उत्पादित वस्तुले बजार नपाएको उद्यमीको गुनासो



शिवु खनाल । दाङ ।

पहिलोपटक लमहीमा देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजना एवम् नेपाल युएस अल्मुनाई नेटवर्क (नुसान)को आल्मुनाई स्माल ग्रान्टको प्राविधिक सहयोगमा शनिबार ‘देउखुरी उद्यमी संगम’को बहसमा उद्यमी कथा सेसन कार्यक्रममा सहभागी उद्यमीले आफूले उत्पादन गरेका वस्तु बिक्री गर्ने बजार नपाएको गुनासो गरेका छन् । देउखुरी क्षेत्रका सफल उद्यमीहरूले पूर्वशहरी विकास मन्त्री मेटमणी चौधरी तथा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीका अगाडि आफ्ना उद्योगमा उत्पादन भएका वस्तुले बजार नपाएको दुःखेसो पोखेका हुन् ।

विगत ३ वर्षदेखि राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा बाँसका विभिन्न वस्तु उत्पादन गर्दै आएकी कलावति चौधरीले आफूले उत्पादन गरेका वस्तु बेच्ने बजार नपाएपछि उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताइन् । ‘मैले पढेको छैन । अनपढ भए पनि उद्योग चलाउन थालेँ । मेरो उद्योगमा धेरै बाँसबाट बनेका वस्तुहरू उत्पादन हुन्छ । तर बेच्ने बजार पाइँदैन । जसका कारण उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको छ,’ उनले भनिन्, ‘सरकारले हामीले उत्पादन गरेका वस्तुहरू कहाँ बेच्ने हो बताइदिनुप¥यो । उद्योग चलाउन विभिन्न प्रकारका योजना ल्याउने तर हामीले उत्पादन गरेका वस्तुहरूले बजार नपाउने ? व्यवसायीले उत्पादन गरेका वस्तुहरू गोदाममा थन्किएर व्यवसायी फस्टाँउदैनन् ।’

‘महिलालाई उद्योग सञ्चालन गर्न धेरै समस्या छ, बिहान ४ बजेदेखि साँझ ८ बजेसम्म खट्नुपर्छ । यस्तै हो भने परिवार पाल्न समस्या हुन्छ ।’ चौधरीले भनिन्, ‘एकातिर परिवार चलाउने चिन्ता अर्कोतिर व्यवसाय कसरी चलाउँ भन्ने चिन्ता छ । उद्योगबाट उत्पादन भएका वस्तुहरू बिक्री गर्ने बजार पाइँदैन् । जसका कारण आयस्रोत नि हुँदैन । यस्तै हो भने भोकै बस्ने दिन आउँछ होला ।’ यस्तै, २ वर्षदेखि लमही नगरपालिका वडा नम्बर ४ मा बाँसका सामाग्री उत्पादन गर्दै आएका बाबु रोकाको समस्या पनि उस्तै छ । रोकाको उद्योगमा उत्पादन भएको बाँसका सामाग्री बजारमा बिक्री नहुने गरेको उनको पनि गुनासो छ । उद्योग सञ्चालन गर्ने आवश्यक बाँस र निगालो किन्न धेरै खर्च लाग्ने गरेको रोकाले बताए ।

‘उत्पादन गरेका सामाग्री किन्न मान्दैनन् । व्यवसायीभित्र पनि महिलामाथि विभेद छ । महिलाले केही व्यवसाय गर्दा समाजले हेर्ने दृष्टिकोण नै फरक हुँदोरहेछ । हामीले उत्पादन गरेका सामाग्री बिक्री गर्न ग्राहो हुन्छ,’ लमही– ३ की बालिका वलीले भनिन्, ‘महिलाले उत्पादन गरेको सामान भनेपछि व्यापारी पत्याउँदैनन् । बिक्री भए पनि व्यापारीले केही न केही समस्या देखाएर फिर्ता गर्छन् । जसका कारण अब यो व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको छु ।’

महिलाको आफ्नो पहिचान, शरीरमाथिको अधिकार र श्रमप्रतिको अधिकार स्थापित हुन नसकेसम्म महिला श्रमिकमाथिको विभेद अन्त्य नहुने देउखुरी उद्योग वाणिज्य संघ लमहीका महिला उपाध्यक्ष शारदा सुबेदीले बताइन् । ‘बिहेपछि महिलाको पहिचाननै बदल्ने प्रयास गरिन्छ । व्यवसायमा महिला विभेद हुन्छ । महिलाको आफ्नो शरीरमाथिको अधिकार खोइ ?, आफ्नो श्रममाथि महिलाको अधिकार कहाँ सुरक्षित छ,’ उनले भनिन्, ‘महिला अधिकारको विषय धेरैको ‘मागीखाने भाँडो’ भएकातर्फ चिन्तित भएको अवस्था छ । यस्ता समस्या सधैँका लागि अन्त्य हुने दिशामा आन्दोलित गर्नुपर्छ ।’

नेपालको संविधानले सबै नागरिकलाई रोजगारीको हक, समनाताको हकलगायत अधिकार प्रत्याभूत गरेको छ । सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक हुने व्यवस्था छ । समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै पनि भेद्भाव नगर्ने व्यवस्था संविधानमा लिपिबद्ध भए पनि अझै महिला श्रमिकले समान कामको समान ज्याला र श्रमको उचित मूल्यमा सरकारले भेद्भाव गरिरहेकोे महिला उद्यमीको गुनासो छ ।

कार्यक्रममा सहभागी लमही– १ नर्तीका सफल उद्यमी खगेश्वर खनालले भने, ‘उद्यम प्रवद्र्धनमा राज्यको व्यवस्थाले उद्यमीहरू आर्थिकरूपमा धराशायी बन्दै गएका छन् ।’ उद्यम प्रवद्र्धन र उद्यमीले प्रोत्साहन पाउन नसकेपछि कतिपय उद्योग केही वर्षभित्रै बन्द भएका कार्यक्रमका सहभागिले औँल्याएका थिए । उद्योग र उद्यमीको यो अवस्था फेर्न देउखुरी उद्योग वाणिज्य संघ लमहीले दबाबमूलक अभियान बढाउनुपर्ने सहभागिले सुझाएका छन् ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलले उद्यमीहरूले सामाजिक आर्थिक विकासका साथै रोजगारी सिर्जना, गरिबी निवारण र सीमान्तकृत समुदायको सशक्तीकरणमा योगदान पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै उद्यमशील संस्कृति र सामाजिक सांस्कृतिक मापदण्डको अभावले उद्यमीहरूको प्रगतिमा बाधा पु¥याइरहेको बताए ।

उनले भने, ‘नीति निर्माता र सरोकारवालाले यी चुनौती सम्बोधन गर्न नीतिगत सुधार, क्षमता विकास, वित्तमा पहुँच र पूर्वाधार विकास, बजार विश्लेषण, उत्पादित वस्तु वा सेवाको बजारीकरण, बजारमुखी शिक्षा र व्यावसायिक तालिम, उत्पादित वस्तुका लागि बजार पहुँचको ग्यारेन्टी गर्दै व्यापक रणनीतिलाई प्राथमिकता दिनुपर्छ । सीमित रोजगारीका अवसरसँगै उद्यमीका महत्वपूर्ण ज्ञान र सीप बीचमा खाडल छ ।’
‘राष्ट्रनिर्माणमा युवालाई सक्रिय बनाउन उपयुक्त नीति र नियमावली बन्न सकेको छैन । बनेका नीति अपूर्ण हुनुका साथै त्यसको कार्यान्वयन पक्ष निकै फितलो छ । नेपालमा अहिले उत्पादित वस्तुको बजारीकरणको ग्यारेन्टी गरिएको उद्यमीमैत्री नीतिको आवश्यकता छ ।’ उनले भने ।

लमही नगर प्रमुख जोगराज चौधरीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्तरूपमा अग्रसरता देखाउनुपर्नेमा जोड दिए । उनले उद्यमीको समस्या समाधान गर्दै अगाडी बढ्ने बताउँदै उद्यमीका समस्या समाधान गर्न उद्यमी अनुदानका कार्यक्रमहरू सञ्चालन गरिने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वमन्त्री मन्त्री मेटमणी चौधरीले आफू उद्यमीहरूको विषयमा जानकार रहेको भन्दै सरकारले यस उद्यमीका समस्या समाधान गर्न नसकेको स्वीकार गरे ।

उनले यस क्षेत्रका उद्यमीलाई सरकारले धेरै नै उपेक्षा गरेकाले यस उद्यम तथा व्यवसायमा आबद्ध व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले भने, ‘साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्तरूपमा अघि बढ्नुपर्नेछ ।’ उनले अहिले धेरै युवाले केही उद्योग गरौँ भनेर इच्छा जाहेर गरिरहेको अवस्थामा वाणिज्य संघले त्यस्तो वर्गलाई समेटेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार