सुर्खेत ।
कर्णाली प्रदेशबाट एकै वर्षमा २८ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा २८ हजार बढीले श्रम स्वीकृति लिएका हुन् । कर्णाली प्रदेशबाट नयाँ श्रम स्वीकृति लिई तथा पुनः श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीमा जानेको कूल सङ्ख्या २८ हजार ५८ पुगेको विभागले जनाएको छ ।
यो सङ्ख्या आर्थिक वर्ष ०८०–८१ को तुलनामा ११.८७ प्रतिशतले बढी रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले देखाएको हो । उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीका लागि प्रदान गरिएको कूल श्रम स्वीकृतिमध्ये कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत रहेको छ । यस अवधिमा नयाँ श्रम स्वीकृति लिई विदेसिनेको सङ्ख्या २० हजार ८८६ रहेको छ । जुन त्यसअघिको वर्षको तुलनामा १६.०६ प्रतिशतले बढी हो ।
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिएर जाने गरेको पाइएको छ भने केहीले विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गरी स्वरोजगारमा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ । जिल्लागत तथ्यांकअनुसार सल्यान जिल्लाबाट सबैभन्दा बढी पाँच हजार २६१ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । भने पुनः श्रम स्वीकृतिसहित कूल सात हजार ५८७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
त्यसैगरी सुर्खेतबाट चार हजार ४८८ जना नयाँसहित कूल ६ हजार ३८७ जना पुगेका छन् भने दैलेखबाट तीन हजार २२९ जना नयाँसहित कूल चार हजार २८८ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ । रूकुम पश्चिमबाट नयाँ दुई हजार ६७ सहित कूल दुई हजार ८५९ जना, जाजरकोटबाट दुई हजार ५४ नयाँसहित कूल दुई हजार ५१८ जना वैदेशिक रोजगारीमा गएका छन् । यस्तै कालीकोटबाट ८४४ नयाँसहित कूल एक हजार २५ र जुम्लाबाट एक हजार ४७ नयाँसहित कूल एक हजार २५५ जना वैदेशिक रोजगारीमा गएका हुन् ।
डोल्पा, मुगु र हुम्ला जस्ता हिमाली जिल्लाहरूबाट भने अन्य जिल्लाको तुलनामा कम सङ्ख्यामा वैदेशिक रोजगारीमा गएको प्रतिवेदनले देखाएको छ । डोल्पाबाट नयाँ श्रम स्वीकृति लिई जानेको सङ्ख्या ६०९ सहित कूल ६८८ रहेको छ भने मुगुबाट नयाँ ६१५ सहित कूल ६८६ जनाले श्रम स्वीकृति लिएका छन् । हुम्लाबाट नयाँ श्रम स्वीकृति लिई जानेको सङ्ख्या ६७२ सहित कूल ७६५ जना रहेको उल्लेख छ ।
कर्णालीका अधिकांश नागरिकहरू मौसमी रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने चलन छ । गाउँमा खेती लगाउने, चाडपर्वमा फर्कने र भारतमा रोजगारी गर्ने ‘मुग्लानिया’ परम्परा कर्णालीको विगतदेखिकै चलन हो । तर पछिल्लो समय तेस्रो मुलुक जानेहरूको सङ्ख्यामा पनि उत्तिकै वृद्धि हुँदै गएको छ ।









प्रतिक्रिया दिनुहोस्