भेरी पम्पिङ आयोजना निर्माणमा ढिलाइ



मेलम्चीपछि देशकै दोस्रो ठूलो दाबी गरिएको यो आयोजनाका लागि जग्गा र रूख काट्ने अनुमति प्राप्तिमा ढिलासुस्ती भएपछि बाँकी काम अघि बढ्न सकेको छैन । भने पाइपलाइन विस्तारमा स्थानीयको अवरोधका कारण तोकिएको अवधिभित्र आयोजना सम्पन्न नहुने निश्चित बनेको छ ।

नन्दराम जैशी । सुर्खेत ।

वीरेन्द्रनगरवासीको बहुप्रतीक्षित भेरी पम्पिङ खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । मेलम्चीपछि देशकै दोस्रो ठूलो दाबी गरिएको यो आयोजना निर्माणमा ढिलाइ भएको हो । आयोजनाका लागि जग्गा र रूख काट्ने अनुमति प्राप्तिमा ढिलासुस्ती भएपछि बाँकी काम अघि बढ्न सकेको छैन । भने पाइपलाइन विस्तारमा स्थानीयको अवरोधका कारण तोकिएको अवधिभित्र आयोजना सम्पन्न नहुने निश्चित बनेको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने भेरी पम्पिङ आयोजनाको काम हालसम्म ५० प्रतिशत सकिसक्नुपर्ने हो । तर सम्झौता अवधि सकिन वर्षदिन मात्रै बाँकी रहँदा पनि पाइपलाइन विस्तार र सहायक ट्याङ्की निर्माणको समेत काम सम्पन्न भएको छैन ।

आयोजनाको मुख्य काम भेरीमा पानीको बहाव डाइभर्ट गरी नदीको सतहदेखि सात किलोमिटर गहिराइमा दुई वटा इन्टेक र मुख्य रिजर्भ ट्याङ्की निर्माणको काम नै सुरूवात हुनसकेको छैन । त्यसैले अब तोकिएको समयभित्र आयोजना सम्पन्न नहुने पक्का छ । आयोजना बनाउँदा तीन वटा सामुदायिक वनका एक हजार ४९९ वटा रूख काट्नुपर्ने उल्लेख छ । तर काममा ढिलासुस्ती भइरहेको छ । जसका कारण आयोजनाको मुख्य क्षेत्रमा पाइपलाइन विस्तार, पानी प्रशोधनका लागि इन्टेक निर्माण र मुख्य रिजर्भ ट्याङ्की बनाउन काम अगाडि बढेको छैन ।

आयोजना कार्यालयका अनुसार मुख्य क्षेत्रमा काम गर्न नपाएको निर्माण व्यवसायीले हाल धारापानी, खोर्केखोला र कालीमा मन्दिर क्षेत्रमा सहायक ट्याङ्की निर्माणको गरिरहेका छन् भने इत्राम, पिपिरा, धुलियाबिट र बाङ्गेसिमल क्षेत्रमा पाइलपाइन विस्तार भइरहेको छ । तर हालसम्म जम्मा साढे आठ किलोमिटरमात्र पाइपलाइन विस्तार भएको छ । आयोजनाले अझै साढे २६ किलोमिटरमा पाइपलाइन विस्तार गर्न बाँकी छ ।
वीरेन्द्रनगरको बाङ्गेसिमलमा पक्की सडक नभत्काएर पाइपलाइन विस्तार गर्नुपर्ने भन्दै अवरोध भएको छ । अवरोध हटाउन वीरेन्द्रनगर नगरपालिकाले समन्वय गरिरहेको छ ।

बढ्दो जनसङ्ख्याको कारण खानेपानीको संकट बढ्न थालेपछि भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन आयोजना अघि सारिएको हो । स्थानीयले जतिसक्यो छिटो आयोजना सम्पन्न गर्न दबाब दिँदै आएका छन् । साढे चार अर्ब लागत अनुमान गरिएको आयोजना चिनियाँ निर्माण कम्पनीले साढे तीन अर्बमा ठेक्का लिएको छ । ७० प्रतिशत विश्व बैङ्कको ऋण र बाँकी ३० प्रतिशत संघ, प्रदेश र स्थानीय सरकारले लागत साझेदारी गर्ने सम्झौता छ ।

भेरीबाट प्रतिसेकेण्ड ५४० लिटर पानी पम्पिङ गरी वीरेन्द्रनगर–११ को अमृतडाँडा ल्याउने र त्यहाँ तीन हजार घटमिटर क्षमताका तीन ट्याङ्कीबाट वीरेन्द्रनगरमा खानेपानी वितरण गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भएमा २५ वर्षसम्म वीरेन्द्रनगरको खानेपानी संकट टार्ने प्रक्षेपण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख मोहनमाया ढकालले संघीयता अभ्यासको पहिलो नमूना आयोजना भेरी पम्पिङ आयोजना रहेको बताइन् । ‘लिफ्टिङ प्रविधिको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना हो, यसलाई सबै क्षेत्र र पक्ष एकै ठाउँमा उभिएर छिट्टै निर्माण सम्पन्न गर्न आवश्यक छ,’ उनले भनिन्, ‘तर भेरी लिफ्टिङ आयोजनाको पहिलो खुड्किलो पार भएको छ ।

अब तीन तहका सरकारको स्वामित्वमा अगाडि बढेको यो परियोजनालाई सबैको सहयोगबाट निर्धारित समयमा सम्पन्न गर्न लागि परेका छौँ ।’
उनका अनुसार पहिलो चरणका काममा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृतडाडाँबाट वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछन् भने दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार हुँदा तीन अर्ब रूपैयाँँ लागत लाग्ने जनाइएको छ ।

खानेपानीको संकट भोग्दै

हाल वीरेन्द्रनगरवासीले हिउँद बर्खा नै खानेपानीको संकट भोग्दै आएका छन् । यहाँका नागरिकले मनसुनको अवधिमै पनि खानेपानी अभाव झेल्नु परेको थियो । मुख्य चाडपर्वहरू मुखैमा आएको समयमा नै वीरेन्द्रनगरवासीको धारामा पानी आइरहेको छैन । हप्तौदेखि धारामा पानी नपाएपछि खानेपानीको समस्या भइरहेको स्थानीय नागरिकहरूले बताएका छन् । वीरेन्द्रनगर–३ का अमर अधिकारीको धारामा पानी नआएको हप्तौँ भयो ।

धारामा पानी नआउँदा खानेपानीको समस्या परिरहेको बेला इनारको पानीले काम चलाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनका अनुसार केहीदिन अघिसम्म दुई चार दिनको एकपटक पानी आउने गरेको थियो । तर पछिल्लो एक हप्तादेखि धारामा खानेपानी आएको छैन ।खानेपानीको समस्या समाधान गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाकै सहयोगमा बोरिङ पनि खनिएका छन् ।

तर सुकुम्बासी र मजदुरी काम गर्नेको सङ्ख्या धेरै रहेको जनमिलन टोलका बासिन्दाले महसुल उठाउन नसकेपछि अहिले बोरिङ नै बन्द छ ।
चौकीदारको व्यवस्थासहित बोरिङ सञ्चालन गरिएपनि प्रतिव्यक्ति दुई सयसम्म बिल आउने गरेको थियो । एकातर्फ खानेपानीको संकट छ भने अर्कोतर्फ सरकारले निर्माण गरेका खानेपानीका संरचना जीर्ण बनिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३० गते बिहीबार