बस्नेत जाजरकोट राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले यसअघि प्रतिनिधिसभाका तीन निर्वाचन जितिसकेका छन् । तर तीनमध्ये दुई पटक अन्य दलसँगको गठबन्धनको बलमा उनी विजयी भएका थिए । यसपटक भने सबै ठूला दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका कारण बस्नेतका लागि चुनावी समीकरण चुनौतीपूर्ण बनेको छ ।
नन्दराम जैशी । सुर्खेत ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा (माओवादी केन्द्र)का हेभिवेट नेता शक्तिबहादुर बस्नेत, नेकपा एमालेका डम्बरबहादुर सिंह र नेपाली काँग्रेसका खड्गबहादुर बुढा रहेका छन् ।
तर, यसअघिका निर्वाचनको तुलनामा यस पटक हेभिवेट मानिएका उम्मेदवार बस्नेतलाई जित हात पार्न सहज देखिएको छैन् । बस्नेत जाजरकोट राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले यसअघि प्रतिनिधिसभाका तीन निर्वाचन जितिसकेका छन् । तर तीनमध्ये दुई पटक अन्य दलसँगको गठबन्धनको बलमा उनी विजयी भएका थिए ।
यसपटक भने सबै ठूला दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका कारण बस्नेतका लागि चुनावी समीकरण चुनौतीपूर्ण बनेको छ । यस निर्वाचनमा एमाले र काँग्रेसले पनि आफ्ना प्रभावशाली उम्मेदवार मैदानमा उतारेका छन् । एमालेका डम्बरबहादुर सिंह स्थानीय तहदेखि जिल्लासम्म संगठन बलियो बनाएका नेताका रूपमा परिचित छन् भने काँग्रेसका खड्गबहादुर बुढा लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय छन् ।
दुवै उम्मेदवारले आफ्नो दलको आधार क्षेत्र मजबुत भएको दाबी गर्दै चुनावी अभियान तीव्र बनाएका छन् । त्यसैगरी, यस पटक नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि जाजरकोटमा उम्मेदवारी दिएपछि प्रतिस्पर्धा थप रोचक बनेको छ । पुराना दलप्रति असन्तुष्ट मतदातालाई लक्षित गर्दै रास्वपाले वैकल्पिक शक्तिको सन्देश दिन खोजेको देखिन्छ । यसले परम्परागत मत विभाजनमा असर पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
स्थानीय मतदाताहरू विकास, सुशासन, रोजगारी र सेवा प्रवाहलाई प्रमुख मुद्दा बनाउँदै उम्मेदवारको मूल्यांकन गरिरहेको बताउँछन् । अघिल्ला निर्वाचनमा गठबन्धनको फाइदा उठाएका बस्नेतका लागि यस पटक एक्लै चुनावी मैदानमा उत्रँदा मत व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिन्छ ।
यस पटक जाजरकोटमा रास्वपाबाट राघव कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कृष्णविक्रम शाह, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट भेषबहादुर ओली, उज्यालो नेपाल पार्टी (उनेपा)बाट कर्णबहादुर नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट कमान बुढा मगर, नेकपा माओवादीबाट बमबहादुर मल्ल, राष्ट्रिय जनमोर्चाबाट रत्नबहादुर खड्का र नेपाल मजदुर किसान पार्टीबाट धनीराम जैशी चुनावी मैदानमा छन् ।
यसरी चौतर्फि प्रतिस्पर्धा र नयाँ राजनीतिक शक्तिको प्रवेशसँगै जाजरकोटको निर्वाचन परिणाम कसको पक्षमा जान्छ भन्ने विषय चासोको केन्द्र बनेको छ । अबको केही हप्ता उम्मेदवारहरूको चुनावी रणनीति र मतदाताको निर्णयले नै अन्तिम नतिजा तय गर्नेछ । तर यसपटकको निर्वाचनमा रास्वपाको पक्षमा जनलहर चलेको बताए पनि जाजरकोटमा भने रास्वपा त्यति बलियो देखिएको छैन ।
यहाँ सांगठनिक भोट जोगाउन सक्ने दलले बाजी मार्ने निश्चित छ । काँग्रेसको विशेष महाधिवेशनको किचलोले चुनावसम्म प्रवेश पाएको खण्डमा जाजरकोटमा एमालेले इतिहास रच्ने राजनीतिक वृत्तमा चर्चा छ ।
यसपटक रास्वपाबाट काँग्रेस पृष्ठभूमिका व्यक्ति उम्मेदवार रहेकाले काँग्रेसको भोट क्रस हुँदाको लाभ एमालेलाई हुनेछ । तर टिकट वितरणको विषयलाई लिएर जाजरकोट एमालेमा मनमुटाव रहेको बताइन्छ । एमालेको मनमुटाव र काँग्रेस आन्तरिक कलहको भोट बस्नेतले तान्न सक्ने सम्भावना पनि छ ।
बस्नेतलाई सहज छैन चुनावी ब्याटल
तत्कालीन माओवादीको १० वर्षे सशस्त्र युद्धको सुरुवाती चरणबाटै भूमिगत भएका बस्नेतले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्। उनी तत्कालीन समयमा राज्यपक्षसँग युद्ध लड्न माओवादीले तयार गरेको जनमुक्ति सेनाको डिभिजन कमिसारसमेत थिए । एक दशक लामो युद्ध छेडेको माओवादी २०६२–०६३ पछि शान्ति प्रक्रियामा आयो ।
माओवादीले हतियार बिसाएसँगै २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो । सो निर्वाचनमा जाजरकोटबाट तत्कालीन माओवादीका कालीबहादुर मल्लले जित निकालेका थिए । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० मा दोस्रोपटक चुनाव भयो । उनी यही निर्वाचनबाट संसदीय राजनीतिमा उदाएका थिए ।
जाजरकोटमा २०६४ को पहिलो संविधानसभा निर्वाचनयता निरन्तर प्रतिनिधिसभा निर्वाचनमा जित निकाल्दै आएको तत्कालीन माओवादीका लागि यसपटकको चुनावी ब्याटल भने सहज छैन । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनबाट संघीय संसदमा प्रवेश गरेका बस्नेतले २०७४ र २०७९ मा काँग्रेस–एमालेसँगको फरक–फरक गठबन्धनबाट अविजित यात्रा तय गरेका थिए ।
बस्नेत २०७४ मा नेकपा एमालेसँग, २०७९ मा काँग्रेस र एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीबीचको गठबन्धनबाट विजयी भएका थिए । तर आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचन भने उनका लागि भारी पर्न सक्ने देखिएको छ । दुईपटक एमाले र काँग्रेसको बलमा निर्वाचन जितेका बस्नेतलाई आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने छ ।
जाजरकोटसँग जोडिएको रूकुम पश्चिममा तत्कालीन माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले तुलनात्मक रूपमा विकासको काम गरेको तर बस्नेतले भने जाजरकोटमा अपेक्षाअनुसार काम नगरेको आरोप कार्यकर्ताहरूकै छ । बस्नेत २०७० यता माओवादी सरकारमा सहभागी हुँदा पटक–पटक मन्त्री बनेका छन् । उनीमाथि लामो समय मन्त्री बने पनि विशेष गरी जाजरकोटमा विद्युतीकरण, मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने रूकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीको पुल र मन्ता भिरलाई पूर्णता दिन नसकेको आरोप छ ।
बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, गृह, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भइसकेका छन् । सांसद निर्वाचित हुनुपूर्व बस्नेतले प्रचण्डको स्वकीय सचिवालयमा बसेर काम गरेका थिए । जाजरकोटमा सांगठनिक रूपमा काँग्रेस र एमाले बलिया छन् । उनीहरूलाई नयाँ दलको लहरले समेत चुनौती दिने निश्चित । तर उनी कमजोर पात्र भने होइनन् । जाजरकोटमा आगामी निर्वाचनमा उम्मेदवार बनेका काँग्रेस–एमालेका उम्मेदवार भूगोलअनुसार कम जनसङ्ख्या भएका क्षेत्रबाट छन् ।
बस्नेत भेरी नगरपालिकाका स्थायी बासिन्दा हुन् । भेरी, नलगाड र छेडागाड नगरपालिका धेरै जनसङ्ख्या भएका स्थानीय तह हुन् । अन्य पालिकाबाट कम मत आउँदा यी तीनवटा पालिकाबाट मत तान्न सकेको खण्डमा बस्नेतको संससद यात्रा भने रोकिने छैन । गृह पालिकाबाट उनको पक्षमा स्वभाविक मत आएको खण्डमा नलगाड तत्कालीन माओवादीको पकड क्षेत्र हो ।
जुन स्थानीय तहको मतपरिणामले देखाउँछ । छेडागाडबाट समानुपातिक सांसद उठाएकाले यी तीन पालिकाबाट बस्नेतका पक्षमा धेरै मत आउने आकलन छ । चुनावी प्रचारकै क्रममा रहेका बस्नेतले सामाजिक सञ्जालमा चर्चा भएजस्तो माहौल नयाँ दलको नरहेको उल्लेख गर्दै आफूले नै चुनाव जित्ने दाबी गरे । आफूले यसअघिका निर्वाचनबाट प्राप्त जनमतको कदर गर्दै जाजरकोटको विकास र समृद्धिमा थुप्रै काम गरेको र बाँकी अधुरा कामलाई पूरा गर्न यसपटक पनि निर्वाचनमा होमिएको बस्नेतले प्रतिक्रिया दिए ।
यस्तो छ, दलहरूको शक्ति सन्तुलन
२०७० पछि २०७४ मा दोस्रोपटक संघीय संसद छिर्ने बस्नेतको सहयात्री एमाले बनेको थियो । तत्कालीन चुनावमा माओवादी–एमाले गठबन्धन हुँदा बस्नेतले ३२ हजार ३८१ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचन मतपरिणामलाई विश्लेषण गर्ने हो भने सांगठनिक रूपमा नेपाली काँग्रेस बलियो देखिन्छ ।
सो निर्वाचनमा काँग्रेसले समानुपातिकतर्फ २० हजार ४८६ मत प्राप्त गरेको थियो । दोस्रोमा एमालेले १७ हजार ६७१ मत प्राप्त गर्दा तत्कालीन माओवादीले १३ हजार ५७१ मत प्राप्त गरेको छ । २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ बस्नेतले ३४ हजार १५१ मत प्राप्त गरेको देखिन्छ । गएको निर्वाचनमा माओवादीले काँग्रेस र एमाले विभाजनपछि बनेको समाजवादी लगायतका पाँच दलसँग गठबन्धन गरेको थियो ।
उक्त गठबन्धनको सामना एमालेले एक्लै गरेको थियो । एमालेका तर्फबाट उम्मेदवार रहेका निरजप्रसाद आचार्यले प्रत्यक्षतर्फ २५ हजार १२० मत प्राप्त गरेका थिए । २०७९ मा पनि काँग्रेसले सांगठनिक भोटमा सुधार गरेको छ । २०७४ को तुलनामा झण्डै दुई हजार सांगठनिक भोट बटुलेको काँग्रेस २२ हजार ९३४ मतका साथ पहिलो स्थानमा छ । यस्तै दुई हजार सांगठनिक भोट बढ्दा गएको निर्वाचनसम्म आइपुग्दा एमालेका १९ हजार ७४९ समानुपातिक भोट छन् ।
२०७४ को तुलनामा झण्डै एक हजारले सांगठनिक भोट बढ्दा जाजरकोटमा १४ हजार ४१२ समानुपातिक मतसहित तेस्रो स्थानमा तत्कालीन माओवादी हालको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) छ । प्रचण्ड नेतृत्वको माओवादीमा मिसिएको समाजवादीको भोट जाजरकोटमा ७८६ रहेको थियो ।
यसपटक दलहरू गठबन्धनबिनै चुनावमा होमिँदा मुख्य प्रतिस्पर्धी काँग्रेस–एमालेबीच हुने देखिन्छ । जसले सांगठनिक मतमा कमजोर बस्नेतको यसपटकको संसद यात्रा रोकिन सक्छ । गएको निर्वाचनबाट अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जाजरकोटमा सांगठनिक भोट ५९४ रहेको थियो ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्ने हो भने जाजरकोटमा एमालेको मत धेरै छ । स्थानीय तहमा एमालेले २४ हजार ४०० मत पाउँदा काँग्रेसले २२ हजार ३४२, तत्कालीन माओवादी केन्द्रले १८ हजार ६२२ र समाजवादीले दुई हजार २३४ मत पाएको देखिन्छ । यो मत परिणाम हेर्दा आगामी निर्वाचनका धेरै नयाँ दलबाट उम्मेदवार हँुदा सबै दलका भोट घट्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्