धनगढी सभाहल तोडफोडले फेरी प्रयोगविहीन



शेरबहादुर ऐर । कैलाली ।

बाहिर प्राङ्गण र भवनभित्र सिसाहरू फिँजिएका छन् । अग्नि नियन्त्रकका सामानहरू तोडफोड गरिएका छन् । कुर्सीमा आगजनीको प्रयास भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित करोडौँ लगानीमा बनेको धनगढी नगर सभाहल सञ्चालन नहुँदै प्रयोगविहीन अवस्थामा पुगेको छ । भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा सरकारी कार्यालयहरू आगजनी र तोडफोडका साथै लुटपाट भइरहेको थियो ।

सोहीक्रममा सरकारको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको धनगढी सभाहल पनि प्रदर्शनकारीको निशानामा रह्यो । धनगढी नगर सभाहल निर्माण भएको अढाइ वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । २०८१ साल फागुन २५ गते भव्य समारोहकाबीच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्तान्तरण गरिएकै कारण सभाहल सो समूहको निशानामा परेको जनाइएको छ । प्रधानमन्त्री ओलीले फागुनमा सभाहल धनगढीलाई हस्तान्तरण गरेको भएपनि सभाहलमा आवश्यक पर्ने सामाग्री साउण्ड सिस्टम, फर्निचर जडान नहुँदा सञ्चालनमा ल्याइएको थिइएन ।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले नगर सभाहलमा भएको क्षतिको विवरण माग गरेको तर, अहिलेसम्म जानकारी नआएको बताए । उनले भने, ‘सहरी विकास डिभिजन कार्यालयबाट आवश्यक सामाग्री जडान भइरहेको थियो । सभाहलमा जडान गरिएका अग्नि नियन्त्रक तोडफोड भएको छ । भवनका सिसाहरूमा ढुङ्गा हानेर फुटाइएको छ ।’ उनले सभाहल मर्मतका लागि सहरी विकास कार्यालयलेनै नयाँ ठेक्का आह्वान गरि मर्मत गर्ने बताए ।

पौने ३१ करोड रूपैयाँमा निर्माण भएको भवन मर्मतमा के कति खर्च लाग्ने भन्ने अहिले यकिन भइनसकेको उनको भनाइ छ । सहरी विकास डिभिजन कार्यालयले सवा दुई करोडको साउण्ड सिस्टम र भिआइपी फर्निचर जडान कार्य जारी राखेको थियो । तर, धनगढीले सञ्चालन कार्यविधि भने बनाएको छैन । सञ्चालनको मोडालिटी निर्धारण र कार्यविधि बनाउने काम धनगढी उपमहानगरपालिकाको रहेको थियो ।
भदौ २४ गते सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकाय र संघीय सरकार मातहतका कार्यालयहरूमा आगजनी र तोडफोड भइरहँदा धनगढी उपमहानगरपालिकाका संरचना सुरक्षित थिए ।

तर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहकाबीच भवन उपमहानगरपालिकालाई हस्तान्तरण गरेकै कारण आन्दोलनकारीले भवनमा क्षति पु¥याए । यद्यपि सभाहलमा आगजनी प्रयास भने असफल भएको देखिन्छ । सभाहलमा राखिएका कुर्सीमा आगजनीको प्रयास भएको त्यहाँ जलेको अवस्थामा भेटिएका कुर्सीले पुष्टि गर्छ । सभाहल निर्माण कम्पनीले २०७९ असारमा सम्पन्न गरी संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरेको थियो ।

त्यसै बेला इकाईले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने योजना बनाएपनि उपमहानगरपालिकाले फर्निचर र साउण्ड सिस्टम जडान भएपछि मात्रै बुझ्ने अडान लिएपछि सो कार्य हुन सकेको थिएन । धनगढी गाउँमा डेढ बिघा जमिनमा राष्ट्रिय सभागृहको मोडेलमा नौ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, दुई सय जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा रिहल्सल कक्ष निर्माण गरिएको छ । करिब चार सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ ।

आयोजना कार्यालयका अनुसार बिजुली–बत्तिसहित तातो–चिसोका लागि एसी तथा हिटर, खानेपानी जडान र गार्डेन डिजाइन लगायत सम्पूर्ण कार्य अढाइ वर्ष पहिले भएको थियो । सभागृह निर्माण भइसकेको भएपनि साउण्ड सिस्टम र सञ्चालन मोडालिटी तथा कार्यविधिको अभावमा प्रदेश सरकार, स्थानीय सरकारका कार्यक्रमहरू होटल र पार्टी प्यालेसमा भइरहेका छन् । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने ठूला कार्यक्रमहरू सभाहलको अभावमा पार्टी प्यालेस, होटलमा गर्नुका साथै मन्त्रालयको प्रांगणमा टेण्ट लगाएर आयोजना गर्ने गरिएको छ ।

धनगढीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर बनाइएको सभाहल सञ्चालन हुन नसक्दा सरकारी कार्यालयहरूले त्यस्ता कार्यक्रम महंगो भाडा तिरेर पार्टी प्यालेस र होटलमा सञ्चालन गरिरहेका हुन् । जेनजी समूहको आन्दोलनका क्रममा धनगढी नगर सभासँगै धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ को वडा कार्यालयमा तोडफोडसँगै आगजनी भएको थियो भने वडा नम्बर ४ र ८ को कार्यालयमा तोडफोड भएको उपमहानगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार