शर्मा पार्टी र सांसद पद दुवैबाट निष्कासन



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कारबाही गरेको छ । कर्णाली प्रदेश संसदीय दलको कार्यालयले शर्मालाई पार्टीको साधारण सदस्य र प्रदेशसभा सदस्य (सांसद) दुवै पदबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

यसबारे संसदीय दलले औपचारिक प्रक्रिया अघि बढाएको छ । माघ २६ गते बसेको नेकपा केन्द्रीय समितिको बैठकले गरेको निर्णयलाई आधार मान्दै संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर शर्मालाई पदमुक्त गर्न जानकारी गराएका छन् ।

पार्टीका अनुसार शर्माले जानीजानी दलको नीति, सिद्धान्त, उद्देश्य र आचरण विपरीतका कार्य गरेपछि कारबाही गरिएको हो । शर्माले नेकपाको विधान २०८२ र कर्णाली प्रदेश संसदीय दलको विधान २०८२ को प्रतिकूल हुने गरी गतिविधि सञ्चालन गरेको प्रदेशसभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ ।

उनी जनार्दन शर्मा नेतृत्वको दल (प्रलोपा)को चुनावी अभियानमा सक्रिय देखिएपछि पार्टीले उनलाई निष्कासनसमेत गरेको छ । उनलाई अब कुनै साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेवारी र सांसद पदबाट हटाउने निर्णय गरिएको नेकपाले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५)बमोजिम उनलाई पार्टीबाट निष्कासन गरिएको हुनाले अब उनी कर्णाली प्रदेशसभा सदस्यको रूपमा नरहने कानुनी व्यवस्था छ । नेकपाले सोही ऐनको दफा ३४ को उपदफा (१)बमोजिम उनले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयलाई दिएको छ ।

सभामुखलाई समेत बोधार्थ पठाइएको सो पत्रसँगै अब कर्णाली प्रदेशसभामा राजकुमार शर्माको सांसद पद रिक्त हुने प्रक्रिया सुरु भएको छ । एकताको विपक्षमा उभिँदै आएका शर्माले आफ्नै शैली रोजेपछि नेकपाले उनलाई संसदीय राजनीतिबाटै बिदा गर्ने कडा निर्णय लिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार