्यही कारणले विशेषगरी होलिका दहन भएको फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने गरिएको मानिन्छ ।

अर्काे प्रसंगअनुसार भगवान् कृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको फागु पूर्णिमाकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै रङ्गीन उत्सव मनाएको मानि कथा पनि धार्मिक ग्रन्थहरूमा छ ।
तराईमा चारैतिर तुवाँलो लाग्ने मौसम सकिएर अब उज्यालो र चकमन्न घाम लाग्ने मौसम सुरु भएको छ ।

वनमा कोइलीको आवाज टाठो हुँदैछ । रुखहरुमा पालुवा पलाउँदैछन् । यही मौसममा मानिसहरुमा हर्षाेल्लास भर्न आउँछ होली पर्वको शुभ मुहुर्त । होली मनाउने विभिन्न समुदायका आ–आफ्नै तरिका भए पनि होली खेल्ने दिनभन्दा एकदिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कालाई दल्ने चलन सबै ठाउँ छ ।

उता सुदुरपश्चिममा यस पर्वलाई रामको विजय यात्रासँग पनि जोडेर मनाउने गरिन्छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा पहाडी समुदायले होलीका अवसरमा विशेष देउडा खेल्दै मनाउने गर्दछन् । होली सांस्कृतिकरुपले मेलमिलाप, भाइचारा र रङहरुको पर्व हो । यसवर्ष प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा होली पर्व परेकोले स्थानीय प्रशासनले आफन्तबीच सीमित भएर होली मनाउन आग्रह गरेको छ । यसका साथै होलीमा अवान्छित गतिविधि भई शान्ति व्यवस्था खलबल्याउन खोज्ने व्यक्तिहरुमाथि कारबाही हुने पनि प्रशासनले बताएको छ ।

पहाडमा सोमबार मनाइयो होली

पहाडी क्षेत्र तथा पहाडबाट बसाई सरी आएका मानिसहरु बसोबास रहेका क्षेत्रमा सोमबार धुमधामका साथ होली मनाइएको छ । काठमाडौँको वसन्तपुर दरबार क्षेत्र, टुँडिखेल, ठमेल, दरबारमार्गलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सदाझैँ होलीको बेग्लै उत्साह थियो । बसन्तपुरमा ठड्याइएको चीर टुँडिखेलमा लगेर जलाउने गरिन्छ । जलेको चीरको खरानी शुभ लक्षणका रूपमा बासिन्दाहरूले घर–घरमा लैजाने गर्छन् ।
यसबाहेक पहाडी क्षेत्रका नागरिकहरुले सोमबार होली मनाउँदै खुसियाली साटेका छन् ।

भक्तपुरको भीमसेन होलीः यौनिकता र प्रजननको प्रतीक

भक्तपुरमा मनाइने होलीको शैली अझ विशिष्ट छ । त्यहाँ रहेको दत्तात्रय मन्दिर नजिकै रहेको भीमसेनको मन्दिरमा काठबाट निर्मित लिङ्गको आकृतिलाई होलीको दिन प्रदर्शनमा राखिन्छ । प्रजनन शक्ति र पुरुषत्वको प्रतीक मानिने उक्त लिङ्गलाई टोल–टोल घुमाउने र पूजा गर्ने गरिन्छ । उक्त परम्पराले नेपालको प्राचीन र तान्त्रिक सांस्कृतिक पक्षलाई झल्काउँछ ।

रङ, लय र स्वादको मिथिला होली

मिथिलान्चल भनेर चिनिने मधेश प्रदेशमा मनाइने होली आफैँमा मौलिक छ । फागुन शुक्ल प्रतिपदादेखि सुरु हुने ‘मिथिला मध्यमा परिक्रमा’ नामक १५ दिने धार्मिक पदयात्रा सम्पन्न भएर जनकपुर फर्किएपछि मात्र त्यहाँ औपचारिक रूपमा होली खेलिन्छ । श्रद्धालुहरू १५ दिनसम्म धनुषा, महोत्तरी र भारतका विभिन्न धार्मिक स्थलको पैदल यात्रा गरेर फागु पूर्णिमाको दिन जनकपुरको ‘अन्तरगृह परिक्रमा’ गर्दछन् ।

त्यसको भोलिपल्ट यहाँ धुमधामका साथ होली खेलिन्छ । मिथिलान्चलको होलीमा ‘जोगिरा’ लगायतका लोकसङ्गीतको विशिष्ट स्थान छ । गाउँका चौतारी वा दलानहरूमा मानिसहरू जम्मा भएर सामूहिक रूपमा ‘जोगिरा’लगायतका फागु गीतहरु गाउने गर्दछन् । प्रश्नोत्तर शैलीका गीत र ‘जोगिरा सररर…’को स्वरले मिथिला क्षेत्र गुन्जायमान हुन्छ । ती गीताहरुमा यसमा व्यङ्गय, ठट्टा र आध्यात्मिक प्रेमको समिश्रण हुन्छ ।

मिथिलामा रङ र अबिर खेल्नुअघि हिलो र माटो खेल्ने पुरानो परम्परा छ । जसलाई माटोसँगको सामीप्य र प्रकृतिको सम्मानका रूपमा लिइन्छ । बिहानपख हिलो र गोबरले होली खेलेपछि नुहाएर दिउँसो सफा लुगा लगाउने र अबिर साटासाट गर्ने गरिन्छ । मिथिलाञ्चलमा होलीमा मालपुवा, दहीबडा र भान्टा, आलु, काउलीका विभिन्न परिकारहरु बनाएर खानुका साथै दूध, बदाम, केसर मिसाएर बनाइएको ‘घोट्टा’ होलीको मुख्य आकर्षण मानिन्छ ।

उक्त घोट्टामा भाङको पनि प्रयोग गर्ने गरिन्छ । मिथिलामा होलीको दिन सानाहरूले ठूलाको खुट्टामा अबिर लगाएर आशीर्वाद लिन्छन् भने समकक्षीहरूले एकअर्काको गालामा अबिर दलेर अँगालो मार्छन् । पुराना रिसराग बिर्सेर सम्बन्ध सुधार्ने यो एउटा ठूलो अवसरको रुपमा होलीलाई लिइन्छ ।

विशिष्ट देउडामय सुदुपश्चिमको होली

विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लामा होलीलाई ‘होरी’को नामले चिनिन्छ । सुदूरपश्चिमको अछाम लगायतका जिल्लामा होरीका अवसरमा विशेष प्रकारको देउडा ‘होरी देउडा’ खेल्ने चलन छ । गाउँको भेला हुने चउरमा देउडा खेलेर फागुन शुक्ल अष्टमीदेखि नै होरी देउडा खेल्ने चलन छ ।

उक्त देउडा खेल्दा मानिसहरू सेतो पहिरनमा सजिएर खेल्ने गर्दछन् । यसका साथै ‘फाग’ र ‘अठवाली’ गाएर पनि होली मनाउने चलन सुदूरपश्चिममा छ । होरी देउडा तथा गीतहरुमा भगवान् राम, कृष्ण र शिवका गाथाहरू गाउने गरिन्छ । ती गीतहरूमा भक्ति रसका साथै वीर रसका साथै नवरस नै समाहित हुन्छन् ।

उमंगमय नेपालगन्जीया होली

नेपालगन्जको त्रिभुवन चोक सबैजसो राजनीतिकदेखि सामाजिक विषयमा अभिव्यक्तिको केन्द्रको रुपमा रुपमा परिचित छ । यो चोक होलीमा पनि उमंगले भरिएको हुन्छ । होली मनाउनेहरुको केन्द्रको रुपमा यो चोक परिचित छ । एकाबिहानैदेखि अबेर रातिसम्म सलबलाइने नेपालगन्जको एकमात्र चोकको रुपमा रहेको त्रिभुवन चोकमा होलीको बेग्लै उमंग देख्न सकिन्छ ।

जहाँ प्रायः सबैजना रङले रंगिएर समानजस्तै देखिइरहेका हुन्छन् । एकले अर्कालाई अंगालो मार्दै हर्षाेल्लास साटिरहेका मानिसहरुले यो चोक होलीको दिन गुल्जार भइरहेको हुन्छ । त्रिभुवन चोकका साथै सदरलाइन, घरबारी टोल, न्युरोड क्षेत्र होलीको दिन रङमा डुबेको हुन्छ । मानिसहरु सबैचिज भुलेर नृत्यमग्न हुन्छन् । यो उल्लासमा कतिपय अवस्थामा अत्याधिक मदिरा सेवन गर्ने व्यक्तिहरुले अवान्छित गतिविधि गर्नसक्ने जोखिम भने रहन्छ ।

तर, यसअघिका होलीमा नेपालगन्जमा शान्तिपूर्ण रुपमा नै मानिसहरुले आफ्नो उमंग व्यक्त गर्दै आएका छन् । नेपालगन्ज निवासी अवधि संस्कृतिका जानकार साहित्यकार सच्चिदानन्द चौवे होली आउँदा आफ्नो बाल्यकाल सम्झिन्छन् । त्यतिबेला त्रिभुवन चोक खसियारीको केन्द्र थियो । पहाडबाट मानिसहरु घ्युका डोका बोकेर नेपालगन्ज आउँथे ।

उनीहरुको घ्यु किन्ने मारवाडी र व्यापारीहरु त्रिभुवन चोकमै केन्द्रित थिए । त्यतिबेला घ्युको बजार कति ठूलो थियो ? चौवे भन्छन्, ‘अरे ! घ्यु तताउनका लागि मान्छेको पूरै सारा जीउ डुब्ने कडाहाहरु थिए । ती कडाहाहरु होलीमा रङ्गीन पानीले भरिन्थे । रङ पनि प्राकृतिक हुन्थ्यो । एक त प्राकृतिकरुपमा आफैँ फूल्ने एक किसिमको फूलबाट रङ तयार गरिन्थ्यो । अर्काे होलिका दहन गरेको खरानीले आफैँ रङको काम गथ्र्याे । त्यही रङ घोलेर कडाहाहरु भरिन्थे ।’

अवध संस्कृतिका जानकार विष्णुलाल कुम्हाल भन्छन्, ‘होलीको दिन एकाबिहानैदेखि घर–घर डुल्दै रङ दल्दै मानिसहरु हर्षाेल्लास साटासाट गर्थे । प्रायः देवर भाउजुको रङ दलाई रोमाञ्चक हुन्थ्यो । ‘बुरा नमानो होली है’, यो आहानले अलि–अलि अश्लिलता र अरुबेलाभन्दा खुकुलो सामाजिक बन्धनको छुट दिन्थ्यो । मानिसहरु भाङ मिसिएको ठण्डाई पिउँदै आनन्दित भएर रङ खेल्थे । पाहुनालाई पिउन सजिलो होस् भनेर कतिपयले घरको बाहिर ठण्डाईको गाग्री नै राखिदिएका हुन्थे ।’ पिचकारीहरु बाँसबाट बनाइएका हुन्थे ।

जब डुलेर मानिसहरु थाक्थे । अनि विस्तारै त्रिभुवन चोकतिर सर्थे । त्रिभुवन चोक रङ दल्दै गला मिलिरहेका मानिसहरुले भरिन्थ्यो । त्यहीबेला रङले भरिएका कडाहातिर बाहुुबली युवाहरुको ध्यान जान्थ्यो । अनि उनीहरु जसलाई भेट्यो उसलाई उठाउँदै कडाहामा डुबाउँथे । त्रिभुवन चोक पुग्नेहरु कडाहामा डुब्न तयार भएरै जान्थे । गर्मीले परेसानहरु शित्तल महसुस गर्थे ।

पहाडबाट आएका हटारुहरुलाई उनीहरुले लगाएका मैला लुगासहित नै रङ घुलेको पानीमा डुबाइन्थ्यो । रङमा डुबेपछि महिनौदेखि ननुहाएका उनीहरुलाई नुहाउनै पर्ने बाध्यता हुन्थ्यो । पुराना लुगाको सट्टा नयाँ लुगा पनि किनिहाल्थे । कतिपयले नयाँ लुगा दिएर पहाडियाहरुसँग दोस्ती ‘यारी’ पनि गाँसिहाल्थे । यसरी खसियारीको एक अध्याय पनि थपिन्थ्यो ।

अहिले नेपालगन्ज त्रिभुवन चोकबाट विस्तारित भएर एक सहर बनेको छ । यससँगै यसको महत्व पनि एक चोकमा मात्रै सीमित छैन । अब अरु मुख्य बजारक्षेत्रहरु पनि मानिसहरु भेला हुने ठाउँ बनेका छन् । त्रिभुवन चोक अब व्यापारका दृष्टिले पहाडिया मालवस्तुमा आधारित रहेन । यहाँ बिक्री हुने वस्तुहरु अब सबै आयातित भइसके ।

होलीमा रङ दल्दै हिँड्ने, साथिभाइहरुलाई भेट्ने, अवधका मौलिक गीतको सट्टा हिन्दी गीतहरुमा नाच्नेबाहेक अहिलेको होलीसँग उहिलेको जस्तो कथा बनाएर भन्न सक्ने पक्षहरुको कमी हुँदैछ । तैपनि सामाजिक र धार्मिक सद्भावको दृष्टिबाट हेर्ने हो भने यस पर्वमा सबै धर्मका धर्मावलम्वीहरु उत्तिकै हर्षका साथ उल्लास मनाउँछन् ।

भाइचाराको उच्च नमुना प्रकट गर्दै मानिसहरु एकअर्कालाई रङ दल्दै हिँडेको दृश्य आफैँमा सुन्दर हुन्छन् । भागदौड र एकांगी बन्दै गएको समाजमा होलीजस्ता पर्वहरुले आमरुपमा सबै समुदायलाई जोड्ने र आपसका कटुताहरुलाई बिर्सेर प्रेमको प्रसार गर्ने पर्वका रुपमा होली पर्वको महत्व झन् बढी हुँदै गएको छ । नेपालगन्ज आफैँमा बहुधार्मिक सहर भएकोले यो धार्मिक सद्भावको उच्च नमुना होली पर्वको विशिष्ट महत्व छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार