बाजुराबाहेक सुदूरपश्चिका कारागारबाट कैदीबन्दी भागे



कैलाली ।

जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दीलाई निकालेर भगाएका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुुरक्षास्थिति नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरूले कारागारमै पुगेर कैदीबन्दीहरूलाई निकालेर भगाएका थिए । बाजुुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात सय जनासहित ८ वटा कारागारबाट करिब एक हजार चार सय कैदीबन्दी भागेको बताए । कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले १३ पुरुष र ९ जना महिला कैदीबन्दीले आफूहरू कानुनको उल्लङ्घन गरेर नभाग्ने भन्दै बाहिर ननिस्किएको बताए ।

उनीहरू अहिले पनि कारागारमै बसिरहेका छन् । जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् । भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरेर पाँच जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यी बाहेकका प्रायः जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।

कैलाली कारागारबाट भागेका केही कैदी आए सम्पर्कमा

जेनजी आन्दोेलनकारीले कैलाली कारागार कार्यालयमा आगजनी र तोडफोड गरेपछि कारागारबाट भागेका केही कैदीबन्दी कारागार कार्यालयकोे सम्पर्कमा आएका छन् । हुलमुलमा कुटपिट हुन सक्ने डरले मंगलबार भागेका भन्दै केही कैदीबन्दी सम्पर्कमा आएको कारागार प्रशासनले जानकारी दिएको छ । उनीहरूले बिहानदेखि फोन गरेर आफूहरू फर्केर कारागारमा आउन चाहेको जेलर चिरञ्जिवी सापकोटाले बताए ।

‘सबै कैदी खराब आचरणका थिएनन्,’ उनले भने, ‘असल आचरण भएका केही कैदीहरू आफैँ सम्पर्क गरेर फर्कने बताएका छन् ।’ जेनजी आन्दोलनकारीले कारागारमा तोडफोड गरेपछि कारागारमा रहेका ६६७ कैदीबन्दीमध्ये एक जनाबाहेक सबै निस्केर गएका थिए । ठूलो सङ्ख्यामा आन्दोेलनकारी आएर तोडफोड र आगजनी गरेको र कैदीलाई भगाएको कारागार प्रशासनले जनाएको छ ।

कारागारको सीसी टिभी, कम्प्युटर, टिभी, भिडिओ कन्फरेन्समार्फत पेसीमा सहभागी हुने टिभी सबै फुटाएको जनाइएको छ । सुरक्षाको दृष्टिकोणले तत्काल कैदीबन्दी राख्न सकिने अवस्था पनि नरहेको जेलर सापकोटाले बताए । उनले कैदीबन्दी भागेपछि सुरक्षा चुनौती झन् बढेको उल्लेख गरे । गत साउन २३ गते कैलाली कारागारमा दुई पक्षका कैदीबन्दीबीच हिंसात्मक झडप भएको थियो । झडपमा एक कैदीबन्दीको मृत्यु भएको थियो । ४८ जना घाइते भएका थिए ।

कञ्चनपुर कारागारका ९ कैदीबन्दी फर्किए 

कञ्चनपुर कारागारबाट मंगलबार साँझ भागेका ९ कैदीबन्दी बुधबार कारागार फर्किएका छन् । मंगलबार साँझ जेएनजी आन्दोलनका क्रममा कारागारबाट ४ सय ५८ कैदी बन्दी भागेका थिए । कारागारका २१ कैदीबन्दी भने फरार नभएर कारागारभित्रै बसेका थिए । भागेकामध्ये ९ जना कारागार फर्किएका छन् । आन्दोलनका क्रममा सुदूरपश्चिममा बाजुराबाहेक अन्य सबै जिल्लाका कारगारबाट कैदीबन्दी भागेका छन् ।

सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात सय जनासहित ८ वटा कारागारबाट करिब एक हजार चार सय कैदीबन्दी भागेको जानकारी दिएका छन् । जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् । भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरेर पाँच जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यी बाहेकका प्रायः जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।

डडेल्धुरा कारागारका २६ कैदीबन्दी पक्राउ

डडेल्धुरा कारागारबाट भागेका २६ कैदीबन्दी पक्राउ परेका छन् । जिल्ला कारागारबाट भागेका ८५ जना कैदीबन्दीमध्ये अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा २६ जना कैदीबन्दीलाई पक्राउ गरिएको हो । बाँकी ५९ जनाको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार