गणेश रावत । कोहलपुर ।
कुनै समय कोहलपुर नगरपालिकालाई बिरुवा संरक्षण गर्न मुख्य चुनौतीका रूपमा छाडा पशुचौपाया बन्ने गरेका थिए । त्यसबाट बिरुवा जोगाउन नगरपालिकाले नगर प्रहरी खटाउनेदेखि छाडा पशुचौपाया गौशालामा व्यवस्थापन समेत ग¥यो । तर, पछिल्लो केही समययता मानिसहरूबाट बिरुवा असुरक्षित बन्दै गएका छन् । जसका कारण महिना दिनको फरक समयमा बिरुवाहरू मानिसबाट भाँचिने कार्य भइरहेका छन् । आजका दिनसम्म मानिसबाटै नगरपालिकाको क्षेत्रभित्र रोपिएका १७ वटा बिरुवा क्षति पुगेको कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।
आइतबार रातिमात्रै कोहलपुर नगरपालिका–११ साझा चोकस्थित फुटपाथमा रोपिएका कोनोकार्पसका बिरुवा मदिरा सेवन गरेका तीनजना युवाहरूले भाँचेको उनले मिसन टुडेलाई बताए । आइतबार राति ११ः२५ बजेको समयमा मदिरा सेवन गरेका तीनजना युवाहरूले फुटपाथमा रोपिएका आठवटा बिरुवा काम नलाग्ने गरेर भाँचेको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आइतबार राति नै बिरुवा भाँच्ने कार्यमा संलग्न मुगु छायानाथ रारा नगरपालिका–७ का २५ वर्षीय ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको छ । उनलाई आइतबार राति साझा चोकस्थित बिरुवा भाँचिरहेकै ठाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बिरुवा भाँच्ने अन्य दुईजना भने फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्मरकुमार चक्रपालले जानकारी दिए । त्यसमध्येका एक जाजरकोटका गोविन्द्रबहादुर खड्का र अर्का एक व्यक्तिको भने परिचय खुल्न बाँकी रहेको उनले मिसन टुडेलाई जानकारी दिए । पक्राउ परेका शाहीलाई आपराधिक उपद्रो मुद्दामा म्याद थपका लागि बाँके जिल्ला अदालत पठाइएको छ । अन्य दुई जनाको खोजीकार्य भने जारी रहेको प्रहरीले जनाएको छ ।
पसलअघि हुर्किएका कलिला बिरुवा काटिएर नष्ट हुँदा शून्यता छाएको स्थानीय दया काफ्लेले बताइन् । ‘बिरुवाले बजारको शोभा बढाएका थिए,’ उनले भनिन्, ‘बिरुवा काटिँदा बजारको शोभा र पसलमा शून्यता छाएको महसुस भइरहेको छ ।’ बिरुवा काट्नेलाई कारबाही गर्नुका साथै नयाँ बिरुवा रोप्नुपर्ने उनी बताउँछिन् ।
यसअघि पनि कोहलपुर नगरपालिका–१० रामनगरस्थित कोहलपुर–नेपालगन्ज सडकखण्डको बीचभागमा रहेको ग्रीनबेल्टमा हुर्किएका पाँचवटा समीका बिरुवा काटिएका थिए । रामनगरकै स्थानीय लक्ष्मीप्रसाद भुसालले नगरपालिकाले गाई बाँध्न नदिएको झोकमा राति बिरुवा काटेका थिए ।
उनलाई प्रहरीले प्रकाउ गरेर आपराधिक उपद्रो मुद्दासमेत चलाएको थियो । पछि अदालतले उनलाई ५० हजार रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यस्तै यसअघि कोहलपुर न्यूरोडस्थित खुलामैदानमा लगाइएका चारवटा बिरुवासमेत भाँचिएका थिए । बिरुवाको क्षति गर्ने जुनसुकै व्यक्तिलाई नगरपालिकाले कानुनी दायरामा ल्याउने बताएको छ । हरित नगर अभियानलाई सफल पार्न र बिरुवाको संरक्षण गर्न नगरपालिकाले स्थानीयका साथै सरोकारवाला सबैको सहयोग मागेको छ ।









प्रतिक्रिया दिनुहोस्