गोदावरी (कैलाली) ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माहावीर पुनको अध्यक्षतामा संघीय राजधानीमा पहिलो बैठक भएको हो । बैठकले विश्विद्यालय ऐनअनुसार सर्वोच्च निकायका रूपमा रहेको सभामा दुई महिलासहित सात जना मनोनीत गरेको छ । सभाका सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वविद्यालयहरूको तर्फबाट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्राध्यापक डाक्टर हेमराज पन्तलाई सभा सदस्यमा मनोनीत गरिएको छ ।
यस्तै, विज्ञतर्फबाट प्राध्यापक डाक्टर जयराज अवस्थी, प्राध्यापक डाक्टर अम्मरराज जोशी, डाक्टर लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डाक्टर डम्मरबहादुर पाल, प्राध्यापक डाक्टर संगीता राजभण्डारीलाई मनोनीत गरिएको मुख्यमन्त्री शाहले बताए । ‘उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति बनेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा रहेको समितिमा डा. दीपक महरा र प्राध्यापक भारती जोशी सदस्य रहेका छन् ।’
सभामा शिक्षामन्त्री अध्यक्ष रहने व्यवस्था छ । यस्तै, स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालयका उपकुलपति, गोदावरी नगरपालिकाका नगरप्रमुखलगायत पनि सदस्य रहने ऐनमा उल्लेख छ ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रतिनिधिसभाबाट पारित हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशन भइसकेको छ । ४ असारमा नेपाल सरकारको राजपत्रमा प्रकाशन भएको ऐन प्रमाणीकरण भएको ३१औँ दिनदेखि प्रारम्भ हुने भनिएको छ । ऐन प्रमाणीकरण भएको चार महिना पुग्नै लागेको छ ।









प्रतिक्रिया दिनुहोस्