बिरामीको चाप हुँदा सेतीमा सेवा प्रवाहमा समस्या



शेरबहादुर ऐर । कैलाली ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । बिरामीको चापअनुसार संरचना अभाव र जनशक्ति अभाव हुँदा समस्या देखिएको अस्पताल प्रशासनको भनाइ छ । ‘टिकट काउण्टरलाई व्यवस्थित बनाउने योजना ठाउँ अभावका कारण पूरा हुन सकेको छैन्,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले भने, ‘जसका कारण बिहानैदेखि टिकट काट्नै लाइनमा बस्नुपर्ने बाध्यता छ, अन्य सेवामा पनि त्यही हालत हो ।’

आमाको उपचारका लागि सेती अस्पताल पुगेका बझाङको केदारस्युँ गाउँपालिका–३ का रमेश धामीले ओपिडीमा लाइन नपाउँदा तीन दिन कुर्नुपरेको बताए । तीन दिनपछि पनि बिहान ७ बजे लाइनमा बस्दासमेत दुई घण्टापछि मात्रै पालो पाएको उनले बताए । ‘निजी अस्पतालमा उपचार धेरै महंगो छ,’ उनले भने, ‘सेतीमा टिकट काट्दै दुई तीन दिन लाग्छ, यसले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा पाउन धेरै समस्या भएको छ ।’

रमेशको जस्तै समस्या सेती प्रादेशिक अस्पतालमा आउने हरेक सेवाग्राहीले वर्षौँदेखि भोग्दै आएका छन् । ८३ वर्षअघि स्थापना भएको यो अस्पतालले समयसँगै नाम फे¥यो– जिल्ला अस्पतालबाट अञ्चल र अञ्चलबाट अहिले प्रादेशिक अस्पताल । अस्पताल परिसरमा करोडौँको लगानीमा चिल्लो र आधुनिक भवन पनि ठडियो । बिरामीले पाउने सेवा र भोग्नुपर्ने सास्ती भने उस्तै छ ।

‘नेताहरू आउँछन्, चिल्ला गाडीमा अस्पताल घुम्छन्, भाषण गर्छन् र जान्छन् । हाम्रो दुःख कसैले देख्दैन,’ कैलारी गाउँपालिका–३ का हरिराम चौधरीले भने, ‘भवन नयाँ भएर के गर्नु ? भित्रको व्यवस्था र हाम्रो पीडा उस्तै पुरानो छ ।’ सेती प्रादेशिक अस्पताल राजनीतिक दल र नेताहरूका लागि आश्वासनको खेती गर्ने एउटा थलोका रूपमा विकास हुँदै गएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यो अस्पतालको पटकपटक निरीक्षण गर्दै स्तरोन्नतिको आश्वासन दिँदै आएका छन् ।

२०८० सालमा शाहले आफ्ना मन्त्रीहरूको जम्बो टोलीसहित अस्पतालको अनुगमन गरेका थिए । ओपिडी र फार्मेसीको लाइनमा उभिएका बिरामीहरूसँग कुरा गरेपछि उनले भनेका थिए, ‘तीन महिनामा सेती अस्पतालमा देखिने गरी परिवर्तन आउनेछ । सुधारको प्रक्रिया यहीँबाट सुरु हुन्छ ।’ यतिका समय बितिसक्दा पनि अस्पतालमा पाउनुपर्ने सेवा र सास्तीमा कुनै परिवर्तन आउन नसकेको सेवाग्राहीहरूको गुनासो छ । प्रदेशसभाको अघिल्लो कार्यकालमा प्रदेश सरकारले अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

यद्यपि सो निर्णय कार्यान्वयन भएन । संघीयतापश्चात् पहिलोपटक गठन भएको सुदूरपश्चिम सरकारको पहिलो सामाजिक विकासमन्त्री दीर्घ सोडारीले त यसलाई पाँच सय शय्याको सुविधासम्पन्न अस्पताल बनाउने महत्त्वाकांक्षी सपना बाँडेका थिए, जुन सपना पूरा हुन सकेन् । चुनावी मैदानमा सेती अस्पतालको स्तरोन्नति एक प्रमुख नारा बन्ने गरेको छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना र नेपाली काँग्रेसकी आरजु राणाले यसको मुहार फेर्ने प्रतिबद्धता जनाएका थिए । चुनावमा राना विजयी भए ।

उनको पाँचवर्षे कार्यकालमा अस्पतालको स्तरोन्नतिमा कुनै ठोस काम भएन । २०७९ को चुनावमा उनै रानालाई पराजित गरेका नेपाली काँग्रेसका डिल्लीराज पन्तले पनि स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योजनासहित काम गर्ने बताए तर, वर्षौँदेखि खोक्रा आश्वासन मात्रै सुनेका सुदूरपश्चिमवासीले अब नेताका कुरामा विश्वास गर्न छाडिसके । ‘४० वर्षदेखि स्तरोन्नतिको कुरामात्रै सुनियो, काम कहिल्यै भएन ।

अहिले सेवा सुविधामा थप भए पनि त्यो सेवा पाउन सहज कहिल्यै भएन,’ कैलालीको गोदावरी निवासी दीपिका विकले भनिन् । अस्पताल परिसरमा ठडिएको अधुरो एउटा भवन छ । संघीय सरकारको करिब १९ करोड रूपैयाँको लगानीमा २०७४ साल कात्तिक २८ गते निर्माण सुरु भएको यो भवन २०७७ साल वैशाखभित्रै सम्पन्न हुनुपर्ने थियो, तर अहिलेसम्म यो भवन निर्माण सम्पन्न भएको छैन् । निर्माण कम्पनी रविना–थेगिम जेभीले पटकपटक म्याद थप्दै र सामान्य जरिवाना तिर्दै काम टार्दै आएको छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार यही अधुरो भवनका कारण अस्पतालले आफ्ना सेवा विस्तार गर्न सकेको छैन । ‘यदि यो भवन समयमै बनेको भए आज हामीले धेरै नयाँ र विशिष्टिकृत सेवा सुरु गर्न सक्थ्यौँ । तर, संरचनाकै अभावमा हामीले हात बाँधेर बस्नुपरेको छ,’ उनले भने ।

जेनतेन यही निर्माणाधीन भवनबाट ओपिडी, भिडिओ एक्स–रे, सिटी स्क्यानजस्ता सेवाहरू सञ्चालन गरिए पनि स्थान अभावले बिरामीहरूले थप सास्ती भोग्नुपरेको छ । अस्पतालको अर्को प्रमुख समस्या जनशक्तिको चरम अभाव हो । स्वीकृत ५० शय्याको दरबन्दी भए पनि अस्पतालले आन्तरिक स्रोतबाट ७५ शय्या थपेर १२५ शय्या सञ्चालन गरिरहेको छ । तर, सोहीअनुसार चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको दरबन्दी थपिएको छैन । दरबन्दीअनुसारका चिकित्सकसमेत कहिल्यै पदपूर्ति हुँदैनन् ।

भएका केही विशेषज्ञ चिकित्सकलाई पनि संघीय सरकारले गेटा मेडिकल कलेजमा सरुवा गरिदिँदा सेवा थप प्रभावित बनेको छ । अल्ट्रासाउन्डजस्तो सामान्य सेवाका लागि पनि हप्तौँ कुर्नुपर्ने बाध्यता छ । डोटीका केशरीसिंह बिष्ट छोरीको अल्ट्रासाउन्ड गराउन एक सातादेखि धनगढीमा बसिरहेका छन् । अझै पालो पाएका छैनन् ।

‘हामीजस्ता गरिब बिरामीको पीडा कसले बुझ्ने ? निजीमा गएर हजारौँ तिर्न सकिँदैन, यहाँ पालो कहिल्यै आउँदैन,’ उनले प्रश्न गरे । यता, प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का भने प्रदेश अस्पतालको सेवा पहिलाको भन्दा धेरै सुधार भएको दाबी गर्छन् । ‘बिरामीको चाप अत्यधिक छ, त्यसैले केही भिडभाड देखिनु स्वाभाविक हो ।’

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार