विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्न साेमबार निर्देशन दिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले बजेट प्रगति न्यून भएकाले कार्यस्थलमै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिए ।
मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिए । उनले भने, “एउटै काम पनि घनचक्करजस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त्य हुनुपर्छ ।”उनले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गरे ।
कर्मचारी, राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठीक ढङ्गले बुझ्न नसक्दा पनि समस्या भएको उनको भनाइ छ ।मुख्यमन्त्री कार्कीले यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने दाबी गर्दै प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताए ।
यातायातको अधिकार प्रदेशमा भएको तर यहाँको यातायातबाट उठेको जरिवाना केन्द्र सरकारले लैजाने गरेको उनले बताए ।बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए। रासस








प्रतिक्रिया दिनुहोस्