कोहलपुरमा फेरी देखिन थाले छाडा पशुचौपाया



गणेश रावत । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा पछिल्लो समय छाडा पशुचौपाया देखिन थालेका छन् । गतवर्षदेखि नगरपालिकाले छाडा पशुचौयापा व्यवस्थापन गर्न थालेपछि केही समय देखिन छोडेका पशुचौपाया फेरि देखिन थालेका हुन् । नगरपालिकाले गतवर्षको साउनदेखि राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धामसँग सहकार्य गरेर छाडा पशुचौपायाको व्यवस्थापन गर्न थालेको थियो । त्यसको केही समय कोहलपुरको बजार क्षेत्रका साथै राजमार्गमा छाडा पशुचौपाया देखिन छोडेका थिए ।

तर, केही महिना यता कोहलपुरका मुख्य चोक र राजमार्गमा छाडा पशुचौपाया पुनः देखिन थालेका छन् । छिमेकी पालिका र कोहलपुरका केही व्यक्तिहरूले दुध दिन छाड्नसाथ पशुलाई छाडा छाड्ने प्रवृत्तिले बजारमा फेरि छाडा पशुचौपाया देखिन थालेको कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।

‘हामीले विगतदेखि छाडा पशुचौपाया संकलन गरेर राप्ती सोनारीमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा व्यवस्थापन गर्ने गरेका छौँ,’ उनले मिसन टुडेसँग भने ‘अहिले पुनः देखिन थालेका छन् । अबको केही दिनमा व्यवस्थापन गर्छाैँ ।’ गतवर्षदेखि नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गरिरहेको र जेनजी आन्दोलनका कारण नगरपालिका पुनः निर्माणमा जुटेकाले व्यवस्थापन गर्न केही ढिलाइ भएको उनले स्वीकार गरे ।

राप्ती सोनारी गाउँपालिका– २ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा यसअघि पनि छाडा पशुचौपाया व्यवस्थापन गरिरहेको बताउँदै उनले अबको केहीदिनमा पुनः बजारमा देखिएका पशुचौपायाको व्यवस्थापन गरिने मिसन टुडेलाई जानकारी दिए ।
अहिलेसम्म पटकपटक गरेर नगरपालिकाले २ सय ७० वटा छाडा पशुचौपायाको मंगल राधिका सदानन्द गौ सेवा धाममा लगेर व्यवस्थापन गरेको नगर प्रमुख थापाको भनाइ छ ।

कोहलपुर नगरपालिकाका राजमार्ग र सडकखण्डहरूमा यत्रतत्र भेटिने पशुचौपाया संकलन गरेर धाममा पु¥याउने काम गरेको उनले बताए । स्थानीयले गाईले दूध दिउन्जेल पाल्ने र दूध दिन छाड्नासाथ छाडा छाड्ने प्रवृत्तिका कारण बेलाबेलामा यस्तो समस्या देखिने गरेको छ । अर्काेतर्फ छिमेकी पालिकाबाट समेत कोहलपुरमा छाडा पशुचौपाया आउने गरेको उनले बताए ।

उनका अनुसार छुटपुट भेटिएका छाडा पशुचौपाया नजिकै रहेको कोहलपुर गौशालामा व्यवस्थापन गर्ने र धेरै भए गाडीमा लगेर राप्ती सोनारी मंगल राधिका सदानन्द गौ सेवा धाममा व्यवस्थापन गरिने उनले बताए । अहिले नगरपालिकाले छाडा पशुचौपायाकोे व्यवस्थापन गर्न थाले पश्चात दुर्घटना कम हुनुका साथै बिरूवा संरक्षण गर्न सहज भएको उनको भनाइ छ । छाडा पशुचौपाया कोहलपुरको मात्रै नभई अन्य ठाउँहरूमा पनि व्यवस्थापनका लागि चुनौती बन्ने गरेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार