राज्यको अभिभावकत्व नपाएको टुहुरो संरचना



बाँकेको राप्ती सोनारी–९ ढकेरीस्थित झिझरी महिला सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्छ, उक्त क्षेत्र । सशस्त्र वन रक्षकहरूको तालिमका लागि भवन निर्माण गरिएको हो । संघीय सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालय वन तथा भू–संरक्षण विभागले निर्माण गरेको हो । आर्थिक वर्ष २०६७–०७७ तिर उक्त भवन निर्माण गरिएको थियो । ठेक्का प्रक्रियामार्फत चार करोड लागतमा निर्माण गरिएको हो । उक्त भवनमा लामो समयदेखि प्रयोगविहीन छ । संरक्षणविहीन छ । स्थानीय सरकारदेखि जिल्लाका निकाय, प्रदेश र संघीयस्तरका कुनैपनि निकायको ध्यानमा छैन ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

पूर्वपश्चिम राजमार्गको कोहलपुर–ढकेरी सडकखण्ड । यस सडकअन्तर्गत मूलबाटोमै छ, झिझरी खोला पुल । उक्त सडक हुँदै दायाँ मोडिएपछि सिक्टा सिँचाइ आयोजनाद्वारा निर्मित ठूलो नहर भेटिन्छ । नहरको बाटो हुँदै अघि बढेपछि दुई मिटरको दूरीमा फलामको ढोकासहित तारबार गरिएको एउटा ठाउँ छ । तारबार गरिएको ठाउँ ५ बिघा क्षेत्रफलमा फैलिएको छ । फलामे ढोका छिचोलेर भित्र गएपछि एउटै रङले रंग्याइएका ७ वटा भवन देखिन्छन् । ती सबै पक्की भवन हुन् ।

बाहिरबाट हेर्दा तीन भवन राम्रा देखिन्छन् । जब भित्र छिर्नुपर्छ, थाहा हुन्छ त्यहाँको दुरावस्था । राज्यको लापरवाहीको हद । निर्जीव संरचनामाथि सजिव (मानव)ले गरेको चीरहरण । यस्तो लाग्छ, त्यो स्थल भीषण युद्धपछिको भग्नावशेष हो । त्यहाँ पुग्दा सुरुमै भेटिन्छ, एउटा भवन । बाहिरबाट हेर्दा ठिकठिकै देखिने भवनको हरिबिजोग अवस्थामा छ । उक्त भवनमा बाथरुम, शौचालयगरी कूल ८ वटा कोठा रहेका छन् । त्यहाँ जडान गरिएको विद्युत्का तार यत्रतत्र छरिएका छन् । सिसाजडित चार वटा झ्याल फोडिएका छन् । झ्यालका सिसा फोड्नको लागि ढुंगा र इट्टाको प्रयोग भएको प्रष्टै देखिन्छ ।

ढुंगा र इट्टाको प्रयोगबाट तहसनहस भएको सिसा भुँइमा छरिएका छन् । त्यही भवनको बाहिर राखिएको विद्युत्को मिटरबक्समा समेत तोडफोड गरिएको छ । मिटरबक्सका बस्तु झिकिएको छ । ढोकासमेत फोडिएको छ । यतिसम्म कि शौचालयको प्यानसमेत ढुंगाले हानेर फोडिएको छ । भान्सा कोठाभित्रको संरचनासमेत युद्ध हारेका सिपाइ जस्तै ढलेका छन्, यताउति । त्यहाँ तहसनहस भएको संचरना हेर्दा सानोतिनो युद्धकै झल्दो दिन्छ । उक्त भवनको ठिक पछाडिपट्टी छ, अर्को सुविधासम्पन्न भवन । त्यो भवनको अवस्था हेर्दा त झनै रुन मन लाग्छ।

अघिल्लो भवनको भन्दा दुरावस्था छ, त्यहाँको । पाँच बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनहरूमध्ये सबैभन्दा ठूलो भवन हो, त्यो । त्यहाँ दर्जनभन्दा बढी कोठा छन् । ठूलो सभा हल छ । हलमा ढुंगा र इट्टाले हानेर फुटेका सिसाका टुक्रा, मान्छे र बाख्राको दिसा । वियरका बोलत । चुरोट र मेघाश्रीका खोस्टा । हलमा राखिएका पंखासमेत निकालिएको छ । हलभित्र जताजतै माकुराका जालोमात्रै भेटिन्छ । त्यहाँको एउटा कोठामा केही वर्ष पुरानो जस्तो देखिने ओछ्यानसमेत छ । अन्य कोठा, शौचालय र बाथरुम र भान्साको प्रयोजनका लागि बनाइएका संरचना फोडिएका अवस्थामा छन् । उक्त भवनको बाहिर निर्माण गरिएका तीन वटा धारासमेत फोडेर भुइँमा झारिएको छ ।

तीनवटै धाराका संरचना अहिले घोप्टिएको अवस्थामा देख्न सकिन्छ । त्यहाँ भएका धेरै संरचनाहरू चोरी भएको सजिलै अनुमान लगाउन सकिन्छ । हल र सबै कोठामा सिसैसिसा भएकोले हिँड्नसमेत मुस्किल हुन्छ । उक्त भवनको ठिक पूर्वपट्टीको भवनमा पुग्दासमेत उस्तै अवस्था छ । त्यहाँको एउटा कोठामा राखिएको टेबलको हालत खराब छ । त्यसको ठिक अघिल्तिर दुई वटा जर्किनसमेत देखिन्छन् । उक्त भवनमा केही साना र साँघुरा कोठा छन् । त्यहाँपनि शौचालय र भान्सासहिका कोठा छन् । शौचालयको ढोका पूर्णरूपमा फोडिएको छ । भान्सा कोठामा राखिएको पंखासमेत निकालिएको छ ।

त्यहाँ रहेको धाराका संरचनासमेत सबै निकालिएको छ । त्यहाँका कोठामा मान्छेले गरेको दिसा सुकेको अवस्थामा रहेको छ । बाख्राका दिसाको त भण्डारै छ । त्यहाँ रहेका अन्य संरचनाको हविगत पनि उस्तै छ । ती भवन रहेको स्थानदेखि अलि पर एउटा स्वीमिङ पुल छ । त्यहाँ पानी छैन । पूरै लेउ लागेको छ । त्यहाँ अहिले भ्यागुताको राज छ । तारबारले घेरिएको उक्त क्षेत्रको मैदानभरी घाँसैघाँसले जेलिएको छ ।

वडाको गौशाला बनाउने योजना

यो क्षेत्र जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ मा पर्छ । उक्त क्षेत्रको नाम झिझरी हो । जंगलैजगंलले घेरिएको उक्त क्षेत्र झिझरी महिला सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्छ । उक्त स्थानको स्थलगत अवलोकनपछि सबैभन्दा पहिला राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष सोहनलाल थारूलाई हामीले सोधेका थियौँ । झिझरी पुलनजिकै जंगलमा रहेको भवनको अवस्थाका विषयमा तपाईँलाई थाहा छ ? उनले त्यस भवनको विषयमा आफू जानकार रहेको र त्यहाँ पुग्दा रुन मन लाग्ने प्रतिक्रिया दिए ।

उक्त भवन सरंक्षणमा कुनैपनि सरकारी निकायले चासो दिएको देखिँदैन् । बरु स्थानीय सरकारले त्यहाँ गौशाला बनाउने योजना चाहिँ बनाएको छ । मिसन टुडे दैनिकसँगको कुराकानीमा वडा नम्बर ९ का वडाध्यक्ष थारूका अनुसार स्थानीय सरकारले गौशाला निर्माणको योजना बनाइरहेको छ । ‘ढकेरीमा एउटा गौशाला स्थापित छ । त्यसको संरक्षणमा सहयोग पुगोस् भनेर हामीले गौशाला सञ्चालनको योजना बनाएका छौँ । सोहीअनुसार हामीले विभिन्न पक्षसँग छलफलसमेत गरेका छौँ,’ उनले भने । लामो समयसम्म कसैले पनि चासो नदेखाएपछि आफूले डिभिजन वन कार्यालयका प्रमुखलाई संरक्षणको लागि निवेदनसमेत पेस गरेको उनले बताए ।

कार्यालयले प्रहरी मुचुल्कासहित त्यहाँको अवस्थाको विषयमा जानकारी गराउने र थप प्रक्रिया अघि बढाउन छलफल गर्ने बताएको उनको भनाइ छ । आफू अध्यक्ष निर्वाचित भएर आएदेखि विभिन्न निकायमा चार पटकसम्म कुरा गरेको समेत वडाध्यक्ष थारूले बताए । अबको केही दिनमा प्रहरी र सम्पूर्ण सरोकारवालाहरूको उपस्थितिमा त्यसलाई संरक्षणको लागि आफूले पहलकदमी लिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । संघीय सरकारले आफ्नै बजेटमा बनेको संरचना लथालिंग छोडेको भन्दै अब स्थानीय सरकारले यसको जिम्मा लिने उनले बताए ।

उनी भन्छन्, ‘भवन वडा नम्बर ९ मा पर्ने भएका कारण वडा कार्यालयको अगुवाइमा बुद्धिजीवी, समाजसेवी र राजनीतिक दलहरूले निरीक्षण गरेका थियौँ । त्यहाँ पुग्दाखेरी राज्यको ठूलो लगानीमा बनेको संरचनाको संरक्षण नभएको र ध्यान नपुगेको देखिन्छ । भवन जीर्ण अवस्थामा देखिएको छ । त्यहाँको अवस्था देख्दा मन रुन्छ ।’ अहिले वडा कार्यालयले संरक्षणको जिम्मा लिने तयारी गरेको छ । संरक्षणको लागि पहल भइरहेको छ ।

करोडाँै मूल्यमा संरचना संरक्षणमा चरम लापरवाही 

उक्त भवन सशस्त्र वन रक्षकहरूको तालिम प्रयोजनार्थ संघीय सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालय वन तथा भू–संरक्षण विभागले निर्माण गरेको हो । आर्थिक वर्ष २०६७–०७७ तिर उक्त भवन निर्माण गरिएको सरोकारवाला निकायले बताएका छन् । यस विषयमा बुझ्दा डिभिजन वन कार्यालय बाँकेले चार करोड रूपैयाँ लागतमा यो संरचना निर्माण भएको जनाएको छ ।

विभागले नै ठेक्का प्रक्रियामार्फत भवनहरू निर्माण गरेको कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ताले उक्त संरचना संघीय सरकार मातहतको संरचना भएको बताए । उनका अनुसार यस विषयमा वडाध्यक्ष र स्थानीयले समेत संरक्षणको लागि भनिरहेका छन् । तर, आफूहरूको कार्यक्षेत्र अन्तर्गत नपर्ने भएकोले अनौपचारिक रूपमा बुझ्दा विभागले निर्माण गरेको र संरक्षण हुन नसकेको देखिएको उनले बताए ।

‘त्यो संरचना निर्माण सम्पन्न भइसकेको छ । निर्माणपछि भने संरचना प्रयोगमा आएन । अहिले सबै संरचना प्रयोगविहीन अवस्थामा रहेका छन् ।फिल्डमा जाँदा सामान तोडफोड भएको देखिन्छ । यस विषयमा संघीय सरकारले अपनत्व लिनुपर्ने हुन्छ,’ उनले भने । उक्त भवन लामो समयदेखि प्रयोगविहीन छ । संरक्षणविहीन छ । स्थानीय सरकारदेखि जिल्लाका निकाय, प्रदेश र संघीयस्तरका कुनैपनि निकायको ध्यानमा छैन ।

सरकारी बेवास्ताका कारण लामो समयदेखि लावारिस अवस्थामा रहेको उक्त हाल जीर्ण संरचना रहेको क्षेत्रमा कुनैबेला कालिका कन्ट्रक्सन अस्थायी संरचना निर्माण गरेर बसेको थियो । सिक्टा सिँचाइ आयोजना निर्माण गरेको उक्त कम्पनीले त्यस क्षेत्रको काम सकिएपछि आफ्ना सबै संरचना उठाएर लिएको स्थानीय बासिन्दाको भनाइ छ । यस विषयमा विभागका सूचना अधिकारी सबनम् पाठकलाई पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार