जेनजी आन्दोलनः ओली ब्यारेकमै, प्रचण्ड छुटे, देउवा दम्पती अस्पतालमा



कोहलपुर (बाँके) ।

आजभन्दा दुई दशकअघिको एक गज्जबको संयोग छ । २०५९ वैशाख १२ गतेको कुरा हो । सरकारी पत्रिका गोरखापत्रमा सूचना जारी गर्दै तत्कालीन सरकारले सशस्त्र संघर्षमा रहेका माओवादीका तीन नेताको टाउकाको मूल्य तोकेको थियो । त्यसरी टाउकाको मूल्य तोकिनेमा माओवादीका प्रमुख तीन नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र मोहन वैद्य किरण थिए ।

सरकारको उर्दी थियो, ‘पक्राउ गर्ने वा नियन्त्रणमा जीवित वा मृतरूपमा सुरक्षाकर्मीलाई बुझाउने व्यक्तिलाई पुरस्कारस्वरूप ५० लाख दिने ।सुराक दिई पक्राउ परेमा सुराक दिनेलाई सो रकमको ५० प्रतिशत पुरस्कार उपलब्ध गराउने ।’ ‘झोलामा माओवादी नेताको टाउको ल्याउनुहोस्, त्यसै झोलाभरि पैसा लैजानुहोस् ।’ भन्ने तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको भनाइ चर्चित र विवादित भएको थियो ।

त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खुमबहादुर खड्का थिए । प्रचण्डहरू पक्राउ परेनन् । माओवादी द्वन्द्वपछि खुला राजनीतिमा आइसकेपछि प्रचण्ड–देउवाले पटकपटक सत्ता सहकार्य गरे । पालैपालो प्रधानमन्त्रीसमेत भए । राजनीतिमा कोहीपनि स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने उक्ति चरितार्थ हुनेगरी प्रचण्ड र देउवाहरूले २०६४ देखि प्रधानमन्त्री पदलाई म्युजिकल चियर जस्तो बनाएर घुमाइरहे । यो सत्ता स्वार्थमा छुटाउनै नहुने नाम हो, केपी शर्मा ओली ।

शीर्ष दल र तीनका प्रमुख नेताका रूपमा उनीहरूको अस्थिर राजनीतिले न देशले निकास पायो, त न जनताले परिवर्तनको आभास गर्न पाए ।मुख्यतः दलहरूका व्यवहारका लागि जनता आजित भइसकेका थिए । पछिल्लोपटक २०७९ सालको निर्वाचनमा नयाँ अनुहार र पार्टीलाई रोजेर अब तिमीहरूको विकल्प सकियो भन्ने सन्देश दिइसकेका थिए । शीर्ष दलका नेताका रूपमा प्रचण्ड, देउवा र ओलीहरूले जनताको अव्यक्त आक्रोसलाई बुझ्नै सकेनन् । बरु जनताको आक्रोस र असहमतिको घाउमा नुनचुक छर्किरहे ।

पछिल्लोपटक केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको किनाराको साक्षी देउवा बने । प्रमुख प्रतिपक्ष दलका नेता रहेका प्रचण्ड रक्षात्मक देखिए । सरकारले एकपछि अर्को गर्दै गरेका गलत निर्णय नेपाली जनता खासगरी नयाँ पुस्ताले रुचाएको थिएन । सरकार र तीनै हजुरबा पुस्ताहरूसँगको विद्रोह थियो, सेप्टेम्बर ८ को जेनजी आन्दोलनको शुभारम्भ । जेनजीहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले यस्तो कायरता देखायो कि एकैदिन १९ जना विद्यार्थी र युवालाई टाउको र छातीमै ताकीताकी गोली हानेर हत्या ग¥यो । पछिल्लो दिनको आन्दोलनका क्रममा देशले अपुरणीय क्षति मात्रै व्यहोरेन, ओली सरकारको कुर्सी नै जल्यो ।

पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, प्रमुख दलका नेता, राज्यका प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका सम्पूर्ण संंरचना जलाएर खरानी बनाइयो । प्रधामन्त्रीदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीहरूलाई सेनाले सुरक्षा दिनुप¥यो । निवर्तमान प्रधानमन्त्री तथा केपी शर्मा ओली र केही मन्त्री त अझै शिवपुरीको सैनिक ब्यारेकमै छन् । ओलीका सुरक्षा संवेदनशीलता र अन्य केही मन्त्रीका घर जलेका कारण व्यवस्थापन नभएका कारण ब्यारेकमै राखिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत शिवपुरीमै छन् । आन्दोलनको क्रममा बुढानिलकण्ठको भंगालस्थित उनको निवासमा समेत आगजनी र तोडफोड गरिएको थियो ।

आन्दोलनका क्रममा असुरक्षा हुँदा नेपाली सेनाद्वारा उद्धार गरेर शिवपुरी लगिएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणा स्वास्थ्य लाभ गरिरहेका छन् । उनीहरूमाथि आन्दोलनकारी घरमै कुटपिट गरेका थिए । कुटपिटबाट देउवा दम्पती घाइतेसमेत भए । शिवपुरी मै उनीहरूको उपचार भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरले पटकपटक लिन खोजेपनि अवतरण हुन नसकेपछि गाडीमै शिवपुरी लगिएको थियो । शिवपुरी मै उनीहरूको उपचार भइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू भने शिवपुरीबाट निस्किसकेका छन् । प्रचण्डले त आन्दोलनका क्रममा जलाइएको पेरिसडाँडास्थित पार्टी कार्यालय नै अनुगमन गरे । उक्त अवसरमा बोल्दै पार्टीको नयाँ स्मार्ट कार्यालय स्थापना गर्ने उद्घोष गरेका हुन् । जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका प्रचण्डले पार्टी कार्यालयसमेत सरसफाइ गरेका छन् ।

माधव नेपालले सोमबार नै केन्द्रीय कार्यालय आलोकनसहित ११ ठाउँको अवलोकन गरेका थिए । उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, कान्तिपुर टेलिभिजन र अरु नेताहरूको जलेको घर अवलोकन गरेका छन् । शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तको जलेको घर अध्यक्ष नेपालले अवलोकन गरे । नेपाललाई सेनाले २५ भदौमै ब्यारेकबाट छोडेको थियो । प्रमुख पार्टीहरू बिस्तारै नियमित कर्ममा फर्किने प्रयास गर्दैछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार