अत्यावश्यक सेवा सुचारु गर्दै कैलालीका कार्यालय



शेरबहादुर ऐर । कैलाली ।

कैलाली जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा सुचारू गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनपछि आगजनीले सबै भौतिक संरचना, सरसामान तथा कागजपत्र जलेर नष्ट भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले टेन्ट टाँगेरै भएपनि अत्यावश्यक सेवा सुचारू गरेको थियो । आगोले जलेर खण्डहरमा परिणत भएको प्रशासन कार्यालय परिसरमा शनिबार सरसफाइ गरिएको थियो ।

सेवा सञ्चालन गर्न दाताले कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका नभइनहुने सामान उपलब्ध गराएपछि कार्यालयले अत्यावश्यक सेवा सुचारू गरेको थियो । धनगढीमा यातायात व्यवस्था कार्यालयले शुक्रबारदेखि जलेको कार्यालय सरसफाइ गरी आंशिकरुपमा सेवा सुरु गरेको छ । कार्यालय सरसफाइ र मर्मतको केही काम भएपछि सवारीसाधन जाँचपास, नवीकरण, दर्ता, कर संकलन र रुट प्रमिट दिने काम सुचारु गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी पूर्णसेवाहरू सुचारु गर्न बाँकी रहेको जनाएको छ । २४ भदौमा भएको जेनजी आन्दोलनमा सुदूरपश्चिम प्रदेशमा ठूलो क्षति पुग्यो । प्रदर्शनकारीले प्रादेशिक संरचना पनि निशानामा बनाएका थिए । आन्दोलनका क्रममा मन्त्रालय, कार्यालयमा अत्यधिक क्षति भएपछि प्रादेशिक संरचनाअन्तर्गतका धेरैजसो अड्डाका कामकाज ठप्प रहेका थिए । आन्दोलनकारीले प्रदेशसभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयलगायतका मन्त्रालय र मातहतका विभिन्न कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

आन्दोलनकारीले प्रदेशसभामा पनि आगजनी गरेको हुँदा भौतिक संरचना तहसनहस भएकाले तत्काल कामकाज थाल्न सम्भव नरहेको प्रदेश सभामुख भीमबहादुर भण्डारीले बताए । पुनर्निर्माणपछि मात्रै प्रदेशसभाको बैठक बस्नेगरी कामकाज हुने उनको भनाइ छ । प्रदेश सरकारले पनि सकेसम्म चाँडै प्रादेशिक संरचना सञ्चालन गर्ने गृहकार्य गरिरहेको जनाएको छ । आगजनीबाट मन्त्रालयमा क्षति पुगेपनि सरसफाइ र केही आवश्यक सामग्री जडान गरेर सेवा दिन सकिने मन्त्रालय र कार्यालयहरूलाई चाँडै सेवा सुचारु गर्न मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिइसकेका छन् ।

क्षतिग्रस्त संरचनाको अनुगमनका क्रममा मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी धेरै क्षेत्रसँग सम्बन्धित रहेका कारण सकेसम्म चाँडै मन्त्रालयको कामकाज सुचारु हुनुपर्ने औँल्याएका थिए । जस्तोसुकै विषम परिस्थितिमा पनि जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेको भन्दै उनले छिटोभन्दा छिटो कार्यालय सञ्चालन गरी जनतालाई सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार