सर्वाधिक नाफा गर्ने शीर्ष स्थानमा नबिल बैंक



काठमाडौँ ।

चालू आर्थिक वर्ष दोस्रो त्रैमासमा नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रूपैयाँ खुद नाफा गरेको छ । यो नाफा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको तुलनामा सबैभन्दा धेरै हो । चालू आव २०८२–०८३ पुससम्म नबिलको नाफा गत आव सोही अवधिको तुलनामा ४६.७ प्रतिशतले वृद्ध भएको हो ।

गत आव सोही अवधिमा नबिलले ३ अर्ब २४ करोड ४२ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । चालू आव दोस्रो त्रैमासमा न्यून ब्याजदरका कारण बैंकको ब्याज खर्चभन्दा आम्दानी बढेको छ । सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८ करोड पुगेको छ । गत आव सोही अवधिमा खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड थियो ।

चालू आवको ब्याज आम्दानी र खर्च गत आवभन्दा थोरै भए पनि न्यून ब्याजदरका कारण बैंकको खुद ब्याज आम्दानी बढेको हो । त्यसैगरी चालू आव सोही अवधिमा बैंकको फि कमिसन र व्यापारिक आम्दानी पनि बढेर १ अर्ब ६१ करोड पुगेको छ । त्यसैगरी ट्रेडिङ आम्दानी ४६ करोड ४३ लाख छ । यी दुवै शीर्षकको नाफा गत आव सोही अवधिको तुलनामा बढेको हो ।

गत आव पुससम्म नबिलको खुद फि एन्ड कमिसन आम्दानी १ अर्ब ५१ करोड र ट्रेडिङ आम्दानी ३४ करोड २६ लाख थियो । विगतका वर्षमा कर्जा नोक्सानी व्यवस्था गर्नुपरेकोमा चालू आवको असुलीमा सुधार भएको देखिएको छ । बैंकको कर्जा डिफल्ट दर घटेर नोक्सानी व्यवस्था गर्नुपरेको छैन भने विगतको नोक्सानी व्यवस्थाबाट ४ करोड ८८ लाख रूपैयाँ फिर्ता भएको छ । तर, गत आव सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड रूपैयाँ कर्जा नोक्सानी गर्नुपरेको थियो ।

चालू आव दोस्रो त्रैमाससम्म बैंकले ५ खर्ब ६६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी ४ खर्ब ७४ अर्ब पुगेको छ । गत आव सोही अवधिको तुलनामा बैंकको कर्जा लगानी ४ खर्ब १० अर्ब थियो । चालू आव दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड रूपैयाँ छ । गत आव सोही अवधिमा यस्तो नाफा १ अर्ब ८९ करोडमात्र थियो ।

चालू आव पुससम्म बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३५ रूपैयाँ ४ पैसा पुगेको छ । गत आव २४ रूपैयाँ ५ पैसा थियो । त्यसैगरी प्रतिसेयर किताबी मूल्य २ सय ३५ रूपैयाँ ६४ पैसा छ । सोही अवधिमा बैंकको कस्ट अफ फन्ड ३.६२ प्रतिशत छ भने खराब कर्जा अनुपात ०.८८ प्रतिशत मात्रै छ ।

गत आव दोस्रो त्रैमासमा नबिल बैंकको खराब कर्जा अनुपात ४.९३ प्रतिशत थियो । चालू आव दोस्रो त्रैमासमा बैंकको आधार ब्याजदर ५.०४ प्रतिशत छ भने कर्जा निक्षेपको ब्याजदर अन्तर ३.५४ छ । बैंकको रिटर्न अन इक्विटी १४.५४ प्रतिशत छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार