राउटे समुदायलाई खाद्यान्न वितरण



सुर्खेत ।

राउटे समुदायलाई खाद्यान्न र सरसफाइ सामाग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालय दैलेखले सुर्खेतको लेखबेसी नगरपालिका–८ मा पुगेर खाद्यान्न तथा सरसफाइ सामाग्री वितरण गरेको हो । वितरण गरिएका सामाग्रीमहरूमा चामल ४० बोरा, खुर्सानी ४० केजी, नुन ४० केजी, नुहाउने साबुन ८० पिस, लुगा धुने साबुन ८० पिस, श्याम्पु ८० पिस र त्रिपाल ४० थान तथा लेखनपठनका लागि आवश्यक ट्याप १२ थान रहेका छन् ।

राउटेको दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरू वितरण गरिएको सामाजिक विकास कार्यालय दैलेखका प्रमुख लोकेन्द्रबहादुर बिष्टले बताए । उनका अनुसार यो सहयोगले राउटे समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै शिक्षा तथा स्वास्थ्यमा पहुँच विस्तार गर्ने अपेक्षा छ । सामाग्री हस्तान्तरण गर्दै कर्णाली सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले राउटे समुदायले गलत खानपिन त्याग्नुपर्ने बताए । राउटे समुदायलाई भोलि के खाने ? भन्ने चिन्ता नरहेको उल्लेख गर्दै सोहीअनुसार सहयोग पनि प्राप्त हुने भएकाले कारण उनीहरू मदिरा सेवन लगायतका थप गलत खानपिनमा लागेको उनको तर्क छ ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समिति सभापति पूर्णबहादुर खत्रीका अनुसार राउटे समुदाय न आधुनिक समाजमा फर्किन सकेका छन्, न त आफ्नो वास्तविक संस्कृतिमा नै छन् । पछिल्लो समय उनीहरूको गलत खानपिनले स्वास्थ्य अवस्था जोखिममा पर्दै गएको उनले बताए ।
साथै राउटे समुदायमा फैलिएको भाइरल ज्वरोको संक्रमण अझै कायम छ । सुरुमा दुई जनामात्रै बिरामी परेकोमा हालसम्म १०० जना बढीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । जसमा कतिपयलाई सञ्चो भइसकेको छ भने कतिपय अझै बिरामी अवस्थामा रहेको राउटे समुदायको उपचारका लागि खटिएकी स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् ।

उनका अनुसार राउटे समुदाय डेङ्गुलगायतका अन्य चेकजाँच गर्न मान्दैनन् । जसले गर्दा समुदायमै प्राथमिक उपचारमात्र गर्ने गरिएको उनले बताइन् । अन्य समस्या चेकजाँच गर्नका लागि राउटेहरू तयार नहुँदा समस्या भएको उनको भनाइ छ । यसैबीच राउटे समुदायको जनसङ्ख्या पनि निरन्तर घट्दो क्रममा छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनअनुसार २०७५ सालमा १४९ रहेको राउटेको जनसङ्ख्या घटेर हाल १३७ जनामा झरेको छ । यो समुदायको सङ्ख्या घट्नुका प्रमुख कारण बच्चादेखि वृद्धवृद्धासम्मले अत्यधिक मदिरा सेवन गर्नु रहेको छ ।

अत्यधिक मदिरा सेवनलगायत गलत खानपिन र उपचार नगर्ने सामाजिक मूल्य, मान्यता जस्ता अन्य कारण पनि छन् । राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय रहेको बताए । उनका अनुसार एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवतीहरू विवाह नगरेर बसेको अवस्था छ ।

अर्को परम्परा भनेको श्रीमान्को मृत्युपछि जतिसुकै उमेर समूहका महिला भएपनि एकल भएर बस्नुपर्ने बाध्यता छ । हाल एकल महिला मात्रै २३ जना छन् । तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरूले अर्को विवाह गर्न पाउँदैनन् । प्रजनन उमेरका महिलाहरू बच्चा जन्माउनै नपाएपछि जनसङ्ख्या पनि बढेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ३ गते सोमबार