धनगढी ।
कैलालीमा रहेको सबैभन्दा पुरानो प्रशासनिक भवन नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सो राणाकालीन ऐतिहासिक भवन नष्ट भएको हो । राणाकालीन समयमा निर्माण गरिएको भवनमा जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी गरेका थिए । आगजनीबाट भवन पूर्णरूपमा नष्ट भएको छ । यो भवनबाट जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवा दिँदै आएको थियो ।
यसअघि प्रशासनले आफ्नो सेवा पूर्णरूपमा यही ऐतिहासिक भवनबाट दिएपनि नयाँ भवन निर्माणपछि पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम मात्रै हुने गरेको थियो । आन्दोलनकारीले आगजनी गरेपछि पुरानो भवन ढलेर खरानी भएको छ । जिल्ला प्रशासन कार्यालयपरिसरमा अब यसको भग्नावशेष मात्रै बाँकी छ । आगजनीबाट कैलालीको एउटा सम्पदा नै ध्वस्त भएको टीकाटिप्पणी भइरहेको छ ।
‘यो घर सम्पदा नै थियो, अब खरानी भएको छ,’ स्थानीय प्रभाकर भण्डारीले भने । आन्दोलनकारीले कैलालीको एउटा इतिहास जलाएको स्थानीयको गुनासो छ । राणा शाषणका बेला कैलाली र कञ्चनपुरको गोश्वारा (प्रशासनिक केन्द्र) कञ्चनपुरको बेलौरीमा रहेको बताइन्छ । पछि विक्रम संवत् १९९७ मा त्यो गोश्वारा धनगढी सारिएको थियो । त्यसताका धनगढीमा गोश्वारा, अञ्चलाधीशको कार्यालय, कारागार, वन विभाग र मालअड्डा गरी पाँच वटा कार्यालय मात्रै पक्की घरमा रहेको धनगढीको विकासका साक्षी स्वर्गीय शिवदत्त जोशीले लेखेका छन्, ‘उहिलेको धनगढी’ भन्ने लेखमा उल्लेख छ ।
त्यसताकाको गोश्वारा नै पछि जिल्ला प्रशासन कार्यालयमा परिणत भएको बताइन्छ । पूर्णरूपमा नष्ट भएको भवनको अभिलेख नभएका कारण कहिले बनेको हो भन्ने यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । सो भवन पुनर्निर्माण गर्ने वा के गर्ने भन्ने विषयमा कुनै निर्देशन नआएको उनले बताए । ‘हामीले यसको अभिलेख खोजिरहेका छौँ,’ जोशीले भने ।








प्रतिक्रिया दिनुहोस्