
सुर्खेत ।
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशका १० वटै जिल्लाका नागरिक बसोबास गर्छन् । उच्च शिक्षा, व्यापार, व्यवसाय तथा रोजगारीका लागि वीरेन्द्रनगर बसोबास गर्ने अधिकांश बाह्य जिल्लाका नागरिक दसैँको अवधिमा नै बाहिरिसकेका थिए । दसैँ बिदापछि फर्किएका नागरिकहरू समेत तिहार नजिकिँदै आएपछि फेरी धमाधम गाउँतिर लाग्न गालेका छन् । पछिल्लो समय तिहारको समयमा घरपरिवार आफन्तहरू सबैजना मिलेर घुम्न जाने, रमाइलो गर्ने चलनसमेत बढ्दै गएको छ भने यो घुम्न मन पराउनेहरूका लागि उपयुक्त समय हो ।
सफा मौसमसँगै वर्षायामको गर्मी सकिएको र चिसो बढ्न थालेकाले पनि यतिबेला घुम्नका लागि उपयुक्त समय मानिन्छ । कर्णाली प्रदेश प्रकृतिको सुन्दरताले मात्रै हैन् । सभ्यताको दृष्टिले पनि उन्नत छ । कर्णालीमा मुलुककै लामो कर्णाली नदी, भेरी नदी, जटिबुटी, जलस्रोत, रीतिरिवाज, परम्परा, लोक साहित्य, भाषा, संस्कृति, खेलकुद र प्रकृति तथा पर्यटनका हिसाबले प्रशस्त सम्भावना बोकेको ठाउँ हो ।नेपाली खस भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, नेपाली भाषाको उद्गम थलो सिँजा, नेपालकै ठूलो ताल रारा, गहिरो ताल फोक्सुण्डो, नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धान, एक हजारभन्दा पुरानो हल्जी गुम्बा र विभिन्न दुर्लभ वन्यजन्तु तथा वनस्पतिको विविधताले भरीपूर्ण कर्णाली घुम्न धेरै पर्यटकहरू लालाहित हुने गर्दछन् ।त्यसैले आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थलहरूको बारेमा जानकारी दिन आवश्यक छ । तिहार बिदामा घुम्नलायक कर्णालीका १० वटै जिल्लामा रहेका पर्यटकीय स्थलहरू यस्ता रहेका छन् ।
सुर्खेत
सुर्खेत कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर पछिल्लो समय विकसित हुँदै गइरहेको सुन्दर एवं व्यवस्थित सहरमा पर्दछ । यहाँ घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुन्दर पर्यटकीय गन्तव्यहरूले पर्खिरहेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यका आसपासभित्रै पर्यटकको ध्यान खिच्ने थुप्रै आकर्षणहरू छन् । घुमफिरका लागि काँक्रेविहार, देउती बज्यै, बुलबुले ताल, सहिद पार्क, घण्टा घर, गोठीकाँडालगायत मुख्य पर्यटकीय गन्तव्यहरू हुन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा झर्ने जो कोहीका लागि काँक्रेविहार मन्दिर रोजाइमा पर्ने गर्दछ । काँक्रेविहारको बेजोड कलात्मक शिखरशैलीको स्थापत्यले पर्यटकलाई मुग्ध पार्दछ । काँक्रेविहारलाई दोस्रो लुम्बिनीका रूपमा पनि लिने गरिन्छ ।
काँक्रेविहारसँगै वीरेन्द्रनगर उपत्यकामा बुलबुलेताल पनि रहेको छ । विशेषगरी यी क्षेत्रमा आन्तरिक पर्यटकहरूको चहलपहलसमेत हरेक दिन हुन्छ । बिदाको दिनभन्दा अन्य दिन सरदरमा ५०० देखि ७०० सयसम्मको हाराहारीमा पर्यटकहरू आउने गरेका छन् । वीरेन्द्रनगरको बुलबुले, काँक्रेविहार मात्र नभएर सुर्खेतका पर्यटकीय क्षेत्रहरू देउती बज्यै मन्दिर, काठमाडौँको नगरकोटको उपमा पाएको गोठिकाँडा, पातल दरबार, घण्टाघर लगायतका ठाउँहरू पनि रारा, जुम्ला, दैलेख जाने पर्यटकलाई एकपटक घुम्न बाध्य बनाउँछन् । साथै नजिकै रहेको भेरी नदीमा ¥याफ्टिङ्ग गर्न पनि सकिन्छ भने काठमाडौँदेखि सिधै हवाइजहाव तथा सडक यातायातका साधनबाट यात्रा गर्न सकिने सुर्खेत उपत्यका समुद्री सतहबाट ६६५ मिटरको उचाइमा अवस्थित छ ।
दैलेख
समुद्री सतहदेखि लगभग एक हजार मिटरको उचाइमा रहेको दैलेख सदरमुकामसम्म सडक यातायातमार्फत पुग्न सकिन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ७० किलोमिटरको दूरीमा रहेको दैलेख जिल्लाको पञ्चकोशी क्षेत्र पख्र्यात ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाको खानी हो । यसमा श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटिला क्षेत्रको दर्शन गर्न सकिन्छ । यहाँ श्रीस्थान र नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वालाको दृश्य अवलोकन गर्न लायक छ । दैलेखको दुल्लुमा नेपाली भाषाको पहिलो अभिलेख छ । यहाँ थुप्रै पुरातात्विक महत्वका धारा, मठमन्दिर र देवलहरू देख्न सकिन्छ ।
सदरमुकाम दैलेख बजारमा रहेको कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, दुल्लु दरबार, मदानताल, गुराँसे र महाबु क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन् । कर्णालीको विकास पर्यटनमा नयाँ आयाम थपेको दैलेखको श्रीस्थान, नाभिस्थान क्षेत्रमा चिनियाँ सरकारको सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजना पर्यटकका लागि यहाँको अर्को आकर्षण केन्द्र पनि हो । साथै दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते जाति राउटे पनि दैलेखको गुराँसेमा बसोबास गर्ने अस्थायीवासी ह्ुन् ।
कालीकोट
सुर्खेतबाट सार्वजनिक तथा निजी सडक यातायातका साधनमार्फत कालीकोट सदरमुकाम मान्म पुगिन्छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको कालीकोटको मान्म सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरबाट १४८ किलोमिटरको दूरीमा छ । यहाँका पञ्चदेवल, बडिमालिका, तिलागुफा, पचालझरना हेर्नलायक धार्मिक एंव पर्यटकीय स्थलहरू छन् ।
कालीकोटकै पिलि युद्ध पर्यटनले चर्चामा छ । शान्ति स्थापनापछि यस ठाउँलाई युद्ध पर्यटन क्षेत्र घोषणा गरि स्मारक र भ्यु टावर बनाइएको छ ।कर्णाली राजमार्गबाट देखिने सुन्दर वस्तीहरूले मन लालहित पार्छन् । कर्णालीकै मुहार फेर्न परियोजनाका रूपमा हेरिएको फुकोट कर्णाली जलविद्युत् आयोजना यसै जिल्लामा पर्दछ ।
जुम्ला
सुर्खेतबाट बस तथा नेपालगन्जबाट हवाइजहाजमार्फत जुम्ला जिल्ला पुग्न सकिन्छ । वीरेन्द्रनगरबाट २३२ किलोमिटरको दूरी र समुद्री सतहबाट दुई हजार ५१४ मिटरको उचाइमा रहेको जुम्ला खलंगामा प्रसिद्ध चन्दननाथ मन्दिर छ । वरिपरि पहाडले घेरिएर बीचमा सुन्दर उपत्यका बनेको जुम्ला सदरमुकाम खलंगा सडक यातायातमा कर्णाली राजमार्ग हुँदै पुग्न सकिन्छ । कर्णाली सभ्यताको मूल थलो एवं तत्कालीन खस साम्राज्यको राजधानी सिँजा उपत्यका जुम्लामै पर्दछ । सिँजा उपत्यका बाइसे र चौबिसे राज्यको समयमा एक बलियो राज्यका रूपमा रहेको इतिहास छ । सदरमुकाम जुम्लाबाट सडक यातायातमार्फत सजिलै सिँजा क्षेत्र पुग्न सकिन्छ ।
जुम्लाको सिँजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो । जुम्ला सदरमुकाम खलंगा बजारबाट तीन घण्टाको बसयात्रापछि सिँजा उपत्यका क्षेत्र पुगिन्छ । सिँजा क्षेत्र हुँदै रारा पुग्न सकिन्छ । पर्यटकहरूलाई आर्कषित गर्नका लागि जुम्लामै तातोपानीका कुण्ड र धारा छन् । तातोपानीमा नुहाए स्वास्थ्य लाभ हुने विश्वास बोकेर मुलुकका विभिन्न स्थानबाट मानिसहरू त्यहाँ पुग्छन् । यस्तै जुम्लामा कान्जीरोवा, पातारासी हिमाल छन् । सदरमुकाम खलंगामा प्रसिद्ध चन्दननाथ मन्दिर, आकाशे ताल, गुठीचौरलगायत स्थानको अवलोकन तथा विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउका परिवारसँग रमाउन पनि सकिन्छ ।
मुगु
सुर्खेतको वीरेन्द्रनगरबाट सडक यातायातबाट सिँजा हुँदै राराताल र नेपालगन्जदेखि हवाइ यातायातबाट मुगु गमगढीस्थित ताल्चा विमानस्थल हुँदै राराताल पुग्न सकिन्छ । यो नेपालकै ठूलो ताल पनि हो । रारामा अन्त नपाइने स्नोट्राउट प्रजातिको माछा पाइन्छ । मौसम खुलेमा तालको पानीमा देखिने सप्तरङले आगन्तुकलाई मोहित पार्दछ । सुर्खेतदेखि करिब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगन्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ । यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ ।
राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’को उपमा दिएका थिए । रारामा घोडासवार र डुङ्गा शयरको आनन्द लिन सकिन्छ भने मुर्माटपबाट राराको अवलोकन गर्न सकिन्छ । यसलाई रारा भ्यूटावर पनि भनिन्छ । त्यहाँबाट राराको पूरै स्वरुप क्यामेरामा कैद गर्न सकिन्छ । झण्डै १० हजार फिट उचाइमा रहेको रारातालमा डुंगा तथा घोडा सवार गरेर मज्जा पनि लिन सकिन्छ। ताल वरिपरि घुम्नका लागि परिकर्मा पदका रूपमा ट्रेकिङ हुन्छ । यहाँको कञ्चन पानीमा माछा, हाँस, जलेवा जस्ता चराहरूले डुबुल्की मारेको अनुपम दृश्य देख्न पाइनुका साथै तालका छेउमा रहेका फूलका सुगन्ध र सौन्र्दयले पर्यटकलाई आन्दित तुल्याउँछ ।
हुम्ला
नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । करिब तीन हजार मिटरको उचाइमा रहेको हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि मुख्य प्रवेशद्वार हो । जहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ । सदरमुकाम सिमकोटबाट लिमी उपत्यका हुँदै मानसरोवर पुग्न सकिन्छ । लिमी उपत्यकाको लाप्चाबाट मानसरोवरसमेत देख्न सकिन्छ । प्राचिनकालीन मूर्ति र गुम्बा नै गुम्बाको उपत्यका हो लिमी । हिल्सा उत्तरी छिमेकी राष्ट्र चिनसँग जोड्ने एक मुख्य नाका पनि हो ।
सुर्खेत र नेपालगन्जदेखि हवाइजहाजबाट सिमकोट विमानस्थल पुग्न सकिन्छ । हुम्ला र मुगुको सिमानामा चंखेली हिमाल छ । यस हिमालको चित्र एक रूपैयाँँको नोटमा राखिएको छ । हिन्दु र बौद्ध दुवैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । कर्णाली मुलुककै सबैभन्दा लामो नदी कर्णाली नदी पनि हुम्ला जिल्लाबाट नै बग्ने गर्दछ ।
डोल्पा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको मान्यता छ । तस्बिरः रामचन्द्र न्यौपाने / रासस
नेपालको गहिरो तालको रूपमा चिनिएका फोक्सुण्डोताल रहेको डोल्पामा धार्मिक दृष्टिले प्रसिद्ध तीर्थस्थल त्रिपुरासुन्दरी मन्दिर छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, दुर्लभ वन्यजन्तु हिउँचितुवा र रेडपाण्डाको बासस्थान हो । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव वस्ती धो उपत्यका पनि डोल्पामै पर्दछ ।
साथै माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ । समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा रहेको डोल्पाको सदरमुकाम दुनै पुग्न सुर्खेतबाट सवारीसाधनमा जाजरकोट हुँदै र नेपालगन्जबाट हवाइ यात्रामार्फत पनि डोल्पा पुगिन्छ । विश्वमै बहुमूल्य जडिबुटीका रूपमा बिक्री हुने यार्सागुम्बा बढी मात्रामा यसै जिल्लामा पाहिन्छ ।
जाजरकोट
वीरेन्द्रनगरबाट जाजरकोटको खगंला १४० किलोमिटरको दूरीमा छ । सुर्खेतबाट जाजरकोट वा सल्यान जाँदा छिन्चु–जाजरकोट सडकखण्डमा सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना भेरीबबई डाइभर्सन आयोजनाको बाँध अवलोकन गर्न सकिन्छ । नेपालमै पहिलोपटक सुरुङबाट पानी डाइभर्सन गरिँदैछ ।
जाजरकोट सदरमुकाम खंलगाको आडैमा रहेको जाजरकोट दरबार क्षेत्र २०८० साल कात्तिक १७ रातिको भूकम्पले क्षति पु¥याएको छ । यो जाजरकोट जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र हो । भेरी करिडोरका आसपासका सुन्दर वस्ती जाजरकोट र डोल्पाको समृद्धिको उजागर गर्ने परियोजनाको रूपमा आकलन गरिएको नलगाड, जगलुल्ला जस्ता निर्माणधीन जलविद्युत् आयोजनाको समेत यस अवसरमा घुमेर अवलोकन गर्न सकिन्छ ।
रूकुम पश्चिम
सडक यातायातका साधनबाट सजिलै रूकुम पश्चिको सदरमुकाम खलंगा पुग्न सकिन्छ । वीरेन्द्रनगरदेखि रूकुमपश्चिको सदरमुकाम मुसिकोट खंलगा १६७ किलोमिटरमा छ । डिगे्र साइ मन्दिर, कुमारी मन्दिर बाफिकोट गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने स्यार्पुताल यस जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन् । स्यार्पुतालमा आफैँ बोटिङ गरेर मज्जा लिन पनि सकिन्छ ।
सल्यान
वीरेन्द्रनगरदेखि सल्यानको सदरमुकाम खलंगा १०६ किलोमिटरको दूरीमा पर्दछ । सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिन्डे दह प्रदेश राजधानी जिल्ला सुर्खेतसँग जोडिएको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि सवारीसाधनमार्फत सजिलै कुपिन्डे दह पुग्न सकिन्छ । छोटो दूरी प्रकृतिको अनुपम सुन्दरता र कम खर्चिलो भएका कारण कुपिन्डे दह धेरैको रोजाइमा पर्ने गर्दछ । कुपिन्डे तिहार बिदामा घुम्नका लागि उपयुक्त ठाउँ हो ।
जिल्ला सदरमुकाम शारदा नगरपालिका खलंगादेखि करिब २४ किलोमिटर पश्चिममा पर्ने यो दह निकै मनोरहम र आकर्षण छ । कुपिन्डे दहसँगै जिल्लाकै धार्मिकस्थल छत्रेश्वरी मन्दिर, खैराबाङ भगवतीदेवी मन्दिर, शंखमूल यहाँका थप पर्यटकीयस्थल घुम्नका लागि उपयुक्त गन्तव्य रहेका छन् । सल्यान सुन्तला, खुकुरी, अदुवा तथा तरकारीका लागि प्रसिद्ध जिल्ला पनि हो ।









प्रतिक्रिया दिनुहोस्