लोकगायक निर्माेहीको देहावसान



नेपालगन्ज ।

बाँकेको नेपालगन्ज निवासी लोकगायक तथा सञ्चारकर्मी कमल विक निर्माेहीको देहावसान भएको छ । लामो समयदेखि दुवै मृगौलाले काम नगरेपछि उपचारमा रहेका निर्माेहीको मंगलबार निवासमै निधन भएको हो । शनिबार एक्कासी बेहोस भएपछि भेरी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

तर स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरमा राखिएका निर्माेहीलाई मंगलबार घर ल्याइएकोमा अपरान्ह नै उनले अन्तिम सास लिएका थिए ।
६६ वर्षीय निर्माेहीले ‘त्यो माडी खोलाले छेकेको होइन’, ‘लाग्यो माया मोहनी नजरमा’ लगायतका चर्चित लोकगीतहरूमा आवाज दिएका छन् । गायिका कोमल ओली, माया गुरुङ लगायतका कलाकारहरूसँग गायन सहकार्य गरेका निर्माेही रेडियो प्रस्तोता, उद्घोषक तथा सञ्चारकर्मीको रुपमा पनि त्यतिकै प्रसिद्ध थिए ।

उनले रेडियो नेपाल हुँदै नेपालगन्जका सबैजसो रेडियोहरूमा आफ्नो आवाजमार्फत सञ्चारकर्ममा योगदान दिएका थिए । गीत रेकर्डिङ तथा सञ्चार गृह व्यवस्थापनको पनि उत्तिकै अनुभव भएका निर्माेहीको निधनपछि उनका प्रशंसकहरू स्तब्ध छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार