मानव अधिकार संरक्षणमा सरोकारवालाको जोड



सुर्खेत ।

राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेतले आयोगको २६औँ वार्षिकोत्सवको अवसरमा बुधबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकारको संरक्षण, प्रवद्र्धन तथा नागरिक अधिकार सुनिश्चित गर्न राज्यका निकाय, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

सहभागीहरूले संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्दै मानव अधिकारमैत्री समाज निर्माणमा सबै पक्षको साझा भूमिका रहने बताएका थिए । आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले मानव अधिकार उल्लंघनका घटनाप्रति संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा अझै पनि शिक्षा, स्वास्थ्य, महिला अधिकार तथा सामाजिक न्यायका सवाल चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको उनले बताए । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत मानव अधिकारमैत्री समाज निर्माण गर्नुपर्ने बताए ।

कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने बताए । कर्णाली प्रदेशसभाका सचिव डा. अर्जुनबहादुर खड्काले मानव अधिकार संरक्षण र संवद्र्धनमा आयोग प्रतिबद्ध रहेको भन्दै सामूहिक पहलबाट मात्र मानव अधिकारको संरक्षण हुने बताए ।

शुभकामना आदान–प्रदान कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, अधिकारकर्मी तथा नागरिक समाजका व्यक्तिहरूको सहभागिता रहेको थियो । आयोगले आफ्नो स्थापना दिवसका अवसरमा मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ ।

शुभकामना व्यक्त गर्ने क्रममा सरोकारवाला निकायले आयोगले गरेका काम कारबाहीको समीक्षा गर्दै विभिन्न सुझाव तथा आगामी दिनहरूमा आयोगले खेल्नुपर्ने भूमिकाबारे आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा मानव अधिकार अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले सहभागीहरूलाई स्वागत एवं कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनको प्रस्तुतिपछि सहभागीहरूले आयोगले सम्पादन गरेका कार्य सन्तोषजनक रहेको र आगामी दिनमा आयोगले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने सुझाव दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार