देशभरमै उत्कृष्ट बन्यो घरेलु महासंघ कोहलपुर



कोहलपुर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति स्थापनाको छोटो समयमै देशभरका शाखामध्ये उत्कृष्ट बन्न सफल भएको छ । समितिका पदाधिकारीहरुको निरन्तर लगनशिलताका कारण छोटो समयमै कोहलपुर नगर समिति देशभरीका शाखामध्ये उत्कृष्ट भएको हो । यस्तै समिति जिल्ला, प्रदेश र संघीय महासंघबाट पुरस्कृत भएर ह्याट्रिक गर्न सफल भएको छ ।

कोहलपुर समिति नेपाल घरेलु तथा साना उद्योग महासंघ शाखा बाँकेले गत वर्ष जिल्लाका आठ वटै शाखामध्ये उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरेको थियो । यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा समेत प्रदेशभरको उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको अध्यक्ष हेमविक्रम जिसीले जानकारी दिए ।

यतिमात्रै होइन नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ महाधिवेशन तथा २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट देशभरमै उत्कृष्ट हुन सफल भएको छ । अध्यक्ष जिसीले देशभर रहेका घरेलु महासंघका पालिका शाखामध्ये छोटो समयमा आफ्नै कार्यालय भवन निर्माण गरी सञ्चालन गर्न सफल भएको भन्दै सम्मानित गरिएको जानकारी दिए ।

घरेलु कोहलपुरलाई नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशनका अवसरमा कोहलपुर नगर समितिलाई उत्कृष्ट शाखाका रुपमा शुक्रबार सम्मान गरिएको थियो ।‘कोहलपुर समिति देशकै उत्कृष्ट हुन सफल भएको छ ।

हामी जिल्ला, प्रदेश र संघ मार्फत तीनपटक सम्मानित भएका छौँ ।,’ महासचिव चिन्तामणी उपाध्यायले भने, ‘हाम्रो सामुहिक पहलले यो सफलता हासिल भएको छ । हामी निकै खुसी छौँ । अझै थप जिम्मेवारी थपिएको छ ।’ महासंघको नगर समितिको सुविधा सम्पन्न पक्की भवन कोहलपुर– ११  मा निर्माण सम्पन्न भइसकेको छ ।

उक्त भवन निर्माणको लागि कोहलपुर नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । उक्त भवन निर्माणका लागि जिल्लाभरका व्यवसायीहरुले सहयोग गरेको महासचिव उपाध्यायले बताए । जिल्लाभरका इट्टा उद्योगीले भवन निर्माणको लागि ३४ हजार इट्टा सहयोग गरेको उनले जानकारी दिए ।

यस्तै सिमेन्द उद्योगहरुले सिमेन्ट र हार्डवयर व्यवसायहरुले सरिया र सिमेन्ट सहयोग गरेको उनको भनाइ छ । यसैगरी भवन निर्माणको लागि संघीय संसद महेश्वर गहतराज अथकबाट १० लाख, कोहलपुर नगरपालिकाबाट भवन फिनिसिङको लागि कोहलपुर नगरपालिकाबाट थप ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

यसैगरी नगर समितिले आयोजना गरेको मेलाबाट बचेको २० लाख र समितिको शाखामा रहेको २ लाख रुपैयाँ भवन निर्माणमा खटिएका श्रमिकको लागि खर्च गरिएको अध्यक्ष जिसीले मिसन टुडे दैनिकलाई जानकारी दिए ।

केन्द्रमा बाँकेका आधा दर्जन

अहिले नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय समितिमा बाँके जिल्लाको पनि अर्थपूर्ण सहभागिता भएको छ । समितिमा महिला र पुरुष केन्द्रिय उपाध्यक्षसहित अन्य केन्द्रिय सदस्य निर्वाचित भएका छन् । महासचिव उपाध्यायले बाँके जिल्लाबाट प्रतिनिधित्व गर्दै २५औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय उपाध्यक्षमा पुनः पूर्णबहादुर भण्डारी निर्वाचित भएका छन् ।

उनी यसअघि पनि केन्द्रिय उपाध्यक्ष थिए । यसैगरी केन्द्रिय महिला उद्यमी समितिको उपाध्यक्षमा बाँकेकी कृष्णा पाठक निर्वाचित भएकी छन् । समितिको केन्द्रिय सदस्यहरुमा बाँकेबाटै कुबेर रिजाल, शेषकान्त शर्मा, जीवनाथ सापकोटा र रामचरण विसी निर्वाचित भएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन वीरगञ्जमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २९ गते आइतबार