पहिला सहकर्मी, अहिले प्रतिस्पर्धी



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा चुनावी प्रतिस्पर्धा रोचक छ । तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा विगतमा एउटै पार्टीमा रहेका र निर्वाचनको मुखैमा दल बदल गरेका उम्मेदवार अहिले चुनावी मैदानमा छन् । विगतका सहकर्मीहरू फरक–फरक दल र चुनाव चिन्हसहित प्रतिस्पर्धामा उत्रिँदा बाँकेको राजनीतिक माहोल झन् रोचक बनेको हो ।

बाँके १ मा नरेन्द्र पाण्डे (जेम्स) र कृष्णा केसी (नमुना), बाँके २ मा मोहम्मद इस्तियाक राई र कमुरुद्दिन राई र बाँके ३ मा सुमन मल्ल र दीपक जीएम तथा अमरसिंह पुन र खगेन्द्र सुनार विगतमा एउटै पार्टीमा आबद्ध भएर राजनीति गरेका उम्मेदवार हुन् । अहिले बाँके १ मा पाण्डे नेपाली कम्युनिस्ट पार्टी र केसी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार छन् ।

बाँके २ मा इस्तियाक नेकपा एमाले र नेपालगन्जका निवर्तमान उपप्रमुख कमरुद्दिन जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका छन् । बाँके ३ मा मल्ल नेकपा एमाले, जीएम नेकपा र पुन नेपाली काँग्रेस र सुनार राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार छन् ।

सम्बन्धित निर्वाचन क्षेत्रमा पूर्वसहकर्मीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । विगतमा एउटै दलमा रहेका नेताहरूबीच प्रतिस्पर्धा हुँदा मतदाताले कुन उम्मेदवारलाई रोज्छन्, त्यसको लागि फागुन २१ को पर्खाइ छ । बाँके १ मा १४ जना, २ मा २० जना र ३ मा २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

जनयुद्धकालीन कमरेड आमनआमने

विगतमा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहेका पाण्डे र केसी जनयुद्धकालीन सहकर्मी हुन् । जनयुद्धका कमाण्डरसमेत रहेका पाण्डे नेकपाबाट तारा चिन्हसहित चुनावी मैदानमा छन् । जेनजी आन्दोलनपछि बनेको नयाँ दल प्रलोपाको चुनाव चिन्ह आँखा लिएर केसी चुनावी मैदानमा छिन् ।

उनी लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर पूर्वसहकर्मी पाण्डेसँग चुनावी मैदानमा होमिएकी हुन् । त्यसो त केसी तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाँके प्रदेश १ (क) दुईपटक निर्वाचित भएकी थिइन् । २०७४ र २०७९ सालमा निर्वाचित भएकी थिइन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रीसमेत बनेकी केसी आधा कार्यकाल बाँकी रहँदै पार्टी र पद नै त्यागेर चुनावमा होमिएकी बाँके १ की एकमात्र महिला उम्मेदवार हुन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भइसकेकी केसी हाल नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएको समयमा उनको सचिवालयमा काम गरेकी थिइन् । केसी माओवादी नेता जनार्दन शर्माले पार्टी त्यागेपछि प्रलोपामा जोडिएकी हुन् । संसदीय राजनीतिक अनुभव, मन्त्रीको रूपमा राजकीय अनुभव बटुलेकी केसी र पाण्डेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

पाण्डे नेकपा बाँकेका संयोजकसमेत छन् । उनी जनयुद्धकालीन जनमुक्ति सेनाका कमाण्डर पृष्ठभूमिका नेता हुन् । केसी पनि विभिन्न भातृ संगठन हुँदै पार्टी राजनीतिमा स्थापित नेतृ हुन् । नेपाली काँग्रेस र नेकपा एमालेजस्ता परम्परागत भोट बैंक रहेका दल र नयाँ दल रास्वपाप्रतिको बढ्दो आकर्षणका बीच उनीहरूको उम्मेदवारी एकअर्कालाई घाटा हुने देखिन्छ ।

इस्तियाकलाई कमरुद्दिनको चुनौती

नेकपा एमालेबाट बाँके २ मा उम्मेदवार बनेका मोहम्मद इस्तियाक राईले मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा दल बदले । उनले जनता समाजवादी पार्टी (जसपा) त्यागेर नेकपा एमालेमा प्रवेश गरेर बाँके २ मा उम्मेदवार बने । उनी जसपाका महासचिव थिए । त्यसो त एमाले राईको पाँचौँ दल हो । २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राजनीति सुरु गरेका राई दल बदल गरिरहने नेताहरूमा पर्छन् ।

राई २०६२–६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो) प्रवेश गरे । उनी सोही दलबाट २०६४ सालको संविधानसभा निर्वाचनमा बाँके २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०६८ साल श्रम तथा यातायात व्यवस्थामन्त्री बने ।
जसपा नेपालको उम्मेदवार बन्दै २०७४ सालको निर्वाचनमासमेत उनी सोही क्षेत्रबाट निर्वाचित भए । त्यो कार्यकालमा केही समय भौतिक पूर्वाधार मन्त्रीसमेत भएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका डा.धवलशम्शेर राणासँग पराजित भए । २०८१ सालमा जसपा नेपाल विभाजित हुँदा नयाँ दल जसपामा लागेका थिए । अहिले उनी एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् । उनीसँगै प्रतिस्पर्धामा जसपा नेपालका कमरुद्दिन राई छन् ।

उनीहरू कुनैबेला एउटै पार्टीमा थिए । अहिले उनीहरू एकअर्काविरुद्ध प्रतिस्पर्धामा रहेका छन् । लामो संसदीय राजनीतिक अनुभव भएका मोहम्मद त्यहाँका मुख्य प्रतिस्पर्धी मानिन्छन् । नेपालगन्जको नगर उपप्रमुख पद त्यागेर उम्मेदवार बनेका कमरुद्दिनले राईलाई टक्कर दिने देखिन्छ ।

दुई दलका सहपाठी, चार दलका उम्मेदवार

बाँके ३ मा विगतमा दुई दलमा सँगै रहेकाहरू अहिले चार दलका उम्मेदवार छन् । रोचक त के भने बाँके ३ मा मुख्य प्रतिस्पर्धा उनीहरूबीच नै छ । बाँके ३ मा नेकपा एमालेले सुमल मल्लाई उम्मेदवार बनाएको छ । बाँके ३ मा मनोनयन दर्ता गर्नु अघिल्लो दिनसम्म नेकपा एमालेका पाका नेता दलबहादुर सुनारलाई टिकट प्रदान गरिएको थियो ।

अन्तिम समयमा नेकपा एमालेको नेतृत्वले खजुरा गाउँपालिका वडा नम्बर १ का पूर्ववडाध्यक्ष समेत रहेका युवा नेता सुमन मल्ललाई टिकट दियो । २०७९ सालमा खजुरा गाउँपालिकाकाको अध्यक्ष हारेका मल्ल अहिले आफ्नै पूर्वसहकर्मीसँग चुनावी मैदानमा छन् । त्यतिबेलाको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेकपा)का डम्बरबहादुर विक (तुफान)सँग पराजित भएका थिए ।

अहिले नेकपाका उम्मेदवार तथा पूर्वसहकर्मी दीपक जीएमसँग उनको प्रतिस्पर्धा रहेको छ । युवा नेता जीएम नेकपा एमालेबाटै राजनीति गरेका नेता हुन् । उनी नेकपा एमाले फुटेर बनेको नेपाल कम्युनिस्ट पार्टी (एककीकृत समाजवादी)मा लागेका थिए । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसहितका दलहरू मिलेर बनेको नेकपाबाट उनी उम्मेदवार बन्न पुगे । २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले नेपाली काँग्रेसलाई सघाएको थियो ।

त्यतिबेला किशोरसिंह राठौर विजयी भएका थिए । यसपटक भने नेपाली काँग्रेसले रोल्पा घर भएका लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनलाई उम्मेदवार बनेको छ । उनीसँग विगतमा एउटै पार्टीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

संयोग नै भन्नुपर्छ पुन र सुनार बाँके ३ का स्थानीय होइनन् । सुनार दैलेख र पुन रोल्पाका हुन् । सुनार यसअघि नेपाली काँग्रेसको भातृ संगठनमा क्रियाशील थिए । पछि पार्टी छोडेर दलित आन्दोलनको अगुवाइ गरेका थिए । हाम्रो पार्टी नेपाल खोलेर सभापति बनेका सुनार पार्टीलाई रास्वपामा मिसाउँदै अहिले घण्टी चुनाव लिएर मैदानमा छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार