माटो परीक्षणपछि बढ्यो उत्पादन



पबित्रा परियार

परम्परागत तरिकाले धान खेती गर्दैआएका बाँके कोहलपुरका ५७ वर्षीय मोतिलाल खत्रीले उब्जनी राम्रो गर्नका लागि कडा मेहनत गर्दै आएपनि उत्पादनमा फरक नपरेपछि उनले आफ्नो खेतको माटो परीक्षण गर्ने निर्णय गरे । त्यो समय माटो तथा मल परीक्षण प्रयोगशाला खजुराले कृषि विकास शाखासँगको सहकार्यमा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा उनले आफ्नो खेतको माटोको परीक्षण गराए । खत्रीले परीक्षण गराएको माटोको रिपोर्टअनुसार उनको खेतको माटोमा पोटासको कमी देखियो ।

पोटासको कमीले धानको बोट बलियो नहुने र धानको बाला पनि राम्रोसँग नलाग्ने समस्या देखिने प्राविधिकहरूले बताए । प्राविधिकको सल्लाहअनुसार खत्रीले मलको सही प्रयोग, सही बीउ र सिँचाइको मात्रा व्यवस्थापन गरेर उनले गत वर्ष रोपाइँ गरे । रोपाइँपछि उनले धानमा लाग्ने रोगहरूको समेत व्यवस्थापन नयाँ तरिकाले गरे । ‘अघिल्लो वर्षहरूभन्दा गत वर्ष धान उत्पादन पनि राम्रो भयो,’ खत्री भन्छन्, ‘माटोले पनि उत्पादनमा असर पर्ने रहेछ, पहिले बाली कम उत्पादन हुन्थ्यो माटोको उपचार गरेपछि अहिले उत्पादन राम्रो हुँदै गएको छ ।’

उनले थपे, ‘पहिले २५ देखि ३० क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले ५० देखि ६० क्विन्टलसम्म उत्पादन हुन्छ । मैले प्रत्येक वर्ष माटोको परीक्षण गर्छु । अहिलेसम्म मैले करिब चार पाँच पटकसम्म माटोको परीक्षण गरिसके ।’ यस वर्षको रोपाइँ सकिसकेका उनी यस वर्षको धान उत्पादन राम्रो हुनेमा विश्वस्त छन् । यस्तै कोहलपुर नगरपालिका वडा न १४ का अर्का किसान रमेश चौधरीले पनि आफ्नो खेतको माटो परीक्षण गरे । उनी भन्छन्, ‘पहिले माटो परीक्षण गर्नुपर्छ भन्ने बारेमा थाहा थिएन । पछि थाहा पाएपछि माटो परीक्षण गरे, मेरो खेतको माटोमा अम्लीय पदार्थ धेरै रहेछ जसका कारणले गर्दा खेतमा उब्जनी पनि राम्रो हुँदैन थियो ।’

‘गत वर्ष माटोको परीक्षण गरेँ र प्राविधिकको सल्लाहअनुसार माटोको उपचार पनि गरे,’ चौधरी भन्छन्, ‘त्यही खेतबाट पहिलेभन्दा ४–५ क्विन्टल धानबढी फल्यो । गत वर्षको भन्दा यस वर्ष धान अझै बढी उत्पादन हुन्छ कि भन्ने आस छ ।’ खजुरा गाउँपालिका वडा न २ का किसान लालबहादुर खत्रीले पनि गत वर्ष आफ्नो खेतको माटो परीक्षण गराएका थिए । माटोको परीक्षणपछि आएको रिपोर्टअनुसार उनको खेतमा रहेको माटोमा अम्लीय पन÷क्षारीय पदार्थ देखियो । ‘यो देखिनु सामान्य हो भनेर प्राविधिकहरूले बताएका छन्,’ खत्री भन्छन्, ‘प्राविधिकहरूको सल्लाहअनुसार खेतमा प्राङ्गारिक मलको मात्र बढी प्रयोग गर्नुपर्ने भएकाले यस वर्ष खेतमा बढी मात्रामा प्राङ्गारिक मलको प्रयोग गर्ने सोच बनाएको छु ।’

माटोको परीक्षणबाट माटोमा रहेको पिएच स्तर, नाइट्रोजन, फस्फोरस, पोटासियमको मात्रा, सूक्ष्म पोषक तत्वको अवस्था र कार्बन पदार्थको अनुपात किसानहरूले थाहा पाउने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे बताउँछन् । उनका अनुसार किसानले खेती गरिरहेको माटोमा अत्यधिक अम्लपन, पोषक तत्वको असन्तुलनले गर्दा बालीमा रोग लाग्ने, धानमा बाला राम्रोसँग नलाग्ने समस्या बढ्दो हुन्छ । ‘किसानहरूले माटोमा मल तथा सिँचाइको व्यवस्थापन राम्रोसँग गरेमा कोसे बाली तथा अन्न बालीको समेत उत्पादन राम्रो हुन्छ,’ घिमिरे भन्छन्, ‘माटोको परीक्षण गर्दा माटोको अवस्था थाहा पाइन्छ र माटोको उपचार गरेर वा सो माटो सुहाउँदो बाली लगाएमा जुनसुकै बालीको उत्पादन पनि राम्रो हुन्छ ।’

पछिल्लो समय गहुँ, मुसुरो, अरहर लगायतका बालीको उत्पादन पनि राम्रो भएको घिमिरेले बताए । उनी भन्छन्, ‘माटोको जाँच गरेर आवश्यक मात्रामा मलचुना वा सुधारात्मक उपाय अपनाएर खेती गरिरहेका किसानहरूको धान उत्पादन हेर्दा विगतभन्दा अहिले धेरै राम्रो रहेको छ ।’
२०५२ सालमा स्थापना गरिएको माटो तथा मल परीक्षण प्रयोगशालाले विगतमा मध्यपश्चिमाञ्चलका १५ वटा जिल्लामा सेवा प्रदान गरिन्थ्यो । अहिले संघीय संरचनापछि लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका किसानहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

खजुरास्थित माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख आशिष पाठकका अनुसार आर्थिक वर्ष २०८०–८१ मात्र करिब ६ हजार किसानहरूले आफ्नो खेतको माटो परीक्षण गराएका थिए । उनी भन्छन्, ‘किसानहरूले माटोको परीक्षणबाट खेतको माटोको पिएच स्तर, नाइट्रोजन, फस्फोरस, पोटासियमको मात्रा, सूक्ष्म पोषक तत्वको अवस्था र कार्बन पदार्थको अनुपात थाहा पाउँछन् र सोहीअनुसार सिफारिस गरिएको मलको प्रयोग गर्छन् जसले गर्दा किसानहरूको उत्पादनमा समेत वृद्धि हुन्छ ।’

उनले भने ‘माटो परीक्षणपछि रिपोर्टअनुसार किसानहरूले प्राविधिकको सल्लाहलाई अनुसरण गरेका छन् कि छैनन् भनेर पनि अनुगमन गर्ने गरेका छौँ । धेरै किसानहरूले प्राविधिकको सल्लाहअनुसार नै काम गरेको पाइएको छ ।’ यो बेला बाँकेका किसानहरू खेतमा रोपाइँ गर्नमा व्यस्त रहेका छन् । कृषि विज्ञका अनुसार माटोको परीक्षण नगरी रोपाइँ गर्दा मलको मात्रा मिल्दैन जसले गर्दा उत्पादन कति हुन्छ भन्ने समेत ठेगान हुँदैन । बीउ मल र श्रममा लगानी गरे जसरी माटोको अवस्था सुधारका लागि लगानी गरेमा किसानहरूले मनग्य रूपमा आम्दानी गर्न सक्छन् ।

आँकडाले देखायो सुधार

कृषि ज्ञान केन्द्रको ५ बर्से तथ्यांकअनुसार धान उत्पादन वृद्धि हुँदै गइरहेको छ । अन्य आर्थिक वर्ष भन्दा २०७८–०७९ मा भने कम मात्रामा धान उत्पादन भएको देखिन्छ । धानको ब्याड १५ देखि २१ दिनभित्र तयार हुन्छ त्यही समयभित्र किसानले खेतमा रोपाइँ नगरेका कारणले पनि उत्पादन घट्ने मुख्य बाली विकास अधिकृत तथा बाली विज्ञ मुकेश रामजालीको भनाइ छ ।

‘ब्याडलाई २१ दिनभित्र रोपाइँ गरेमा धानको गाँज राम्रो हुन्छ र धान पनि राम्रो फल्छ,’ रामजाली भन्छन्, ‘किसानले हाईब्रिड आधिकारिक र सूचीकृत धानको बीउ हो कि होइन भनेर यकिन गरेर मात्रै रोप्नुपर्छ, यसले गर्दा पनि उत्पादनमा घटबढ हुन्छ ।’ बाली विज्ञ रामजालीका अनुसार स्वस्थ माटोले बलियो बिरुवा उत्पादन गर्न, बालीको उत्पादन बढाउन, खाद्य उत्पादन र खाद्य सुरक्षामा मद्दत गर्छ ।

‘माटोको जीवहरूको मात्रा र माटोको उर्वरता घटाउँछ, माटोको क्षयको परिणामको रूपमा माटोको गुणस्तर पोषक तत्वहरूमा कमजोर हुन्छ र पानी धारण गर्ने क्षमता गुमाउँछ ।’ बाली विज्ञ रामजाली भन्छन्, ‘सबैभन्दा खराब माटोले बिरुवाको बुद्धिलाई समर्थन गर्न सक्दैन् जसका कारणले गर्दा किसानहरूको उत्पादन वृद्धि हुन सक्दैन, किसानहरूले उत्पादन वृद्धिका लागि माटोको स्वास्थ्यलाई पनि ध्यान दिन आवश्यक रहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार