शेरबहादुर ऐर । कैलाली ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा शुभम होटलमा खानेकुरा खाइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार भयो । धारिलो हतियार प्रहारबाट ऐर गम्भीर घाइते छन् । पिकनिक मनाइसकेर बाँकी युवाहरू फर्किए पनि ऐरलगायतका केही युवा राति करिब ११ बजेतिर होटलमा बसेर खानेकुरा खान थालेका थिए । सोही समयमा बाहिरबाट आएको टोलीले ऐरमाथि आक्रमण गरेको थियो ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरियो । हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरियो । पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेका छन् । दुवै जनाले बुढाको घाँटी रेटी टाउको बोकेर प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी पोष्ट आउँदै गर्दा पक्राउ परेका थिए । सो हत्या मदिरा सेवनपछि निम्तिएको थियो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० खमैरामा मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर चौधरीको मृत फेला परे । छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले असोज २३ गते राति २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर असोज २४ गते घर नजिककै खोलामा मृत फेला परेका थिए ।
मृतककी भाइबुहारी सलिना चौधरीले आफ्नो श्रीमान्लाई पनि मार्ने धम्की दिएको भन्दै आफूहरू असुरक्षित भएको बताइन् । कैलालीमा लगातार भौतिक आक्रमण हुन थालेपछि कैलालीनै असुरक्षित बन्दै गएको स्थानीयहरू बताउँछन । कैलाली प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले भने, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि केही कैदीबन्दीहरू फरार छन् । लगातार भइरहेको हत्याहिंसाका कारण स्थानीयहरू त्रासमा छन् । तर, हामीले फरार कैदीबन्दीहरूको खोजीकार्य जारी राखेका छौँ । उनले भने, ‘विशेष मदिरा, लागूऔषध सेवन लगायतका कारण अमानवीय घटना भइरहेको देखिन्छ ।’
‘कोब्रा सरकार’का १५ जनाविरुद्ध जोहरी, ११ पक्राउ
कैलालीमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । आइतबार राति गोदावरी नगरपालिका–४ को शुभम होटलमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार भएको घटनामा ‘कोब्रा सरकार’का नाममा गुण्डागर्दी गर्दै आएका धनगढी उपमहानगरपालिका–२ का सन्नी भनिने २९ वर्षीय भीम नेपालीसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुुमार सिंहले नेपालीसहितका ११ जनालाई भारततर्फ भाग्दै गरेको अवस्थामा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी उपमहानगरपलिका–३ बस्ने १८ वर्षीय बिशाल बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने २३ वर्षीय किरण महरा, २६ वर्षीय गोविन्द बलायर, पुनर्वास नगरपालिका–१० बस्ने ३२ वर्षीय दिनेश बिक र ३२ वर्षकै अनिल बिक रहेको उनले बताए ।
घटनामा संलग्न रहेको अभियोगमा किटानी जाहेरी दिइएका चार जना भने फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ऐरको भने भारतमा उपचार भइरहेको छ । डीएसपी सिंहकाअनुसार उनको भारतको रुद्रपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट उनको हातको औँला काटिनुका साथै टाउको र घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
ऐरमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ परेकाहरू कोब्रा सरकारका नाममा समूह बनाएर कैलालीमा गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका नेपाली कोब्रा सरकारकै समूहका युवाले गत वर्षको २२ फागुनमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सुन्दरलाल चौधरीलाई खुकुरी प्रहार गरेका थिए । खुुकुुरी प्रहारबाट चौधरी गम्भीर घाइते भएका थिए । कोब्रा सरकारका सन्नी भनिने भीम नेपालीसमेतका युवाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी परेको थियो ।
पीडितको किटानी जाहेरीले प्रविन शाहीलाई पक्राउ गरे पनि सन्नी नेपाली भने प्रहरीको फरारको सूचीमा थिए । फरार रहेकै अवस्थामा कोब्रा समूहका नेपालीसमेतले हतियार प्रहार गरेर युवकलाई घाइते बनाएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । धारिलो हतियार प्रहारको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्