जोगबुढा नदीका कारण डुबान समस्या झेल्दै जर्का



धनगढी ।

चार दिनअघि जोगबुढा नदी रामपुरे टापुको बाँध भत्काएर नर्सरी हुँदै जर्का टोल पुग्यो । देउरालीघाट हुँदै निस्किने खल्ला पनि भरिँदै गएर बस्तीमा आउन थाल्यो । दुवैतिरको बाढीले बिहानै बस्ती डुबानमा प¥यो । घरभित्र पानी भरिएपछि दोधारा चाँदनी नगरपालिका ८ जर्का टोलका रामबहादुर खड्का बाकसबाट नागरिकता झिकेर ज्यान जोगाउन परिवारसहित लिएर हिँडे । बस्तीका अन्य वासिन्दासित हिँडेर उनी जनज्योति माध्यमिक विद्यालय पुगे । त्यहाँ बस्तीका सबै वासिन्दालाई बसोबासको व्यवस्था गरिएको थियो । तीन दिन जनज्योति बसेर गत बुधबार खड्का घर फर्किए । जनज्योतिको बसाइँ राम्रो भएको उनी बताउँछन् ।

‘पानी घरभित्रै घुसेको थियो, नागरिकता लिएर हिँडे, अरु त भोलि पनि बनाउन सकिन्छ, नागरिकता जस्तो कुरा बनाउन सकिँदैन भनेर त्यो मात्रै लिएर हिँडे,’ खड्काले भने । घर फर्किएका खड्का अझै घरभित्र ढुक्कसित सुत्न सक्ने अवस्थामा छैनन् । घरका कोठाहरू हिलाम्य छ । बाढीसित आएको माटोको लेदो कोठाभरि छ । बुधबार बिहानदेखि खड्काले घरभित्र सफाइ गरे । पूरै घर सफा गर्दा पनि बस्न सकिने अवस्था नभएको खड्का बताउँछन् । ‘घर बस्नलायक छैन्, सफाइ गरेपनि बस्नलाई अझै एक हप्ता लाग्छ,’ उनले भने । खड्काको घरको आँगनमा पनि लेदोले हिलाम्य छ । आँगनमा हिँडडुल गर्न समस्या छ खड्का परिवारलाई । उनको परिवारमा उनीसहित पाँच जना छन् । खडकाले घरभित्र सुत्नलाई इँटा र भुस राखेर खाटलाई उचो बनाएर मात्र सुत्न सकिने बताए ।

‘ब्लक र भुसा राखेर अलि उचो बनाएर खाट राखे मात्रै कोठाभित्र सुत्न सकिन्छ,’ उनले भने, ‘नत्र छतमा गएर सुत्नबाहेक अरु बाटो नै छैन ।’ खड्काका अनुसार बस्तीमा सबै घरभित्र बाढी पसेर बस्न सकिने अवस्था छैन् । जोगबुढा नदी किनारको जर्का टोलका ५ घरबाहेक सबै टिनले छाएका कच्ची छन् । ढड्डीको बार लगाएर ती सबै घरलाई माटोको गारो लगाएर बनाइएको छ । बस्तीमा तीन दर्जन घर छन् । टिनको छानो भएका परिवारले हिलो सफा गरेर घरभित्र बस्नुको विकल्प नभएको खड्काले बताए ।

‘पक्की घर बनाउन कमाइ छैन, कमाइ नभएपछि बनाउन सकिएन,’ उनले भने, ‘अब जसको पक्की घर छ, वहाँहरूलाई त सुत्नलाई छत छ, अरुले त खाटलाई उचो बनाएर त्यसैमा सुत्नुपर्छ ।’ बाढीले खड्का परिवारको घरभित्र राखिएको गहुँ ड्रममा क्षति पुराएको छ । सबै वासिन्दाको धान र भटमासमा क्षति पुगेको उनले बताए । ‘१०÷१५ हजार लगाएर धान लगाएँ, बाढीले क्षति गरिदियो,’ उनले भने, ‘सबैको क्षति भएको छ, बर्बाद नै गरिदियो ।’ खड्काले २०८१ पछि खेतमा धान देख्न नपाएको व्यथा पोखे । ‘८१ सालमा बाढी आयो, धान देख्नै पाएनौँ,’ उनले भने, ‘पूरा एरियामा यस्तै छ, काट्न देख्न पाएका छैनौँ ।’ सोमबार बिहान बाढी पसेपछि बस्तीका सबै वासिन्दा घर छाडेर निस्केको उनले सुनाए । ‘हामी विद्यालयमा गयौँ, कोही आफन्तको घर गए, यो नजिक उचो घर छन्, कोही त्यता पनि गए, ज्यान त जोगाउनु नै परो,’ उनले भने ।

जर्का टोलका कर्णबहादुर सुनार पनि घर फर्केपछि खेत हेरेर चिन्तामा छन् । बाढीले धानबाली क्षति भएको सुनारले बताए । ‘खेतका धान मकै सबै क्षति भएको छ,’ उनले भने, ‘अब कसरी हातमुख जार्ने हो, चिन्ता छ ।’ स्थानीय यमबहादुर थापा मगरले पनि घर फर्किएर सफाइ गरेका छन् । घरभित्र पानी पसेर हिलाम्ये भएको उनी बताउँछन् । ‘घरभित्र हिलो भरिएको छ, फर्स त सफा ग¥यौँ, त्यो हिलो त सफा गरेपनि बस्ने जस्तो छैन,’ उनले भने । थापामगरको पक्की घर छ । घरको आँगनमा पनि हिलाम्य भएर हिँड्न समस्या भएको उनी बताउँछन् ।

जोगबुढा नदी किनारको जर्का टोल बस्ती २०२६ मा बसेको हो । पहिले यस बस्तीलाई टलटले भनिन्थ्यो । जर्का टोलसित जोडिएको छ रामपुर टापु बस्ती । रामपुरे टापुको नर्सरी भएर आउने बाढीले जर्का टोल डुबानमा पर्ने गरेको हो । स्थानीय खड्काले केही वर्षदेखि बस्तीमा बाढी आउन थालेको बताए । उनका अनुसार जोगबुढा नदीको बाढी आएर बस्तीमा डुबान हुने गरेको छ । जोगबुढा नदी रामपुरे टापुको नर्सरी र नर्सरीको क्षेत्रबाट बस्तीमा आउने गर्छ । अर्को रामपुरे टापु भएर आउने देउराली खल्ला भरिएपछि बस्तीमा जान्छ ।

‘देउराली खोला भरिएर आउँछ, जोगबुढा पनि आउँछ, दुवै बस्तीमा फैलिन्छन्, अनि डुबान हुन्छ,’ खडकाले भने । भारतको जोगबुढा नदीमा पानी छाड्दा हिउँदमा समेत बाढी आउने गरेको स्थानीय बताउँछन् । जर्का टोलको बाढी रोक्न बलियो तटबन्ध बनाउनु पर्ने उनले बताए । ‘भारतले यता नदीमा पानी छाडिदिन्छ, त्यति बेला पनि आउँछ, त्यसैले मजबुत तटबन्ध बनिदिओस्, हामी यत्ति चाहन्छौँ,’ उनले भने । स्थानीयले बाढीपछि राहत बाँड्ने कार्य बन्द गरी तटबन्ध बनाउनु पर्ने माग गरे ।

टलटले सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका थापामगरले जर्का टोल श्रीलंका भएको बताइन् । ‘यो बाढीको बेलामा आएर राहत बाँड्ने कार्य गर्नभन्दा तटबन्ध बनाइदिनु प¥यो,’ उनले भनिन् । दोधारा चाँदनी नगरपालिकाका अनुसार जोगबुढा नदीको बाढीले पटरा खल्ला, कुतियाकबर, जर्का टोल, सुन्दरनगर, कञ्जभोज र शान्ति टोलमा क्षति पुराएको छ । कुतियाकबरमा डेढ बिघा जमिन कटान गरेको छ । रामपुरे टापु र पटारा खल्लामा बाँध भत्किएर जोगबुढा बस्तीमा पसेको हो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुले बाढीले घर छाडेका सबै बासिन्दा घर फर्किएको बताए ।

‘पटारा खल्ला २२, जर्का टोल ३४ घर, रामपुर टापु, शान्ति टोल सबै क्षेत्रबाट सुरक्षित स्थानमा राखिएका सबै आफ्नो घर फर्किसकेका छन्,’ उनले भने । नगरपालिका र विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा विस्थापित परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको नगरप्रमुख लिम्बुले बताए । महाकाली नदी र जोगबुढाको बाढी रोक्न तटबन्ध निर्माणबाहेक अन्य विकल्प नभएको लिम्बुको भनाइ छ ।

स्थानीय सरकार तटबन्ध बनाउन सक्ने अवस्थामा छैन, संघ र प्रदेश सरकारसित आग्रह गर्दै आएका छौँ, दबाब दिँदै आएका छौँ,’ उनले भने ।
जर्का टोलका बासिन्दा खड्काले नेताहरू चुनावमा तटबन्ध निर्माण गर्ने आश्वासन दिएर जाने बताए । गृहमन्त्री रमेश लेखकले २०७९ को निर्वाचनमा तटबन्ध बनाएर छाड्ने आश्वासन दिएको स्थानीयले बताए । ‘वहाँले त जसरी पनि तटबन्ध बनाउँछु भन्नुभएको थियो, अहिलेसम्म बनेको छैन,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार