नवराज पौडेल । कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–६ मजगवाँका स्थानीयका लागि हिजोआज घाम केवल शक्ति र तापको स्रोत मात्र रहेन, यो गाउँको समग्र विकास र कायापलट गर्ने माध्यम बनेको छ ।
पशुपति रिन्यूएबल्स लिमिटेडले यस क्षेत्रमा १० मेगावाट र १५ मेगावाट क्षमताका दुई ठूला सौर्य ऊर्जा परियोजना निर्माण सुरु गरेसँगै विकासका नयाँ लहरहरू देखिन थालेका छन् । निजी क्षेत्रको लगानी भन्नेबित्तिकै नाफा र व्यावसायिक स्वार्थ मात्र बुझिने आम धारणालाई चिर्दै यस कम्पनीले परियोजना निर्माणकै चरणमा समुदायको जीवनस्तर सुधार्न झण्डै १ करोड ४६ लाख ७२ हजार रूपैयाँभन्दा बढीको सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरेर एक अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ ।
उद्योग र समुदायबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको भन्दै शिवराज नगर कार्यपालिकाले हालै कम्पनीका पदाधिकारीहरूलाई औपचारिक रूपमा सम्मान गरेको छ । जसले विकासमा निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई अझ मजबुत बनाएको छ ।
परियोजनाले सबैभन्दा ठूलो र दीर्घकालीन लगानी शिक्षाको क्षेत्रमा गरेको छ, जसले मजगवाँको भावी पुस्ताको जग बलियो बनाउने विश्वास गरिएको छ। स्थानीय श्री आधारभूत विद्यालयको दृश्य अहिले पूर्णतः फेरिएको छ । कम्पनीले ८९ लाख १४ हजार ८५५ रूपैयाँको ठूलो लागतमा निर्माण गरिदिएको भव्य बहुउद्देश्यीय हलले विद्यार्थी र समुदायका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ ।
विद्यालयको जीर्ण भौतिक पूर्वाधारलाई सुदृढ बनाउन ३ लाख रूपैयाँ खर्चेर क्षतिग्रस्त पर्खाल मर्मत गरिएको छ भने आर्थिक रूपमा कमजोर रहेका विपन्न बालिकाका लागि ६० हजार रूपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रममार्फत अध्ययनमा प्रोत्साहन दिइएको छ ।
शिक्षासँगै स्वास्थ्य र सरसफाइलाई जोड्न युनिसेफको वास कार्यक्रमसँगको सहकार्यमा ५ लाख २४ हजार ६४० रूपैयाँ खर्च गरी विद्यालयमा आधुनिक शौचालय निर्माण र स्थानीय ११ घरधुरीलाई शौचालय निर्माण सामग्री प्रदान गरिएको छ । यसले विद्यालयको शैक्षिक वातावरण मात्र सुधारेको छैन, ग्रामीण क्षेत्रमा सरसफाइको चेतनालाई समेत नयाँ स्तरमा पु¥याएको छ ।









प्रतिक्रिया दिनुहोस्