शेरबहादुर ऐर । कैलाली ।
मोबाइल तथा साउण्ड बक्सको सहज पहुँच नहुँदा गाउँ समाजमा महिला दिदीबहिनीहरु देउडामार्फत सामूहिक नाचगान गर्थे । तीज नजिकिँदा घर–घरमा तयारी, गीत–संगीत र सामूहिक नाचगानले गाउँबस्ती गुञ्जायमान हुन्थ्यो । पछिल्लो समय शहर तथा दुर्गम क्षेत्रमा यो परम्परा क्रमशः हराउँदै गएको छ । अब तीजको चहलपहल घर आँगनमा नभई होटल–रेस्टुरेन्टका हलमा सरेको देखिन्छ । धनगढीकी बैयाँबेहडीकी ६० वर्षीया पार्वती जोशीले तीजको मौलिकता हराउँदै गएकोमा दुःख व्यक्त गरिन् । भन्छिन्, ‘हाम्रो पालामा सबै दिदी–बहिनी स्कुलको मैदान वा ठुलो चौरमा भेला भई नाचगान गथ्र्यौँ । अहिले भने तीज मनाउन होटलमा कार्यक्रम हुन्छ । पहिलेको जस्तो रौनक हराएको छ, बरु बेथिति मात्र बढेको छ ।’ उनका अनुसार पहिले तीज दिदी–बहिनीबीच भेटघाट, दुःख–सुख साटासाट र आत्मीयता बाँड्ने अवसर हो ।
तर अहिले त्यो संस्कार पनि बदलिँदै गएको उनले बताइन् । ‘पहिला दिदी–बहिनी भेट हुँदा दुःख–सुखका कुरा हुन्थे । अहिले त भेटघाट हुँदा कसले कति गहना लगायो, कसले कति महँगो सारी लगायो भन्ने मात्र हुन्छ । तीजलाई देखासिकी र प्रतिस्पर्धाको पर्व बनाइयो,’ उनी भन्छिन् ।
तीज पर्व सुदूरपश्चिममा तृतीयाका रुपमा मनाइँदै आइएको छ । तीजका समयमा माइतीघरमा जाने क्रममा महिलाहरुले गाउने सगुन, फाग र देउडा हो । तर, पछिल्लो समय सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा यो परम्परा हराउँदै गएको छ । तीजलाई तृतीया भनेर मनाइने भए पनि पछिल्लो समयमा यो पर्वको सांस्कृतिक पक्ष लोप हुँदै गएको सरोकारवालाहरु बताउँछन् । पहाडी जिल्लाहरूमा मनाइने सांस्कृतिक पर्व तीजको मौलिकता लोप हुने खतरा बढ्दै गएको उनीहरुको भनाइ छ ।
तीजका बेला गाइने सगुन, फाग र देउडा गीतहरू क्रमशः लोप हुँदै गएको सुर्नया–६ शंकरपुरका हरिना अवस्थीले बताइन् । तीजका दिन सबै महिला एक ठाउँमा जम्मा भएर सगुन, फागसहित शिवपार्वतीको पूजा गर्ने चलन रहे पनि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ । तीजको दर खाने नाममा एक महिना पहिलादेखि नै भड्किला कार्यक्रमहरू हुन थालेका छन् । महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले तीजमा डिजेका गीतमा नाच्न थालेपछि मौलिक संस्कृति ओझेलमा पर्दै गएको बताउँदै तीजको सांस्कृतिक पक्ष लोप हुँदै गएको प्रष्ट पारे । तीजका बेला गाइने देउडा गीतहरू पनि लोप हुन थालेका छन् । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चामा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
भारतीय व्यापार फस्टाउँदै
धनगढी एलएनचोकस्थित न्यु पाण्डेय ब्रदर्सका सञ्चालक ओम पाण्डेले बजारमा कपडा व्यापार सुस्ताएको बताए । तीजको समयमा उच्च व्यापार हुने उनको व्यापार घाटामा छ । तीजका बेला पहिले दैनिक १ सय ५० सम्म ग्राहक आउनेमा अहिले २५–३० मात्र आउँछन् । त्यसमध्ये पनि हेर्ने बढी किन्ने कम । मासिक ८५ हजार सटर भाडा उठाउनै मुस्किल परेको उनले बताए । धनगढी बजारको व्यापार सुस्ताउनुको कारण खुला सीमा नाका हो । धनगढीमा भारतीय सामान सजिलै प्रवेश हुन्छ । व्यापारीहरूका अनुसार भारतीय सामान सस्तो हुने तर गुणस्तरमा कमी हुने गर्छ । तर ग्राहकले सस्तो सामानलाई प्राथमिकता दिने हुँदा स्थानीय व्यापार प्रभावित भएको छ ।
सँगै भारतबाट सामान बोकेर आएका व्यापारी टोलटोलमै लगेर बेच्ने गरेको गुनासो एक व्यापारीले गरे । ‘हामीले भन्सार तिर्नुपर्छ, उनीहरूले सहजै टोलटोलमै सामान पु¥याउँछन् । त्यसको असर हामीलाई पर्छ,’ उनले सुनाए । धनगढीमा भारतीय बजार बनगौँवा र गौरीफन्टा र सुणा बजारको प्रत्यक्ष असर पर्ने गरेको छ । सस्तोमा पाइने कारण कैलाली, कञ्चनपुरका अधिकांश मानिस भारतीय बजार जाने गर्छन् । सीमाबाट १ सयभन्दा बढीको सामान ल्याए भन्सार लाग्ने भए पनि घर खर्चको लागि ल्याइने सामानको भन्सार शुल्क लिइँदैन ।
यसकारण राजश्व संकलन र स्थानीय बजार असर परेको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवर बताउँछन् । यसलाई रोक्न सीमा नाकामा कडाइ गर्नुपर्ने उनले बताए । ‘एउटै मान्छेले घरखर्चका लागि भन्दै दिनमा दसौँपटक सामान ओसार्छ । उसलाई भन्सार लाग्दैन । व्यापारीका लागि कडा छ । यसले गर्दा मार्केटलाई असर परेको छ,’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्