रैथाने कृषि परियोजनासम्बन्धी अभिमुखीकरण



कोहलपुर ।

बाँकेको कोहलपुरमा रैथाने कृषि (खेतीस्थलीय) परियोजनासम्बन्धी अभिमुखीकरण तथा फिल्ड योजना तालिम सम्पन्न भएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत राष्ट्रिय जीन बैंक, खुमलटार काठमाडौँको आयोजनामा भएको उक्त कार्यक्रममा रैथाने बालीहरूको संरक्षण, प्रवद्र्धन र बजारीकरणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । गत वर्षदेखि कोहलपुर–२ मा सञ्चालित चार वर्षे रैथाने कृषि परियोजनाअन्तर्गत किसानलाई रैथाने बाली संरक्षणसँगै व्यवसायिक बन्न प्रेरित गर्ने, जैविक विविधता संरक्षणमा सचेतना फैलाउने र स्थानीय तह तथा कृषि ज्ञान केन्द्रसँग किसानलाई जोड्ने कार्य भइरहेको परियोजना प्रमुख डा. बालकृष्ण जोशीले जानकारी दिए ।

उनले भने, ‘यो परियोजना सकिएपछि पनि स्थानीय तह र कृषि ज्ञान केन्द्रमार्फत निरन्तरता दिलाउने प्रयास भइरहेको छ ।’ जोशीले रैथाने बालीहरूको संरक्षण र आधुनिक प्रविधिको संयोजनमार्फत उत्पादन र आम्दानी दुवै बढाउन सकिने उल्लेख गरे । कार्यक्रममा किसानहरूले भारतबाट आयात हुने तरकारीका कारण मूल्य नपाउनु, मल र बीउ अभाव, तथा कृषि पेशाबाट स्थायी आम्दानी नहुने गुनासो गरेका थिए । उनीहरूले रैथाने बालीले तत्काल जीविकोपार्जनमा सहयोग नगर्ने भएकाले पेशाप्रति निराशा व्यक्त गरे ।

साथै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको, नीतिहरू बाँझिएको र संविधानमा उल्लेखित अधिकार व्यवहारमा कार्यान्वयन नभएको बताएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सबै जिम्मेवारी स्थानीय तहमा पुगेकाले किसानले पालिकासँग सहकार्य गरेर अवसर खोज्नुपर्ने बताए । उनले केन्द्र सहजीकरणका लागि सधैँ तयार रहेको पनि उल्लेख गरे । डा. मुकुन्द भट्टराईका अनुसार तालिमका प्रमुख उद्देश्यहरूमा परियोजनाको समग्र जानकारी आदानप्रदान, कार्यक्षेत्र र कार्यतालिका तय गर्ने, क्षेत्रगत समस्या पहिचान गर्ने, आधाररेखा सर्वेक्षण प्रतिवेदनबारे छलफल र आगामी कार्ययोजना तयार पार्ने रहेका छन् ।

साथै जातीय सुधार र दर्ता प्रक्रियासम्बन्धी विषयमा पनि सहभागीबीच विस्तृत छलफल गरिएको थियो । अभियान्ता पुरमल बस्नेतले अघिल्लो पुस्ताले अभ्यास गर्दै आएको रैथाने ज्ञान र खेती नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको र समन्वयको अभावमा परम्परागत ज्ञान हराउँदै गएको बताए । कार्यक्रममा जीन बैंकका कृषि किरा विज्ञ विकास भुषालले कृषि किराको महत्वको बारेमा बताएका थिए । कार्यक्रममा कृषि क्षेत्रका विज्ञ, प्राविधिक, स्थानीय किसान तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए । सहभागिहरूले जलवायु परिवर्तनका चुनौतीबीच रैथाने बालीको संरक्षण र दिगो उपयोगका लागि किसानस्तरमै प्रविधि र सचेतना विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।

रैथाने कृषि परियोजनाले लोपोन्मुख बालीहरूको पुनःप्रयोग, आनुवंशिक स्रोतको संरक्षण र किसानको आम्दानी वृद्धि गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । परियोजनाअन्तर्गत संरक्षण गरिएका कोदो, धान, तरकारीलगायत रैथाने बालीहरूको फिल्ड भिजिट कार्यक्रम पनि रहेको डा. भट्टराईले बताए । कृषि वैज्ञानिक डा. जोशीका शब्दमा– ‘नेपालको बाँच्ने आधार कृषि नै हो । सरकारले उत्पादनको बजार ग्यारेन्टी र वर्षभरि सिँचाइ सुविधा सुनिश्चित गरिदियो भने किसानले उत्पादन बढाउँछन् ।’ स्थानीय पालिकाहरूले रैथाने बालीहरूको संरक्षणका विषयमा विद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्नेमा समेत सहभागीहरूको जोड छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार