नन्दराम जैशी। सुर्खेत ।
हा आमाले पठाएको सिरफाटको सारी
नाच्छु फ र र मधु भुँइमै ल र र
हा सिरफुल हरायो नी आमाको चिनो
अँधेरीमा मधु पँधेरीमा …
एक महिनाअघि गायिका हरिमाया कार्कीको यो ‘मधु’ तीज गीत उनकै युट्युब च्यानलमार्फत सार्वजनिक भयो । निकै मिठो स्वरमा रहेको यो गीतका शब्द र म्युजिक भिडिओ पनि उत्तिकै मौलिक थिए । गीत सार्वजनिक भएपछि सुन्ने र भिडिओ हेर्नेजत्तिले तीजको वास्तविक मौलिकता झल्किएको भन्दै गायिका कार्कीको निकै प्रशंसा गरे । तर यो गीत युट्युबमा एक लाख १७ हजार पटक मात्रै हेरिएको छ । यस वर्ष हरिमायाले ‘मधु’ र ‘छोरीको मर्म’ दुई वटा मौलिक तीज गीत ल्याएकी छन् । पछिल्लो समय गायिका हरिमायाको जस्तै वास्तविक मौलिकता झल्किने तीज गीतभन्दा छाडा र कला, संस्कृति बिगार्ने गीत बढी चल्न थालेका छन् ।
पछिल्लो पुस्ताले तीजको मौलिकता बिर्सिँदै गएको उल्लेख गर्दै भ्युज र पैसाका लागि गीत बनाउनेहरुले तीजको मौलिकता नै धमिल्याएको उनको भनाइ छ । भ्युज र पैसाका पछिलाग्ने कलाकार र महिनादिन अघिदेखि दर खाने चलनले तीजको मौलिकता हराउँदै गएको उनले बताइन् । लोक तथा दोहोरी गीत गायन तथा संरक्षण र प्रर्वद्धनमा दुई दशक समय बिताइसकेकी गायिका कार्की राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्षसमेत हुन् भने हाल उनी वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा काम गर्छिन् । पहिलेको तुलनामा हाल तीजको मौलिकता र महत्व दुवै हराउँदै गएको उनको अनुभूति छ ।
‘वर्षमा एकपटक तीजको अघिल्लो दिनमा मात्रै दर खाने चलन थियो । वर्षभरी पोइली घरमा भएका पीरमर्का तीजको अवसरमा माइती घरमा गएर दिदी बहिनीलाई सुनाउने चलन भियो,’ उनले भनिन्, ‘अहिले एक महिना अघिदेखि दर खाने चलन छ । पहिले मादल बजाएर मौलिक भाकामा गीत गाउँदै नाचगान गर्ने चलन थियो । अहिले बुफरमा म्युजिक बजाएर नाच्ने चलन छ । यसले मौलिक तीज संस्कृतिको गलत प्रचार भएको छ ।’ मौलिक कला संस्कृति पछिल्लो पुस्ताले बिर्सिँदै जानुमा कलाकार, समाज र नयाँ प्रविधि कारण बनेको कार्कीले बताइन् । उनले थपिन्, ‘अहिले कसरी भ्युज कमाउने, आफू चिनिने र पैसा कमाउने भन्ने छाडा प्रवृत्ति छ । यथार्थ मौलिक संस्कृतिमा आधारित गीतभन्दा छाडा गीत बढी बनाउने र सुन्ने चलन छ । यो गलत हो ।’
सिंगापुरे लाहुरे केटी माग्न आकाछन्
जाम कि नजाम पार्वता भन तिमीले
बाबाले नि जा भन्छन् आमाले नि जा भन्छिन्
जाम कि नजाम पार्वता भन तिमीले
गत वर्ष सार्वजनिक भएको हरिमायाको यो तीज गीत ‘पार्वता’ले पनि शब्द र भिडिओमा निकै मौलिकता झल्काएको थियो । पछिल्लो पुस्तालाई म गायिका हो भनेर चिनाउन र यथार्थ मौलिक तीज गीत कस्ता हुन्छन् भनेर सिकाउनको लागि पनि आफूले मौलिक गीत ल्याएको उनी बताउँछिन् । ‘कला संस्कृतिमा आएको विकृतिबारे प्रष्ट पार्नुछ । २०६० सालमा बिहेपछि लामो समय गाउन छोडेकी थिएँ,’ उनले थपिन्, ‘त्यो बेला मलाई गायिका भनेर सबैले चिन्थे हाल उनीहरु कोही बितिसके । कोही विदेसिय त कोही बसाइँ सरे ।
पछिल्लो पुस्ताले गायिका भनेर चिन्न छोडेको महसुस भयो । धेरैजसो पल्छिलो पुस्ता मैले गाउनेबेला जन्मिएकै थिएनन् । जन्मिएका पनि साना साना थिए होला ।’ बाल्यकाल अर्थात् स्कुले जीवनदेखि लोक संस्कृतिमा लागेकी हरिमाया विद्यालयस्तरमा हुने कार्यक्रममा गीत गाउनुका साथै नृत्य विधामा भाग लिने गर्थिन् । पछि २०५८–०५९ सालतिर दोहोरीसँगै बागीना समूहमा जोडिइन् । विस्तारै नगर, जिल्ला हुँदै विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन थालिन् । राष्ट्रियस्तरका १५–१६ वटा दोहोरी प्रतियोगितामा भाग लिएकी उनी जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्दै पोखरामा भएको प्रतियोगितामा उत्कृष्ट गायिका समेत बनेकी थिइन् ।
२०६० सालमा राष्ट्रिय दोहोरी प्रतियोगितामा नेपाल प्रथम भएकी उनी त्यसपछि भने वैवाहिक बन्धनमा बाँधिएपछि कलाकारितालाई माया गरेपनि व्यावसायिक बनाउन सकिनन् । ‘बिहेपछि गाउन र नाच्न बन्द भयो । तर कलाकारिताको संगठन विस्तार र कलाकारलाई प्रोत्साहन दिने काममा लाग्न छोडिन् । उनले भनिन्, ‘२०५९ मा सुर्खेतमा दोहोरी गीत प्रतिष्ठान गठन भयो । त्यो बेलाको संस्थापक सदस्य हुँदै कोषाध्यक्ष र भेरी अञ्चल कोषाध्यक्ष बनेर काम गरेँ । पछि प्रदेश सचिव हुँदै हाल प्रदेश अध्यक्षको रुपमा संगठनलाई चलायमान बनाएकी छु । आवश्यक पर्दा जतिबेला पनि कलाकारको हकहितबारे बोल्ने काम जारी नै छ ।’
लाइभ दोहोरी, देउडा, लोक आधुनिक, सहकारी गान जस्ता उनले दर्जनौँ गीत गाएकी छन् । २०५७ सालमा नेपाल स्काउटले गरेको राष्ट्रिय नृत्य प्रतियोगितामा नेपाल प्रथम र सुर्खेत जिल्लास्तरीय लोक तथा दोहोरीगीत प्रतियोगिताहरुमा धेरै पटक प्रथम र द्वितीय हुनु उनको सफता हो ।
गायिका कार्की गीतका शब्द रचना गर्नेदेखि आफैँ गाउनेसम्म गर्छिन् । उनका गीतमा नेपाली हिन्दु महिलाहरुको जीवन भोगाइ र अनुभूतिको प्रतिविम्ब झल्किन्छ । ‘तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्छृङ्खल गीतको नियन्त्रण गर्नुपर्छ,’ उनले भनिन्, ‘चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ ।’
आफ्ना सांगीतिक कोसेलीहरुमा कर्णालीको मौलिक संस्कृतिलाई समेट्दै आएकी गायिका कार्की तीज गीतलाई समयानुकूल परिवेशमा परिस्कृत गर्नुपर्ने बताउँछिन् । तीज गीत समाज परिवर्तन, नारी सिर्जनशीलता र सकारात्मक सन्देश दिने खालका हुनुपर्ने उनको भनाइ छ ।
‘सधैँ जेठानी देउरानीको भगडा, सासुबाट थिचोमिचोमा परेको बिलौना मात्र होइन पारिवारिक मेलमिलाप र सहकार्यको सन्देश गीतले दिनुपर्छ,’ उनले भनिन्, ‘महिनादिन अघिदेखि तीज भन्दै भोजभतेर लगाउने बेथिति हटाउनुपर्छ । तारे होटलमा तीज मनाउने हाम्रो परम्परा होइन । माइतीमा बसेर दुःखसुखका गीतमा लय हाल्दै नाच्ने, गाउने र दरखाने तथा व्रत बस्ने हाम्रो मौलिक परम्परा हो । यो भुल्नु हुँदैन ।’
तडकभडक शैलीले विकृति बढ्दै
हिन्दु परम्पराअनुसार पार्वतीले भगवान शिवलाई पाउन गरेको कठोर तपस्याको स्मरणमा तीज मनाउने गरिन्छ । यस पर्वले धार्मिक आस्था मात्र होइन, सामाजिक–सांस्कृतिक महत्व पनि बोकेको छ । तर समयसँगै कर्णाली प्रदेशमा तीज मनाउने तरीका फेरिएका छन् । गायिका कार्कीका अनुसार कर्णालीमा पहिले तीजलाई धार्मिक आस्था र भक्तिपूर्ण पूजा–आराधनासँग जोडेर मनाइन्थ्यो । उनले भनिन्, ‘महिलाहरू बिहानै नुहाइधुइ, परम्परागत गुन्यु, चोली वा सफा कपडा लगाएर शिव–पार्वतीको पूजा गर्थे । व्रत बस्ने प्रथा कडाइका साथ पालना गरिन्थ्यो । दिनभरि निराहार रही बेलुकी मात्र फलफूल वा प्रसाद ग्रहण गर्ने चलन थियो । गाउँघरमा महिलाहरू एकत्रित भई धामी–झाँक्री वा पुरोहितमार्फत पूजा गर्ने गर्थे । मनोरञ्जनका लागि लोकगीत, भजन वा देउडा मात्र सीमित थिए । तीजलाई पारिवारिक धार्मिक संस्कारको रूपमा मात्र मनाइन्थ्यो । समय र परिवेशको परिवर्तनसँगै कर्णालीमा तीज मनाउने तरिकामा व्यापक परिवर्तन आएको छ ।’
पहिले तीजका गीतले महिलाले सासु÷ससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे तर । अब त्यो समय छैन । तीजको ऐतिहासिक मौलिकपन दिनप्रतिदिन खस्किँदै जान थालेको छ भने पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै गएको छ । अहिले तीजलाई धार्मिक पर्व मात्र नभई सामाजिक र सांस्कृतिक उत्सवका रूपमा लिइन्छ । महिलाहरू रातो सारी, गहना र अन्य सौन्दर्यसहित सजिन्छन् । व्रत बस्ने परम्परा अझै कायम भए पनि धेरै महिलाहरूले यसलाई प्रतीकात्मक मात्र बनाएका छन् । गाउँदेखि शहरसम्म तीजमा सामूहिक देउडा नाच, गीत–संगीत, स्टेज कार्यक्रम र सांस्कृतिक मेलामेच्या आयोजना गरिन्छ । यसले महिलाबीच भेटघाट, आत्मीयता र एकता बढाउने अवसर पनि सिर्जना गरेको छ ।
कर्णालीमा पहिलेको तीज धार्मिक आस्था, भक्तिपूर्ण पूजा र कठोर व्रतसँग मात्र सीमित थियो । अहिलेको तीज सामाजिक, सांस्कृतिक, मनोरञ्जनात्मक र महिला सशक्तीकरणसँग जोडिएको छ । परिवर्तनसँगै केही परम्परागत मूल्यहरू कमजोर भएपनि यस पर्वले महिलाबीच आत्मीयता, संस्कृतिको संरक्षण र आधुनिक समाजमा महिलाको भूमिकाबारे चेतना जगाउने काम गरेको महिला अधिकारकर्मीहरु बताउँछन् ।
आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्