नन्दराम जैशी । सुर्खेत ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशमा युवा मतदाता बढ्दै गएका छन् । यसअघि मतदाता नामावलीमा नाम दर्ता नगरेका र मतदाता बन्न योग्य युवाहरूले पछिल्लो समय धमाधम नाम दर्ता गरेका छन् । नयाँ नाम दर्ता गर्न आउने मतदाताहरूमा ५० प्रतिशत बढी युवाहरू नै रहेको पाइन्छ । कर्णालीका १० वटै जिल्लामा नाम दर्ता गर्नेहरूको सङ्ख्यामा युवाहरू बढी रहेको जिल्लास्थित निर्वाचन कार्यालयहरूले जनाएका छन् ।
सुर्खेतमा दुई हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार आगामी फागुनमा हुने निर्वाचनका लागि सुर्खेतमा दुुई हजार ७८४ नयाँ मतदाता थपिएका हुन् । मतदाता नामावली अद्यावधिक गर्ने युवा मतदाता सङ्ख्या बढेको उनले बताए । नयाँ दर्ता भएका दुुई हजार ७८४ मतदाताहरू निर्वाचन घोषणा गरिएपछि कार्यालयमा आएर नामावली दर्ता गराउनेहरूको सङ्ख्या हो ।
निर्वाचन अधिकृत गुरुङका अनुसार नयाँ मतदाताहरूमध्ये पुरुष एक हजार ६७० र महिला एक हजार ११४ जना रहेका छन् । सुर्खेतमा यसअघिको मतदाता नामावलीमा कूल दुुई लाख ४४ हजार ७१४ मतदाता थिए । तीमध्ये पुरुष १ लाख १९ हजार ३९१ र महिला १ लाख २५ हजार ३२३ जना थिए । प्रदेशभरीको साविकको कूल मतदाता सङ्ख्या १० लाख ६ हजार ८७२ रहेको छ । अन्य जिल्लाहरूबाट भने अद्यावधिक तथ्यांक आउन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
जुम्लामा ८४९ मतदाता थपिए
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८४९ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ५० प्रतिशत हाराहारीमा युवापुस्ता नै रहेका छन् । निमित्त कार्यालय प्रमुख नारायणी आचार्यले मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले शुक्रबारसम्म समय तोकेपनि दर्ता गर्न आउनेक्रम बाँकी र जारी नै रहेको बताइन् ।
अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरिएकाले जुम्लामा बिहीबारसम्म ८४९ मतदाता थपिएको उनले बताइन् । जसमध्ये महिला ३७३ र पुरुष ४७६ रहेका छन् । बाहिरी जिल्लाका ९७ जनाले जिल्लाबाट नयाँ मतदाताका रूपमा नाम दर्ता गरेको कार्यालयले जनाएको छ । जुम्लामा नयाँ मतदाता थपिनुअघिको कूल मतदाता सङ्ख्या ६७ हजार ७३६ रहेको छ । जसमा पुरुष ३५ हजार २७५ र महिला ३२ हजार ४६१ रहेका छन् ।
यस्तै जुम्लामा हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप गर्न तथा तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्नका लागि केन्द्रिय निर्वाचन आयोगमा सिफारिस गरिएको छ । एक नगरपालिकासहित आठ स्थानीय तह रहेको जुम्लामा जिल्लाभरि ७९ मतदानस्थल र १०२ मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको छ ।
निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली संकलन गर्दै आएको छ । मतदाता नामावली संकलनको म्याद कात्तिक मसान्तसम्म रहेपनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्