३४० जनामा डेंगी संक्रमण, दुई जनाको ज्यान गयो



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण बढ्दै गएको छ । पछिल्लो समय डेंगी संक्रमितको सङ्ख्या ३४० जना पुगेको छ भने संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार यो तथ्यांक गएको वैशाखदेखि असोज मसान्तसम्मको हो । तथ्यांकअनुसार सबैभन्दा धेरै सुर्खेतमा २४८ जनामा डेंगी संक्रमण देखिएको छ । प्रदेश राजधानी भएकाले मानिसको बसोबास धेरै हुनु, सुविधासम्पन्न अस्पतालको पहुँचले पनि सुर्खेतमा यसको संक्रमण बढी देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जिल्लागत तथ्यांकअनुसार मुगुमा एक, जुम्लामा चार, कालीकोटमा आठ, दैलेखमा ५८, जाजरकोटमा चार, रूकुम पश्चिममा सात र सल्यानमा १० जनामा डेंगी सक्रमण पुष्टि भएको छ । यो तथ्यांक डेंगी पुष्टि भई कर्णाली प्रदेश अस्पताल र जिल्लास्थित अस्पतालमा उपचार गराएकाहरूको मात्रै हो । निजी स्वास्थ्य संस्थामा संक्रमण पुष्टि भएकाहरूको तथ्यांक निर्देशनालयसँग छैन । सरकारी अस्पतालमा आएकाहरूको मात्रै तथ्यांक संकलन हुने हुँदा समुदायस्तरमा डेंगीको वास्तविक अवस्था पत्ता लगाउन निकै चुनौती रहेको निर्देशनालयका फोकल पर्सन श्याम आचार्यले बताए ।

वर्षात्को समयमा डेंगी संक्रमणको जोखिम उच्च हुने उनको भनाइ छ । डेंगी सार्ने जातको लामखुट्टे बस्ने स्थानको वृद्धि हुँदै जाँदा विशेषगरी वीरेन्द्रनगर यसको रेडजोनमा पर्ने गरेको उनी बताउँछन् । ‘योसँगै डेंगी संक्रमण गराउने लामखुट्टेको जोखिम कर्णालीका १० वटै जिल्लामा रहेको छ । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने र खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ,’ उनले भने, ‘खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गर्नुहोस् । खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने र सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।’

हरेक वर्ष साउन महिनाबाट डेंगी संक्रमण क्रमशः वृद्धि हुँदै जाने भएकाले सुरुवाती चरणमै व्यापक प्रचारप्रसार गर्ने गरिएको उनले जानकारी दिए । उनका अनुसार समुदाय परिचालनमार्फत डेंगी संक्रमण नियन्त्रणका क्षेत्रमा काम गर्दै आइएको छ । तर जोखिम भने कायमै छ । डेंगी नियन्त्रणको मूल आधार लामखुट्टेको प्रजननस्थल खोजेर नष्ट गर्नु रहेको उनले बताए । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । विशेषगरी तराईका जिल्लामा बढी देखिने डेंगी विस्तारै चिसो मौसम हुने पहाडी तथा हिमाली जिल्लामा समेत फैलिँदै गएको छ ।

स्वास्थ्यकर्मीका अनुसार जलवायु परिवर्तन, मानिसहरूको आवागमन, अव्यवस्थित शहरीकरणलगायतका कारण लामखुट्टेलाई सहजै बाँच्ने वातावरण बन्दै गएपछि चिसो ठाउँमा पनि डेंगी संक्रमण बढ्दै गएको हो । एडिज लामखुट्टे वयष्क नहुँदासम्मको करिब ८० प्रतिशत जीवनचक्र (अण्डा, लार्भा र प्युपा अवस्था) पानीभित्र वा पानीको सतहमा हुने हुँदा मूल स्रोतलाई निर्मूल नगरी उडिरहेका वयष्क लामखुट्टेलाई मात्र लक्षित गरेर डेंगी संक्रमण नियन्त्रण गर्न नसकिने निर्देशनालयले जनाएको छ ।

साउनदेखि कात्तिक महिनासम्म एडिस लामखुट्टेको प्रजननको जोखिम बढी हुने भएकाले यी महिनाहरूमा थप सचेत भई कम्तीमा हप्ताको एकपटक समुुदायस्तरमा लामखुट्टेका प्रजननस्थल खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिन जरुरी छ । डेंगी संक्रमणको उपचार पद्धति नरहेको उल्लेख गर्दै लामखुट्टेको वासस्थान नष्ट गर्नुको विकल्प नभएको जनाइएको छ ।

चिसो मौसममा डेंगी संक्रमण गराउने लामखुट्टे निष्क्रिय हुने हुँदा कात्तिक महिनादेखि यसको जोखिम कम हुने पनि निर्देशनालयका फोकल पर्सन आचार्यले बताउँछन् । भदौ र असोजमा पानी जम्ने, गर्मी र आद्र्रता उच्च हुने कारण संक्रमणको दर सबैभन्दा बढी हुने विज्ञहरूको भनाइ छ । कात्तिकतिर मौसम चिसिँदै जाँदा जोखिम क्रमशः घट्दै जानेगर्छ । डेंगी रोग छिट्टै निकोपार्ने खास उपचार पद्धति नरहेकोले लामखुट्टेबाट आफूलाई बचाउनु नै डेंगीबाट बच्ने उत्तम उपाय हुने विज्ञहरू बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार