काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेसँग दक्षिण कोरियाको ग्वाङ्जुमा अवस्थित नेपालका अवैतनिक वाणिज्यदूत सुन–ह्युन जिओनले शिष्टाचार भेट गरेका छन् । नेपाली राजदूतावास, सउलमा सम्पन्न उक्त भेटमा नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा आर्थिक साझेदारीका विविध पक्षमा विस्तृत र अर्थपूर्ण छलफल भएको त्यहाँस्थित दूतावासले जनाएको छ ।

भेटमा राजदूत तुम्बाहाम्फेले नेपालमा कोरियाली लगानी भित्र्याउनु दूतावासको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभएको थियो । उनले नेपाली उत्पादनलाई कोरियाली बजारमा प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको, हाल नेपाल लगानीयोग्य मुलुकका रूपमा अघि बढिरहेको र सरकारले लगानीमैत्री वातावरण सृजना गर्न नीतिगत तथा प्रक्रियागत सुधारलाई सरल र सहज बनाइरहेको हुँदा यी विषयहरू आफ्नो कन्सुलर क्षेत्रभित्रका सम्भावित लगानीकर्तालाई अवगत गराउन आग्रह गरिन् ।
छलफलका क्रममा दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे पनि गहन छलफल भएको थियो । विशेषगरी ग्वाङ्जु क्षेत्रमा रहेका नेपाली विद्यार्थीका लागि बीमालगायतका सामाजिक सुरक्षासम्बन्धी सेवाहरू कसरी अझ सहज, सरल, किफायती र पहुँचयोग्य बनाउन सकिन्छ भन्ने विषयमा राजदूत तुम्बाहाम्फेले अवैतनिक वाणिज्यदूतसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन् । साथै, कोरियामा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण तथा समस्या समाधानमा राजदूतावास र अवैतनिक वाणिज्यदूतबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्