वडाध्यक्ष रिजालको बदमासीः नुक्लीपुरवासीको उठिबास गराउने गरि व्यक्तिको नाममा जग्गा सिफारिस



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिका १८ नम्बर वडाका वडाध्यक्ष भुवन रिजाल पुनः विवादमा तानिएका छन् । वडाध्यक्ष रिजालले १८ नम्बरको नुक्लीपुरमा वर्षौँदेखि जमिन उपभोग गर्दै आइरहेका स्थानीयको नाममा जग्गा सिफारिस नगरि कुनै एक व्यक्तिको नाममा जग्गा दर्ताका लागि सिफारिस गरेको पाइएपछि विवादमा तानिएका हुन् ।

वडाध्यक्ष रिजालले प्रलोभनमा परि टोल विकास समिति बैठकमा निर्णय नभएको विषयलाई आधार बनाउँदै गोदावरी नगरपालिका वडा नम्बर ५ बस्ने प्रद्युम्नराज पाण्डेसमेत ७ नम्बर फाँटवारीमा नाममा जग्गा दर्ता सिफारिसका लागि भूमिसुधार तथा मालपोत कार्यालयमा पठाएको पाइएको हो ।

यही असोज २३ गतेको सो सिफारिसमा भनिएको छ– ‘जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ५ बस्ने वारेश पदमबहादुर चन्द (प्रद्युम्नराज पाण्डे लगायतका वारेश)ले यस धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को सिट नम्बर १०९६ को कित्ता नम्बर क्रमशः १, २३ र १२ मा पर्ने सम्पूर्ण जग्गाहरू विक्रम संवत् १९९३ सालमा स्व. जनकराज पाण्डेले लालमोहरबाट प्राप्त विक्रम संवत् २०१९ सालमा काठमाडौँ दोस्रोे मालबाट रैकर प्रमाणित गराई विक्रम संवत् २०२१ सालमा जनकराज पाण्डेको नाति गोविन्दराज पाण्डेको छोरा प्रद्युम्नराज पाण्डेको नाममा ७ नम्बर फाँटवारी कायम भएको लगत साविक लगतलगायत कागजातका आधारमा सो धनगढी उपमनपा वडा नं. १८ भूपू सैनिक क्षेत्रको जग्गा छुट दर्ताको लागि श्री भूमिसुधार तथा मालपोत कार्यालय कैलालीलाई सिफारिस गरीपाउँ भनी यस वडा कार्यालयमा मिति २०८२–०५–०९ गते दिएको निवेदनबमोजिम यस कार्यालयबाट जग्गा दर्ताका लागि सिफारिस गरिएको छ ।’

नुक्लीपुरमा कृषि खेती गरिरहेका स्थानीयहरूले छलफलमा नउठेको विषयका आधारमा आफूहरूको उठिबास गराउने शैलीमा वडाध्यक्षले जानकारी नै नदिई व्यक्तिको नाममा जग्गाको सिफारिस गरेको बताउँछन् । स्थानीय जीवन ओलीका अनुसार विद्यालयमा बसेको छलफलमा कृषि क्षेत्र, खोला क्षेत्र र पर्यटन क्षेत्र छुट्याउने विषयमा छलफल भएको बताए । उनले भने, ‘स्थानीयहरूसँग छलफल नै नगरि वडाध्यक्षले एकल सिफारिस गरेका छन् । कसको प्रलोभनमा परि हो वा सो स्थानीयहरूको उठिबास गराउन खोजेको हो यो विषयमा स्पष्ट जानकारी छैन ।’

कार्यवाहक वडाध्यक्ष कृष्ण चौधरीले छुट दर्ताका लागि पुर्जा बनाउने भनी छलफल भएको बताए । उनले भने, ‘उजुरी नपरेको र कित्ता नम्बर १ को जग्गाको नेपाल सरकार, भूमि समस्या समाधान आयोगबाट तपसिल बमोजिमका मानिसहरूले भोगचलन गरेको भनी कित्ताकाटसमेत भइसकेको देखिएको र अन्य कित्ता नम्बर २३ र १२ को जग्गा खाली देखिएकोले वर्षौँदेखि भोगचलन गर्दै आइरहेका व्यक्तिहरूमा पुर्जा उपलब्ध गराउन अनुरोध भएको थियो ।’

एकल व्यक्तिको नाममा वर्षौँदेखि उपभोग गर्दै आइरहेका स्थानीयहरूको उठिबास हुने भएपछि सो विषयसँग सम्बन्धित कागजपत्रहरू अहिले वडा कार्यालयमा भेटिँदैन । सोही जग्गाको सिफारिस तत्कालीन वडाध्यक्ष मुरारी अधिकारीले एकल सिफारिस गर्ने कार्य गर्दा वडा कार्यालयमा तालाबन्दी भएको थियो । वडा कार्यालयका वडा सचिवसँग सो जग्गा सम्बन्धित कागजपत्र स्थानीयहरूले माग गर्दा गणेश बस्नेत रहेको बताए । तर, बिहान जानकारी पाएपछि बस्नेतसँग कागजपत्र माग्दा वडाध्यक्ष रिजालले लिएको प्रतिक्रिया पाएको बताए । उनले भने, ‘जग्गा विवाद विगतदेखि नै हो ।

त्योसँग सम्बन्धित सम्पूर्ण कागजपत्र सुरक्षित छन् । तर, अहिले वडाध्यक्ष रिजालले लिएको भन्नेबारे जानकारी पाएकोले एक दुई दिनमा सो कागजपत्रहरू उपलब्ध गराउने छौँ ।’ वडाध्यक्ष रिजालसँग सोही विषयमा सम्पर्क गर्दा आफू मालपोत रहेको जानकारी दिए । उनले भने, ‘अहिले धनगढी मालपोतमा छु । भोलि आएर छलफल गरौँला ।’ वडाध्यक्ष रिजालले सिफारिस गरेको जग्गामा ६५ परिवारहरू जोताहा गर्नेहरूको नाम उल्लेख छ । प्राप्त जानकारीअनुसार सो जग्गा नाममा गराइदिने नाममा सोही वडाको एक होटलमा रकम लेनदेन भएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार