शेरबहादुर ऐर । कैलाली ।
तीन दिनअघि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । कैलालीको गेटामा सञ्चालन हुने भनिएको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बसेका डाक्टर केसीले मंगलबार दिउँसो कञ्चनपुरका ५२ वर्षीय पृतिम चौधरीको हातबाट जुस पिएर अनशन स्थगित गरेका हुन् । यसअघि आमरण अनशन बस्दै आएका डाक्टर केसीले गेटामा भने तीन दिनको अवधि तोकेरै २३औँ अनशनको थालनी गरेका थिए ।
केसीको शरीरमा ग्लुकोजको मात्रा तीव्र गतिमा घट्न थालेको थियो । मंगलबार बिहान ६ बजे ३७ रहेको ग्लुकोजको मात्रा ११ बजे २७ मा झरेको थियो । डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढंगले निजी मेडिकल कलेजहरूलाई विद्यार्थी सिट सङ्ख्या वृद्धि गर्ने निर्णय गरेको आरोप लगाएका थिए । उनले तुरुन्त उक्त निर्णय फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तत्काल पूर्णक्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न माग गरेका गरेका थिए ।
गेटा अस्पतालमा भर्ना
डाक्टर केसीले अनसन स्थगित गरेलगत्तै सोही अस्पताल भर्ना भएका छन् । शरीरमा ग्लुकोजको मात्रा घटेपछि उनलाई गेटा अस्पतालमा भर्ना गरिएको हो । डाक्टर केसीका सहयोगी अमृत जैसीका अनुसार अनसन स्थगित गर्नुअघि उनको शरीरमा ग्लुकोजको मात्रा २७ मा झरेको थियो।
‘शरीरमा सयभन्दा माथि हुनुपर्ने ग्लुकोजको मात्रा २७ मा झर्नु भनेको खतरा हो । ग्लुकोजको मात्रा कम हुँदा स्वास्थ्यमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएको हो,’ जैसीले भने, ‘उहाँ मंगलबार अस्पतालमै बस्नुहुन्छ ।’
ग्लुकोजको मात्रा घटेकाले डाक्टर केसीलाई रिंगटा लाग्ने, मांशपेशी बाउँडिने, मुटुको चालमा गडबडीजस्ता समस्या देखिएको उनका सहयोगीले बताएका छन् । अनशन स्थगित गर्नुअघि उनले ग्लुकोज चढाउन मानेका थिएनन् । अस्पतालमा डाक्टर केसीलाई ग्लुकोज चढाइरहेको जैसीले बताए ।
प्रधानमन्त्री तथा मन्त्रीहरूलाई ज्ञापनपत्र
कैलालीको गेटामा स्थापित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन माग गर्दै प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । विश्वविद्यालय सञ्चालनका लागि संघर्षरत सुदूरपश्चिमवासीको स्वस्फूर्त प्रयासलाई अघि बढाउँदै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा २०८० सालमा विधेयक पारित भई २०८२ जेठ ४ गते प्रतिनिधि सभाबाट स्वीकृत र राष्ट्रपतिमार्फत प्रमाणीकरण भइसकेको उक्त विश्वविद्यालय अझै कार्यान्वयनमा आउन नसक्दा स्थानीयवासी निराश भएको भन्दै सरकारसँग ऐन कार्यान्वयन गर्न माग गरिएको छ । समितिले विश्वविद्यालयको संरचना तयार गर्न, पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउन र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र शैक्षिक कार्यक्रम सुरू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘सुदूरपश्चिमका जनताले गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान तथा रोजगारीका लागि यो विश्वविद्यालयलाई अत्यन्तै जरुरी मान्दछन् । तर, सरकारले आवश्यक पहल नगर्दा यो ऐतिहासिक विश्वविद्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।’ समितिले एमबीबीएस, नर्सिङ, अन्य स्वास्थ्य विज्ञानका अध्ययन कार्यक्रम सञ्चालन, ६ सय शय्याको अस्पताल सञ्चालन, प्रयोगशाला तथा अनुसन्धान केन्द्र स्थापना लगायतका कार्य तत्काल सुरु गर्नुपर्ने माग गरेको छ ।
ज्ञापनपत्रमा संघर्ष समितिका संयोजक लोकेराज पाण्डे (आगो), सहसंयोजक आनन्दप्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर छ । ज्ञापनपत्र बुझाउन संघर्ष समितिका सदस्य र नागरिक समाजका प्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।









प्रतिक्रिया दिनुहोस्