शेरबहादुर ऐर । कैलाली ।
कैलालीसहित सुदूरपश्चिमका ३६ स्थानमा सरकारले सुपथ मूल्य पसल सोमबारदेखि सञ्चालनमा ल्याएको छ । नेपालीहरूको महान पर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै हरेक वर्षझैँ यस वर्षपनि सुपथ मूल्य पसल सञ्चालन ल्याइएको हो । प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आठ र खाद्यमार्फत २८ गरी ३६ वटा सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार कैलालीको तीन, कञ्चनपुरको दुई तथा डोटी, डडेल्धुरा र बैतडीको एक–एक स्थानमा ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन भएको छ । ‘कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी तथा डोटीको दीपायल, डडेल्धुराको जिल्ला सदरमुकाम तुफानडाँडा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख कुँवरले भने ।
सुपथ मूल्य पसलका लागि नुनको मूल्य २४ रूपैयाँँ तोकिएको कुँवरले बताए । ‘नुन एक व्यक्तिले पाँच किलोसम्म लैजान पाउने छन्,’ उनले भने, ‘चिनीको लागि अधिकतम छ किलो कोटा निर्धारण भएको छ । चिनीमा पाँच रूपैयाँँ छुट दिने निर्णय भइसकेको छ । तर, केही दिनको बन्दका कारण चिनी भने केही दिनदेखि मात्रै बिक्री सुरु हुने छ ।’ त्यसैगरी चिउरा, आटा, पिठो, मैदा र दालमा प्रतिकिलो सात रूपैयाँँ तथा तेलमा पनि प्रतिलिटर सात रूपैयाँँ छुटको व्यवस्था रहेको कुँवरले बताए ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य बस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडपर्वको अवधिभर यस्ता पसल सञ्चालन हुँदै आएका छन् । खाद्यको प्रादेशिक कार्यालयले मोटो र मसिनो चामलसँगै चिनी बिक्रीका लागि २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार खाद्यको सुपथ मूल्य पसलमा हरेक सामाग्रीमा पाँच रूपैयाँँ छुटको व्यवस्था रहेको जानकारी दिए ।
खाद्यले कैलालीको धनगढी, डडेल्धुराको खलंगा, बाजुराको मार्तडी, कोल्टी, धुलीचौर, बिच्छ्याँ, पाण्डुसैन, बझाङको जिल्ला सदरमुकाम, दौलिचौर, थलरा, भातेखोला र तलकोट तथा डोटीको जिल्ला सदरमुकाम र मौवामा सुपथ मूल्य पसल सञ्चालन गरिएको प्रादेशिक कार्यालयका प्रमुख थापाले बताए । यस्तै, बैतडीको गाठलापानी, पुर्चाैडी हाट, रौलेश्वर, आम्चौर र दोगडाकेदार, दार्चुलाको जिल्ला सदरमुकाम, सुनसेरा, हिकिला र खण्डेश्वरी, कञ्चनपुरको महेन्द्रनगर, अछामको मंगलसेन, सैनाबजार, साँफेबगर र कमलबजारमा सुपथ मूल्य सञ्चालन गरिएको छ ।
खाद्य तथा व्यापार कम्पनिले सुपथ मुल्य पसलमा पाइने सामाग्रीको मूल्य सुचिसहित बोर्ड राखेको छ भने साल्ट टे«डिङले यस वर्ष सरकारले उपलब्ध गराउने सामानसहित दिनेश कम्पनीद्वारा उत्पादित सामाग्री पनि सुपथ मूल्य पसलमा बिक्री वितरणका लागि राखेको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।
तराईमा सुपथ मूल्यप्रति न्यून आकर्षण
सरकारले हरेक वर्ष सञ्चालन गर्दै आइरहेको सुपथ मूल्य पसलमा तराईभन्दा पहाडी जिल्लामा आकर्षण बढेको छ । तराईका जिल्लामा खुला सिमाना भएका कारण सुपथ मूल्य पसलमा न्यून आकर्षण रहेको प्रमुख तेजबहादुर कुँवरले बताए । उनले भने, ‘चिनी भारतमा सस्तो हुने र खुला सिमानाका कारण तराईका मानिस भारतीय बजार पुगेर किन्ने गरेका कारण सुपथ मूल्य पसलमा आकर्षण देखिँदैन ।’
पहाडी जिल्लामा तराईबाट चिनी निर्यात हुने भएका कारण बजारी मूल्य उच्च भएकाले सुपथ मूल्य पसलमा आकर्षण रहेको उनको भनाइ छ । उनले तराईमा चिनी प्रतिकिलो एक सय २० रूपैयाँँ रहेको बताउँदै भने, ‘हामीले बजारी मूल्यको तुलनामा चिनीमा प्रतिकिलो पाँच रूपैयाँँ सहुलियत दिँदै ९५ रूपैयाँँ कायम गरेका छौँ । यो मूल्य देशभरीकै सुपथ मूल्य पसलमा कायम गरिएको छ ।’
साल्ट टे«डिङले आर्थिक वर्ष २०८१–८२ मा सुपथ मूल्य पसलबाट नुन २५ हजार दुुई सय एक किलो, चिनी २६ हजार पाँच सय ६९ किलो, तेल चार हजार पाँच सय ५० लिटर, चिउरा सात सय ६२ किलो, पिठो ५० किलो, चना दाल २६ किलो, मास दाल ८५ किलो, मुगदाल ७६ किलो, मसुरो दाल ६४ किलो र रहर दाल ८५ किलो बिक्री गरेको उल्लेख छ । कार्यालय प्रमुख कुुँवरले कैलाली र कञ्चनपुरभन्दा डोटी, डडेल्धुरा र बैतडीमा रहेको सुपथ मूल्य पसलमा बढी सामान बिक्री भएको बताए ।
सडक नहुँदा बिक्री केन्द्र पुगेन् सुपथ मूल्यका सामान
खाद्य संस्थानले बाजुराका चार वटा अस्थायी बिक्री केन्द्रमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । अस्थायी बिक्री केन्द्र घट्मुना गौमुल, धुलाचौर, बिच्छ्या हिमाली र पाण्डुसैन बुढीनन्दामा सुपथ पसल सञ्चालन हुने भएका हुन् । सबै ठाउँबाट सँगै अर्थात् सोमबारबाट सञ्चालन गर्ने तयारी भएपनि विविध कारणले बिक्री केन्द्रमा सञ्चालन हुन नसकेको जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले केन्द्रीय निकायले ठेक्का प्रक्रियाबाट ठेकेदार स्वीकृत नगर्दा बिक्री केन्द्रमा सुरु नभएको बताए । उनले ठेकेदार स्वीकृत भएपछि बिक्री केन्द्रमा सहुलियत पसल सञ्चालन गर्न जिल्ला खाद्य व्यवस्था समितिको बैठक बसेर कोटा निर्धारण गरी चामल ढुवानी भएपछि मात्रै सुरु हुने बताए ।
तर अहिले जिल्लाको सर्वाधिक विकट बिच्छ्या अस्थायी बिक्री केन्द्र लागयतका स्थानमा सहजरुपमा चामल ढुवानी गरेर सुपथ पसल सञ्चालन गर्ने अवस्था नरहेको स्थानीयहरू बताउँछन् । हाल जिल्लाको पूर्वीउत्तरी भेग जोडने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनादेखि अवरुद्ध छ । हालसम्म सडकखण्ड खुलाउन कुनै पहल पनि हुन सकेको छैन् ।








प्रतिक्रिया दिनुहोस्