शेरबहादुर ऐर । कैलाली ।
कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यस वर्ष हिउँदे बालीका लागि रासायनिक मल अभाव नहुने दावी गरेका छन्। किसानले मल अभाव हुन सक्ने आशंका गरिरहेका बेला हिउँदे बालीका लागि डिएपी र युरियाको अभाव हुने अवस्था नरहेको कृषि सामाग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । बोगटीका अनुसार कृषि समाग्री केन्द्र लिमिटेड धनगढीलाई चालू आर्थिक वर्ष २०८२–०८३ का लागि १० हजार ६ सय मेट्रिक टन युरिया तथा ७ हजार ८ सय मेट्रिक टन डिएपी बेच्ने कोटा निर्धारण गरिएको छ ।
जसमध्ये आइतबारसम्म दुई हजार ८ सय ४५ मेट्रिक टन युरिया तथा ४ हजार ८ सय ४४ मेट्रिक टन डिएपी मल वितरण भइसकेको उनले बताए । ‘थप मल आउने क्रम जारी छ’ कार्यालय प्रमुख बोगटीले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसनबाट पनि मल वितरण भइरहेको छ, त्यसैले मल अभाव हुँदैन भन्ने हाम्रो अनुमान हो, किसानलाई नआत्तिन आग्रह गर्दछौँ ।’ तत्कालका लागि किसानलाई डिएपी मल आवश्यक पर्ने बताउँदै बोगटीले डिएपीको कुनै अभाव नरहेको बताए । ‘युरिया गहुँ सिँचाइपछि बढी आवश्यक पर्छ,’ बोगटीले भने, ‘तत्काल डिएपी आवश्यक पर्ने हो, अहिले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामाग्री केन्द्र लिमिटेडबाट गरी करिब ८ हजार मेट्रिक टन डिएपी किसानसम्म पुगिसकेको अवस्था छ र अझै वितरण भइरहेका कारण समस्या हुने अवस्था छैन् ।’
साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवरले युरिया पुगिनसकेको भए पनि डिएपी प्रर्याप्त रहेको बताए । कुँवरका अनुसार साउनदेखि हालसम्म साल्ट टेडिङ कर्पोरेसन लिमिटेड धनगढी कार्यालयले एक हजार ४ सय १६ मेट्रिक टन युरिया, तीन हजार दुई सय १६ मेट्रिक टन डिएपी र १ सय ६१ मेट्रिक टन पोटास वितरण गरिसकेको उनले जानकारी दिए । साल्ट ट्रेडिङ कर्पोरेसनसँग अझै ३ सय ९६ मेट्रिक टन डिएपी तथा ४ सय २ मेट्रिक टन पोटास स्टक रहेको बोगटीले बताए ।
हाल युरिया भने भण्डारण नरहेको कुँवरको भनाइ छ । ‘तत्कालका लागि डिएपी आवश्यक पर्दछ’ कार्यालय प्रमुख कुँवरले भने, ‘साउनदेखि हालसम्म मल बिक्री गर्ने दुवै संस्थाले प्रर्याप्त वितरण भइसकेको अवस्था भएका कारण अभाव हुने देखिँदैन, दुवै संस्थासँग अझै स्टक रहेकाले किसानलाई ढुक्क हुन आग्रह गर्दछौँ ।’ उनले युरिया मल तत्काल स्टक नरहे पनि गहुँ सिँचाइ गर्ने समयसम्म भित्रिसक्ने जानकारी दिए । यसबाहेक साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले गैर अनुदानमूलक रासायनिक मल समेत बिक्री वितरण गर्दै आएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले डिएपीको विकल्पमा सिंगल सुपर फस्फेट (एसएसपी) र एमोनियम सल्फेट मल बिक्री गर्ने गरेको छ । साउनदेखि हालसम्म सिंगल सुपर फस्फेट ४ सय ७० मेट्रिक टन तथा ४२ मेट्रिक टन एमोनियम सल्फेट बिक्री गरेको कार्यालय प्रमुख कुँवरले बताए । कार्यालयसँग हाल ३ सय ८६ मेट्रिक टन सिंगल सुपर फस्फेट भण्डारण रहेको जनाइएको छ । एमोनियम सल्फेट भने हालका लागि भण्डारण रहेको छैन् ।
‘डिएपीको विकल्पमा सिंगल सुपर फस्फेट तथा युरियाको विकल्पमा एमोनियम सल्फे प्रयोग गर्न सकिन्छ,’ कार्यालय प्रमुख कुँवरले भने, ‘दुई वटै मल डिएपी र युरिया भन्दा बढी प्रभावकारी रहेका छन् ।’ केही दिन यता बजारमा रासायनिक मल अभाव रहेको भन्ने समाचार सामाग्री आइरहेको भएपनि अभावको अवस्था भने नरहेको उनले दावी गरे । ‘सबै स्थानमा सहकारी संस्थामार्फत धमाधम मल वितरण भइरहेको छ,’ कुँवरले भने, ‘त्यसैले आ–आफ्नो पायक पर्ने स्थानमा गएर किसानले मल लग्न सक्नुहुनेछ, अभाव हुँदैन ।’









प्रतिक्रिया दिनुहोस्