गण्डकी भ्रमणमा रमाउँदै धनगढी नगरप्रमुखसहितका जनप्रतिनिधि



शेरबहादुर ऐर । कैलाली ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसहित धनगढीका केही वडाध्यक्षहरू अहिले गण्डकी प्रदेश भ्रमणमा छन् । जेनजी आन्दोलनका कारण अहिले स्थानीय तहहरूले पूर्णरूपमा सेवा शुभारम्भ गर्न नसकिरहेको अवस्थामा अध्ययन भ्रमण भन्दै धनगढी नगरप्रमुख हमालसहित केही वडाध्यक्षहरू गण्डकी भ्रमणमा रहेका हुन । कार्यबाहक नगरप्रमुखको जिम्मेवारीसमेत कसैलाई नदिई तथा उपमहानगरपालिकाको प्रवक्तासमेत तोक्न नसकेका नगरप्रमुख हमालसहित वडाध्यक्षहरू सेवा प्रभावित बनाई भ्रमणमा लागेको आरोप रहेको छ ।

धनगढीमा नगरप्रमुखमा निर्वाचित नहुँदा घोषणापत्र जारी गर्दै कुनै पनि सरकारी सेवा सुविधा नलिने र सरकारी गाडी पनि उपयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका नगरप्रमुख हमालले सरकारी सवारीबाहेक सबै उपभोग गर्दै आइरहेका छन् । विभिन्न समयमा देशविदेश भ्रमण गरेका नगरप्रमुख हमाल वडाध्यक्षसहित पहिलोपटक गण्डकी भ्रमणमा गएको जनाइएको छ । नगरप्रमुख हमालसँगै धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझा, वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐर, वडा नम्बर १० का वडाध्यक्ष शिवकुमार राना, वडा नम्बर १८ का भुवन रिजाल र वडा नम्बर १९ का वडाध्यक्ष बाँधुराम चौधरी रहेका छन् ।

हामीले भ्रमणमा रहेका वडाध्यक्षहरूसँग सम्पर्क गर्न खोज्दा भ्रमणको उद्देश्यबारे जानकारी दिन आनाकानी गरेका छन् । भ्रमणमा रहेका उनीहरू आइतबार धनगढी पुग्ने जनाएका छन् । यस विषयमा जानकारी लिन धनगढीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीसँग जानकारी लिन खोज्दा प्र्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीसँग सम्पर्क गर्न भनी भ्रमण उद्देश्य जानकारी दिन आनाकानी गरे । प्रमुख प्रशासकीय अधिकृत खातीसँग सम्पर्क गर्न खोज्दा फोन उठेन भने नगरप्रमुख हमालसँग सम्पर्क गर्न खोज्दा मोबाइल बन्द थियो ।
तर, उनले सामाजिक सञ्जाल फेसबुकमा भने सबै आफ्नै व्यक्तिगत खर्चमा घुम्न गएको बताएका छन् ।

उनले भनेका छन्, ‘केही सञ्चार माध्यमले मेयर गोपाल हमालसहित जनप्रतिनिधी धर्म राज ओझा, राजबहादुर ऐर, विजय जोशी, शिव राना, रामलाल चौधरी, भुवन रिजाल र बाधुराम चौधरी गण्डकी प्रदेश घुम्न गएको भनेर समाचार बनाएको भेटिएको छ । हामी गण्डकी प्रदेश घुम्न गएको कुरा साँचो रहेको र सबै आ–आफ्नो व्यक्तिगत खर्चमा घुम्न गएको विषय सम्पूर्ण नगरवासीलाई जानकारी गर्दछु ।’ धनगढीले हरेक वर्ष विविध विषयमा भ्रमण अध्ययनका नाममा रकम दुरुपयोग गर्ने गरेको महालेखा परीक्षककै प्रतिवेदनले औँल्याउने गरेको छ ।

महालेखा परीक्षकको ३५औँ वार्षिक प्रतिवेदनमा भनिएको छ– ‘पालिकाले कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च र अनुगमन खर्चमा २३ लाख २९ हजार छ सय २५ रकम खर्च गरेको छ ।’ महालेखाका अनुसार पालिकाले हालसम्म भ्रमण खर्च पालिकाको प्रयोजनमा उच्चतम उपयोग भएका छ भनी विश्वस्त हुने अवस्था रहेन् । सुदूरपश्चिम प्रदेशअन्र्तगत स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ तथा भ्रमण खर्च नियमावली, २०६४ बमोजिम भ्रमण खर्चलाई मितव्ययी कायम गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदनमा भनिएको छ– ‘तोकिएको कानुनी व्यवस्थाको पालना गर्दै भ्रमण अभिलेख खाता बनाई खर्चको सुनिश्चितता हुने व्यवस्थासहित सबै भ्रमणपश्चात् भ्रमण प्रतिवेदन लिने व्यवस्था हुनुपर्दछ ।’

ज्येष्ठ नागरिकको नाममा जनप्रतिनिधिदेखि पत्रकार

धनगढी उपमहानगरपालिकाले गत शुक्रबार मुक्तिनाथ भ्रमणका लागि एकल महिलालाई बिदाइ ग¥यो । शुक्रबार धनगढीका एक सय ५० जना एकल महिला मुक्तिनाथ यात्राका लागि प्रस्थान गरेका छन् । धनगढीको एलएनचौकस्थित लक्ष्मीनारायण मन्दिरको व्यवस्थापनमा मुक्तिनाथ यात्रामा नगरप्रमुख सचिवालयका प्रतिनिधि र कर्मचारी पनि रहेको जनाइएको छ । नगरप्रमुख हमालसहित वडाध्यक्षहरू गण्डकी भ्रमण भनिएको भएपनि एकल महिलाका नाममा स्वयम् मुक्तिनाथ यात्रामा गएको आशय पनि देखिएको छ ।

धनगढीमा निर्वाचित भएर आएपछि नगरप्रमुख हमालले मुक्तिनाथ यात्रा शुभारम्भ गरेका थिए । उनको यो कार्यक्रम सुरुमै विवादित बनेको थियो । पहिलो वर्षमा मुक्तिनाथ यात्रामा ज्येष्ठ नागरिकसँग बालकलाई पठाउँदा दुई जना बालकको नदीमा डुबेर मृत्यु भएको थियो । गत वर्षको मुक्तिनाथ यात्रामा स्वयम् धनगढीकी उपप्रमुख कन्दकला राना पनि रहेकी थिइन् । ज्येष्ठ नागरिकका नाममा शुभारम्भ भएको यो यात्रामा पत्रकार, जनप्रतिनिधि र कर्मचारीहरूका लागि लाभदायिक बन्दै आएको छ ।

धनगढी नगरप्रमुख हमालले कर्मचारीमात्र नभइ आफूनिकट व्यक्तिहरूलाई पनि नियमविपरीत सेवा उपलब्ध गराएको पाइन्छ । उनले आफूनिकट शारदा शाहीलाई वैदेशिक सहयोगमा आयोजित एक कार्यक्रममा लिएका थिए । उनले सो कार्यक्रममा आफ्नै लगानीमा लगिएको सो समयमा दाबी गरेका थिए । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९–०८० देखि हरेक वर्ष ज्येष्ठ नागरिकहरूलाई मुक्तिनाथ यात्रामा पठाउन थालेको हो ।

यो वर्ष भने उपमहानगर क्षेत्रभित्र स्थायी बसोबास भएका एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको हो । मुक्तिनाथ दर्शन गर्न सुरुको वर्ष १३१ जना ज्येष्ठ नागरिकलाई पठाइएको थियो भने आर्थिक वर्ष २०८०–०८१ मा १४० जना, आर्थिक वर्ष २०८१–०८२ मा १३१ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको थियो । उपमहानगरपालिकाले चालू आर्थिक वर्षसम्म ५५२ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएको जनाएको छ ।

उपमहानगरपालिकाले मुक्तिनाथ यात्राको दौरान पोखरा, बागलुङ, म्याग्दी र चितवनका धार्मिकस्थलको समेत दर्शन गराउने व्यवस्था मिलाउने गरेको छ । उपमहानगरले तीर्थालुहरूलाई तनहुँ र चितवनमा पर्ने देवघाट र नवलपरासीमा पर्ने शाश्वतधामको समेत दर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार