सुदूरपश्चिम प्रदेशसभा भवन मर्मत गरिँदै



शेरबहादुर ऐर । कैलाली ।

आगलागीबाट कुरुप बनेको सुदूरपश्चिम प्रदेशसभा सचिवालयको प्राङ्गण सरसफाइ भइरहेको छ । गेट मर्मत हुनुका साथै बैठक भवनभित्र नष्ट भएका फर्निचरहरू एक ठाउँ थुपारिएका छन् भने आगलागीबाट क्षति नभएका कुर्सी टेबललाई सुरक्षित राखिएको छ । गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । प्रदेशसभाको भवन उपयोग गर्न सकिने प्राविधिकहरूले सुझाएपछि सचिवालयलाई मर्मत गर्ने कार्य भइरहेको सचिवालयले जनाएको छ ।

‘अहिले सरसफाइ र बैठक भवनलाई पुरानै अवस्थामा ल्याउन सुरुवात गरिएको छ,’ प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने, ‘बैठक सुचारुका लागि गृहकार्य भइरहेको छ । यहाँ अहिले उपकरण तथा फर्निचरको व्यवस्थापनका लागि संघ–संस्था र प्र्रदेश सरकारसँग छलफल भइरहेको छ ।’ प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन पूर्णरूपमा भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।

उनले भने, ‘अहिले क्यामरा, फर्निचर, टिभीलगायत प्राविधिक सामाग्रीको व्यवस्थापनामा हामी जुटिरहेका छौँ । संघ–संस्था र प्रदेश सरकारसँग स्रोतको व्यवस्थापनका लागि छलफल भइरहेको छ । केही दिनमै यो विषयमा टुङगो लाग्ने छ ।’ उनले दुई–चार दिनमै बैठक कक्षलाई पुरानै अवस्थामा ल्याउने तयारी हुने बताए । उनले स–साना मर्मत कार्य भइरहेको बताए । सभाहल मर्मतमा ठूलो लगानी आवश्यक रहेकोले शहरी विकास कार्यालयलाई सहयोगका लागि अनुरोध गरिएको बताए ।

सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटपलगायत सम्पूर्ण सामान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्ने बताए । प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको छ । सचिवालयका अनुसार प्रदेशसभाका छ वटा चारपाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल आगजनीबाट नष्ट भएका छन् ।

करिब १२ करोड रूपैयाँको भौतिक क्षति भएको छ । प्रदेशसभा बैठक कक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका लागि मात्रै कम्तीमा ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले बताए । गत भदौ ५ मा प्रदेशसभा बैठक बसेको थियो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेशसभामा हाल चारवटा विधेयक विचाराधीन छन् । प्रदेशसभाको अधिवेशन अन्त्य भएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार